काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–भारतबीच भौगोलिक सीमालाई चुस्त र स्पष्ट राख्नुपर्ने बताएकी छन् ।
उनले शनिबार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र डा. अच्युत गौतमद्वारा संयुक्त रुपमा लिखित एक पुस्तक बिमोचन कार्यक्रममा बोल्दै यस्तो धारणा राखेकी हुन् ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालले आफ्नो नक्सामा समावेश गरेर संविधानको अंग बनाएसँगै मुलुकको सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रियताप्रति ऐतिहासिक रुपमै नयाँ चेतनाको सञ्चार भएको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले त्यसलाई कार्यान्वयनमा लैजान दुई मुलुकका राजनीतिक तथा कूटनीतिक नेतृत्वले विशेष ध्यान दिनुपर्ने सुझाव दिइन् ।
‘दुई देशबीचको सीमाको सबैले सम्मान गर्नु पर्दछ । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग हुन् । हाम्रो देशको नक्सामा संसदले कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समाविष्ट गरेर त्यसलाई संविधानको अंग बनाएपछि मुलुकको सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रियताका सन्दर्भमा ऐतिहासिक रुपमै नयाँ चेतनाको सञ्चार भएको छ । भौगोलिक अखण्डता र देश प्रेमप्रतिको अटल विश्वास प्रदर्शित भइरहेको छ । नेपाली भूभागको यस विषयलाई व्यवहारिक निष्कर्षमा लैजान काली नदीको मुहानका बारेमा इतिहासका प्रसंगलाई हामीले फेरि एक पटक महत्वका साथ स्मरण गर्नुपर्छ,’ भण्डारीले भनिन् ।
प्रतिक्रिया लेख्नुहोस्:-