अमेरिका, जुन १३,२०१८
सन् २०२६ को फिफा विश्वकप संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने भएका छन्। फिफाको साधारण सदस्यहरुको मतदानबाट हिजो रसियामा २०२६ को लागि आयोजकको छनौट भएको हो। फिफा विश्वकप २०२६ आयोजनाका लागि संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त आयोजना प्रस्ताव राखेका थिए भने मोरक्कोले एकल आयोजनाको प्रस्ताव राखेको थियो। मतदानमा भाग लिएका १९९ राष्ट्रहरु मध्येबाट १३४ मत अमेरिका सहितका संयुक्त आयोजकहरुको पक्षमा गएको थियो भने मोरक्कोको पक्षमा ६५ मत परेको थियो। अमेरिका र मेक्सिकोले यस अघि पनि विश्वकप आयोजना गरिसकेका छन् भने क्यानडाले भने पहिलो पटक फिफा विश्वकप आयोजनाको मौका पाएको छ।
संयुक्त रुपमा फिफा विश्वकप २०२६ आयोजनाको जिम्मा पाएको अमेरिकी सकर (फुटबल) का अध्यक्ष कार्लोस कोर्डेरोले निर्णयको स्वागत गर्दै ‘फुटबलको विजय भएको र फुटबलमा हामी सबै एक छौँ’ भनेका छन्। फिफाका अनुसार २०२६ को विश्वकप प्रतियोगितामा ४८ देशहरू सहभागी हुनेछन्।
सो विश्वकपको फाइनल खेल भने न्यूयोर्कसंगैको राज्य न्यूजर्सीको ८३ हजार दर्शक सिट क्षमताको मेटलाईफ स्टेडियममा हुने भनिएको छ। विश्वकप २०२६ का खेल हुने शहरहरुमा ठूला र राम्रा स्टेडियम भएका न्यूयोर्क, क्यालिफोर्निया, ह्युस्टन, डालास, अर्ल्याण्डो, बोस्टन, डेनभर, बाल्टिमोर, फिलाडेल्फिया, सियाटल, वासिंगटन डिसी लगाएतका ठूला अमेरिकी शहरहरुकै बर्चश्व रहने निश्चित छ। जम्मा ८० खेल हुने सो विश्वकपका ६० खेल अमेरिकी स्टेडियमहरुमा हुनेछन् भने १०/१० खेल क्यानडा र मेक्सिकोमा हुने छन्।










प्रतिक्रिया लेख्नुहोस्:-