विश्वकप २०१८ को समुह चरणको खेलमा निकै रोचक हुने मानिएको स्पेन र पोर्चुगलबीचको खेल साँच्चै नै फुटबल पारखीहरुका लागि रोमान्चकारी लागेको हुनु पर्छ। खेलको चौथो मिनेट मै पोर्चुगले पाएको पेनाल्टीलाई स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले गोलमा बदलिदिए र पोर्चुगलले खेलमा १-० को अग्रता लियो। तर यो अग्रतालाई स्पेनले धेरैबेर कायम राख्न सकेन। २४ औं मिनेटमा स्पेनका जर्सी नम्बर १९ का डिएगो कोष्टाले गोल गरेर खेल बराबरीमा ल्याए। त्यसको २० मिनेट पछि नै रोमाल्डोले स्पेनी पोष्टमा प्रहार गरेको प्रहार गोलकिपरले बचाउने प्रयास गरेपनि संभव भएन। रोनाल्डोले यो वर्ल्डकपको पहिलो खेल मै दुई गोल गरे र पोर्चुगललाई अग्रता दिलाए। तर मध्यान्तर पछि लगत्तै स्पेनका कोष्टाले पनि दोश्रो गोल गरे र खेल बराबरीमा ल्याए।
खेलको रोमान्चकता कति बढ्यो भने कोष्टाले गोल गरेको तीन मिनेट पछि अर्थात ५८ औं मिनेटमा नाचोले एक गोल थपे र स्पेनलाई जित तर्फ उन्मुख गराउन सफल भए। तर स्पेनको दुर्भाग्य उसले रोनाल्डोलाई रोक्न सकेन र ८८ औं मिनेटमा उनले फ्रि-किकबाट सुन्दर गोल गरेर यो विश्वकपको पहिलो ह्याट्रिकको रेकर्ड बनाउँदै पोर्चुगललाई हारबाट बचाए। अचम्मको संयोग, रोनाल्डोले आफ्नो क्यारिएरको ५१ औं ह्याट्रिक बनाउँदा विश्वकप इतिहासमा पनि ५१ औं ह्याट्रिकको रेकर्ड बनेको छ।
अत्यन्तै सनसनीपूर्ण खेलमा स्पेन र पोर्चुगल दुबैले ३-३ गोल गरेर बराबरी खेलेका छन्। र उनीहरुले १-१ अंकमा चित्त बुझाएका छन्। सबै फुटबल पारखीहरुको रोजाईका रियल मेड्रिडका हिरो रोनाल्डोले जारी विश्वकपमा खेलेको पहिलो खेलमै आफ्नो देशका लागि ह्याट्रिक गरेर आफ्ना फुटबल फ्यानहरुलाई खुसी पार्न सफल भएका छन्।
तस्वीर: फिफा
प्रतिक्रिया लेख्नुहोस्:-