-सुजन पण्डित/ह्युस्टन
संभवत संसार भर नै सबभन्दा बढी रुचाइने खेल ‘फुटबल’को २१ सौं संस्करणको विश्वकप प्रतियोगिता भोलीबाट रसियामा शुरु हुन लागेको छ। कुल ३२ राष्ट्र सहभागी हुने विश्वकप फुटबल खेलको विश्व मेलाले यतिबेला सबैको ध्यान रसियातिर खिचेको छ। अमेरिकी समय (इस्टर्न टाइम) अनुसार जुन १४ को बिहान १० बजे अर्थात रसियाको स्थानीय समय अनुसार जुन १४ को बेलुकी ४ बजे आयोजक रसिया र साउदी अरेबियाबीच उद्घाटन खेलबाट विश्व फुटबलको महामेलाको शुभारम्भ हुनेछ। वर्तमान च्याम्पियन जर्मनी सहित पाँचपटकको विजेता ब्राजिल र संधैजसो विश्वकपको दाबेदार मानिने जादुगरी फुटबलर लियोनल मेस्सीको देश अर्जेन्टिना सहित ३२ देश यो पटकको विश्वकपमा प्रतिस्पर्धा गर्दैछन्। यो विश्वकपको दुखद पक्ष भनेको चारपटकको विजेजा इटाली, कुनै बेलाको यूरोपियन फुटबलको महारथी नेदरल्याण्ड र ग्रिस जस्ता देशहरु छनौट चरणबाटै बाहिरिनु रहेको छ। उत्तर अमेरिका समूहबाट सन् २०२६ को सहआयोजक संयुक्त राज्य अमेरिका पनि यो विश्वकपको अन्तिम ३२ मा पुग्न सकेन। यसैगरी दक्षिण अमेरिकी समूहबाट चिले (चिली) को पनि सहभागिता हुन सकेको छैन। यसो त छनौट चरणमा झण्डै-झण्डै बाहिरिने अवस्थाबाट बचेको अर्जेन्टिना समेत मेस्सी कै भरमा यो पटकको विश्वकपमा सहभागी हुन पाएको हो भन्दा फरक पर्दैन।
सन् १९३० बाट शुरु भएको विश्ककप फुटबल दोश्रो विश्वयुद्धका कारण १९३८ पछिको दुईवटा संस्करणहरु हुन नसकेको बाहेक प्रत्येक चार-चार बर्षमा आयोजना हुँदै आएको छ। विश्व फुटबलमा जहिल्यै दबदबा कायम राख्न सफल युरोप र दक्षिण अमेरिकी बाहेक अन्य मुलुकहरुले अहिले सम्म विश्वकप जित्न सकेका छैनन्। हाल सम्म युरोपका जर्मनी, इटाली, इंगल्याण्ड, फ्रान्स र स्पेन गरि पाँच यूरोपियन राष्ट्रहरुले ११ पटक विश्वकप जितिसकेका छन् भने ब्राजिल, अर्जेन्टिना र उरूग्वे सहित तीन दक्षिण अमेरिकी देशहरुले ९ पटक विश्वकप जितेका छन्।
हालसम्म विश्वकप जितेका देशहरु
- उरूग्वे- २ पटक-१९३० र १९५०
- इटाली- ४ पटक-१९३४, १९३८, १९८२ र २००६
- जर्मनी-४ पटक- १९५४, १९७४, १९९० र २०१४
- ब्राजिल-५ पटक- १९५८, ‘६२, ‘७०, ‘९४ र २००२
- इंगल्याण्ड- १ पटक- १९६६
- अर्जेन्टिना- २ पटक- १९७८ र १९८६
- फ्रान्स- १ पटक-१९९८
- स्पेन- १ पटक- २०१०
यो पटकको विश्वकपमा पनि २०१४ कै चर्चित खेलाडिहरुको चर्चा बढी देखिन्छ। बार्सिलोनाका स्ट्राइकर मेस्सी, रियल मेड्रिडका क्रिष्टियानो रोनाल्डो यूरोपियन क्लब फुटबलका सदाबहार नायकका रुपमा चिनिन्छन्। अहिले उनीहरु आ-आफ्नो देश क्रमश अर्जेन्टिना र पोर्चुगललाई प्रतिनिधित्व गरेर रसियामा खेल्दैछन्। समूह चरणमा मेस्सीको अर्जेन्टिना भन्दा रोनाल्डोको पोर्चुगल अलि कठिन समुहमा रहेको छ। उता ब्राजिलका चर्चित स्ट्राइकर नेयमार र उरुग्वेका लुइस स्वारेज पनि यो फुटबल उत्सवका हेरिने खेलाडि भित्रै पर्दछन्। ‘सोनाल्डो’ उपनामले चिनिने दक्षिण कोरियाली फुटबलर सन-ह्युंग मिन पनि यो पाली फुटबल पारखीहरुको नजरमा छन्। विश्वकप फुटबलमा १० गोल गरिसकेका जर्मनीका थोमस मुलर पनि निकै घगडान् खेलाडिमा गनिन्छन्। गत २०१४ को विश्वकपमा ५ गोल गरेका मुलर जर्मनीका गोलमेकरका रुपमा चर्चित छन्। नाइजेरियाका एलेक्स ओवी, इजिप्टका मोहम्मद सालह, स्पेनका आन्द्रेस इनेस्टा,र बेल्जियमका केभिन ब्रुने पनि यो विश्वकपमा नजर लगाइने खेलाडिहरुमा परेका छन्।
वर्ल्डकप अगाडि भएको फिफा य्रालीमा सहभागी रसियन राष्ट्रपति भ्लादिमिर पुटिनले रसियाको हालैका फुटबल प्रदर्शन उत्कृष्ट नभएपनि यो विश्वकपमा रसियाले अन्त्यसम्म नै राम्रो नतिजाकालागि संघर्ष गर्ने भनेर आफ्नो टिमको हौसला बढाएका छन्। आयोजकका हैसियतले स्वत: छनौट भएको रसिया ३२ सहभागी राष्ट्रहरु मध्ये तल्लो बरियतामा रहेको छ।
रसियाको राजधानी शहर मस्को स्थित ८० हजार सिट क्षमताको लुजनिकी स्टेडियममा यो पटकको उद्घाटन र फाइनल खेल खेलाइने छ। लुजनिकी सहित १२ भव्य रंगशालाहरुमा यो पटकको फिफा विश्वकप हुँदैछ। जुन १४ मा शुरु भएर जुलाई १५ मा फाइनल हुन्जेल संसार भरिका फुटबलप्रेमीहरुलाई रसियाका स्टेडियमहरु र टेलिभिजन सेट अगाडि झुम्याइरहने निश्चित छ।
तस्वीर: Getty Image, FIFA











प्रतिक्रिया लेख्नुहोस्:-