दुरबिन नेपाल, न्युयोर्क, जुन १८
न्युयोर्कमा पाँचौ काठमाडौ इन्टरनेशनल माउन्टेन फिल्म फेष्टिभल (किम्फ) सम्पन्न भएको छ । जुन १६ गते भएको फिल्म फेष्टिभलमा नेपालका ग्रामिण भेगको जनजीवनसंग सम्बन्धित कथा वस्तु समेटेर तयार पारीएका बृत्तचित्रहरु प्रदर्शन गरिएका थिए । महोत्सवमा यसपटक सुपर माङ्क, मरिसकेको मान्छे, तातिनी, माउन्टेन मदर, डोल्पा डायरी र कथा ७२ बृत्तचित्र प्रदर्शन भएका थिए । फेष्टिभल हिमाल एशोसियसनको आयोजना र एभरेष्ट टाइम्स फाउण्डेसनको सह¬–आयोजनामा सम्पन्न भएको हो । शुरुदेखि नै किम्फ हिमाल एशोसियसनले आयोजना गर्दै आएको छ भने अमेरिकामा विगत पाँच बर्षदेखि एभरेष्ट टाइम्सको सहआयोजनामा सम्पन्न हुंदै आएको छ । यसपटकदेखि भने एभरेष्ट टाइम्स फाउण्डेसनले गरेको हो ।
प्रवासमा नेपालको ग्रामिण भेगको चिनारी दिदै कार्यक्रमबाट संकलित रकम दुर्गम भेगका विद्यालयलाई दिन पाउंदा गर्वबोध भएको एभरेष्ट टाइम्सका प्रधानसम्पादक आङछिरिङ शेर्पाले बताए । शेर्पाका अनुसार किम्फबाट उठेको रकम दुर्गम जिल्लाका विद्यालयलाई दिने भनेपछि सम्बन्धित जिल्लाका संघसंस्थाहरुलेपनि सहयोग गरिरहेका छन । किम्फको आयोजनाबाट संकलित रकम सोलुखुम्बु, सिन्धुपाल्चोक र रामेछाप जिल्लाका एक एक विद्यालयलाई वितरण भइसकेको छ । यसपटकको संकलित रकम भने भोजपुर जिल्लाको कुनै एक विद्यालय छनौट गरि दिइने शेर्पाले बताए । यसपटक अघिल्ला महोत्सवमा भन्दा धेरै दर्शकहरु आएको आयोजकको दावी छ ।
किम्फमा पत्रकार पाख्रिन सम्मानित
न्युयोर्कमा किम्फको आयोजनामा महत्वपुर्ण भुमिका खेलेबावत पत्रकार तथा एभरेष्ट टाइम्सका सम्पादक ङिमा पाख्रिन सम्मानित भएका छन । पाख्रिनलाई न्युयोर्क सीटी र काउन्सिलमेन कोष्टाकोष्टनटीनीदेशको कार्यालयले सम्मान गरेको हो ।








प्रतिक्रिया लेख्नुहोस्:-