काठमाडौँ, २२ जेठ / विश्व वातावरण दिवसको अवसर पारेर खानेपानी तथा सरसफाइ मन्त्रालयको नेतृत्वमा राष्ट्रिय सरसफाइ सप्ताह शुरु भएको छ ।
सप्ताहको शुरुवात् काठमाडौँमै भए पनि हालसम्म खुला दिसामुक्त घोषणा नभएको शंखरापुर नगरपालिकामा गरियो ।
सप्ताहको शुरुवात् गर्दै मन्त्रालयका सचिव कृष्णराज बिसीले १३ प्रतिशत जनतालाई स्वच्छ खानेपानीको सेवा पु¥याउन बाँकी रहेको बताउनुभयो ।
आगामी आवमा सबै नेपालीलाई स्वच्छ खानेपानीको सेवा दिने गरी कार्यक्रम बनाइएको बताउँदै उहाँले खानेपानी र सरसफाइमा महिलाको सक्रियता बढी हुने भएकाले सेवा पु¥याउँदा महिलाका लागि सहज हुने वातावरण निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टले ७७ जिल्लामध्ये ५३ जिल्ला खुला दिसामुक्त घोषणा भइसकेको जानकारी दिनुभयो ।
शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले कर्मचारीको नेतृत्वमा स्थानीय तह सञ्चालन हुँदा सबै घरमा शौचालय बन्न नसकेको उल्लेख गर्दै नगरपालिकाभित्र ३५० घरमा शौचालय बन्ने क्रममा रहेको बताउनुभयो ।
नगर उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठले भूकम्पले भत्किएका घर बनी नसकेकाले शौचालय बनाउने काम प्राथमिकतामा नपरेको बताउँदै अबको तीन महिनामा नगरपालिकाका सबै घरमा शौचालय बनिसक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र अर्यालले संविधानको मौलिक हकका रुपमा खानेपानी तथा सरसफाइको हक राखिएकाले कार्यान्वयनका लागि सरकारी निकाय चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकासमेत अहिलेसम्म खुला दिसामुक्त घोषणा हुन नसकेको जानकारी गराइयो ।
राजधानीमा काठमाडौँ महानगर र शंखरापुर नगरपालिकामात्र खुला दिसामुक्त क्षेत्र घोषणा हुन बाँकी छ ।
सरसफाइ सप्ताहका क्रममा ललितपुर, रामेछाप, संखुवासभा र मुगु गरी चार जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा हुने मन्त्रालयले जनाएको छ । रासस
प्रतिक्रिया लेख्नुहोस्:-