विश्वकप २०१८ को समुह डि अन्तर्गतको आज भएको अर्जेन्टिना र आइसल्याण्डबीचको खेल फुटबल पारखीहरु र खासगरी लिओनल मेस्सीका फ्यानहरुले निकै प्रतिक्षा गरिरहेका थिए। संसार कै उत्कृष्ट फुटबलर मेस्सीको खेल हेर्न कै लागि करोडौं मान्छेहरु आज टेलिभिजन सेट अगाडि झुम्मिएको समाचारहरु छ। मेस्सीको सुन्दर गोल हेर्न ललायितहरुलाई उनले पेनाल्टीबाट गोल गर्ने मौका गुमाएर निकै निराश पारेका छन्। अर्जेन्टिनाका जर्सी नम्बर १९ का सर्जियो एग्युरोले १९ मिनेटमा गरेको गोलको खुसीमा स्टेडियमका अर्जेन्टेनी समर्थकहरु जुरुक्कै उठेका थिए। तर अर्जेन्टेनीहरुलाई धेरैबेर खुसी हुन दिएनन् र आइसल्याण्डका ११ नम्बर जर्सीका अल्फ्रेड फिनबोग्सनले २३ औं मिनेटमा गोल गरेर खेल १-१ को बराबरीमा ल्याए। पहिलो हाफको ४५ मिनेटको अधिकाँश समय (७५%) बल अर्जेन्टिनाको पक्षमा नै रहेको थियो। दोश्रो हाफको ६२ औं मिनेटमा अाइसल्याण्डले डिबक्सभित्र मेस्सीलाई फल गरेपछि अर्जेन्टिनाले पाएको पेनाल्टी गोलको अवसरलाई मेस्सीले गोल गर्न सकेनन्। आइसल्याण्डका गोलकिपरले सही अनुमान लगाए र देब्रेतिर डाइभ लगाउँदै मेस्सीको प्रहार बचाए। पेनाल्टी मिस गरेको लगत्तै अर्जेन्टिनाले पाएको फ्रि-किकमा मेस्सीको प्रहार गोलपोष्ट माथिबाट बाहिरिएको थियो।



सायद आज मेस्सीको दिन थिएन, पेनाल्टीमा गोल गर्ने मौका त गुमाए नै, फ्रि-किकमा पनि सफल भएनन्। खेलको ८० औं मिनेटमा उनको प्रहार केही इन्चमात्र बाहिर पर्यो। पुरै खेल नियन्त्रणमा राखेर पनि अर्जेन्टिना आज विजयी हुन सकेन र ग्रुप डि को पहिलो खेलमा आइसल्याण्डसंग अंक बाँड्न बाध्य भयो। मेस्सीका संसारभरका फ्यानहरुलाई आज धेरै खुसी बनाउन नसकेकै हुनु पर्छ।











प्रतिक्रिया लेख्नुहोस्:-