फिफा विश्वकप २०१८ अन्तरगत भएको उद्घाटन खेलमा आयोजक रसियाले साउदी अरेबियालाई पाँच-शून्य गोलको फराकिलो अन्तरले हराएको छ। खेलपूर्व कमजोर भनिएको रसियन खेलाडीहरु खेल मैदानमा निकै दमदार रुपमा प्रस्तुत भएका थिए। खेलको शुरुवात मै बार्हौं मिनेटमा जर्सी नम्बर ८ का रसियन खेलाडी यूरी गाजिन्स्कीले हेड मार्फत गरेको सुन्दर गोलबाट अग्रता लिएको रसियाले खेलको पहिलो हाफको ४३ औं मिनेटमा जर्सी नम्बर ६ का डेनिस चेरीसेभको गोलसंगै पहिलो हाफ २-० मा सकाएको रसियाले दोश्रो हाफमा पनि साउदी अरेबियालाई खेलमा पकड राख्न दिएन। दोश्रो हाफको ७१ औं मिनेटमा ड्यूबाले गोल गरे भने निर्धारित समय सकिए पछि थपिएको चार मिनेटको इन्ज्यूरी समय भित्र दुई सुन्दर गोल थपेर उद्घाटन खेलमा ५-० को फराकिलो अन्तरमा रसियाले साउदी अरेबियालाई हराएको छ।
चेरीसेभले ९१ औं मिनेटमा अर्को गोल गरेर उद्घाटन खेल मै आफ्नो नाममा दुई गोल दर्ता गराउन सफल भएका छन्। खेल सकिन केही सेकेण्ड बाँकी छँदा डिबक्स नजिकैबाट फ्रि-किकको मौका पाएको रसियाले त्यो मौकालाई पनि गोलमा बदलिदियो। जर्सी नम्बर ११ का गोलभोमिनले अत्यन्त सुन्दर गोल गरे र साउदी बिरुद्धको खेललाई ५-० मा अन्त्य गरिदिएका थिए।
पुरै खेल अवधीभर स्टेडियम मै बसेर खेल हेरेका रसियन राष्ट्रपति भ्लादिमिक पुटिन निकै खुसी देखिन्थे। यस अघि एक भब्य समारोहकाबीच भएको उद्घाटन पश्चात यो विश्वकपको पहिलो खेल सुरु भएको थियो।
तस्वीर:फिफा/ सामाजिक संजाल








प्रतिक्रिया लेख्नुहोस्:-