अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बोलाइएको सर्वदलीय बैठकमा नेपाली काँग्रेसले आफ्ना धारणा तीन बुदाँमा राखेको जनाएको छ । बैठक पछि विज्ञप्ति जारी गर्दै काँग्रेसले सर्वदलली बैठकमा आफुहरुले राखेको धारणा सार्वजनीक गरेको हो ।
काँग्रेसद्वारा जारी विज्ञप्ति
सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले बोलाउनु भएको सर्वदलीय बैठकमा आज नेपाली कांग्रेसका तर्फबाट सभापति श्री शेरबहादुर देउवा, नेता श्री रामचन्द्र पौडेल, उपसभापति श्री विमलेन्द्र निधि र पूर्व महामन्त्री श्री कृष्णप्रसाद सिटौला सहभागी हुनु भयो ।
बैठकमा नेपाली कांग्रेसको प्रष्ट धारणा प्रस्तुत गरिएको छ ।
महाकाली नदि पूर्वको भूभाग नेपालको हो
१, सुगौली सन्धिमा उल्लेख भएको ऐतिहासिक तथ्य बमोजिम लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूभाग हुन् । ती भूभागमा नेपालको हक निर्वाध ढंगले स्थापित हुनुपर्दछ, नेपाली कांग्रेसले विगत देखिनै प्रष्ट राख्दै आएको यो धारणा आज हामी पुनः दोहोर्याउन चाहन्छौं ।
कुटनैतिक पहलबाट समाधानमा पुगौं
२, उच्च स्तरीय कुटनैतिक पहल मार्फत यो बिषयको हल गरिनुपर्छ भन्ने हाम्रो आग्रह छ । हामी यो बिषयमा सरकारको साथमा छौं ।
संविधान संशोधन बारे केन्द्रीय समितिबाट निर्णय गर्छौं
३, संविधान संशोधन जस्तो बिषयमा राष्ट्रिय सहमतिको स्थिति बनाएर जांदा त्यसले राष्ट्रिय एकतालाई अझ मजबुत बनाउन सकिने हाम्रो धारणा छ । नक्साको प्रस्तावलाई हामीले सकारात्मक रूपमा लिएका छौं । यस बारेमा पार्टी केन्द्रीय समितिको बैठकबाट नेपाली कांग्रेसको संस्थागत निर्णय गर्नेछौं ।
जय नेपाल !
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
फोटो : प्रधानमन्त्रीको सचिवालय







प्रतिक्रिया लेख्नुहोस्:-