अमेरिका । राष्ट्रपति जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएपछि आप्रवासीको पक्षमा केही नीतिगत परिवर्तनहरु भइरहेका छन् । हिजो अर्थात बुधवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका पालामा लागु गरिएका आप्रवासी प्रति अनुदार दुई नीतिलाई बाइडेन प्रशासनले खारेज गरिदिएको छ । अनुदार मानिएका नीतिको खारेजीसँगै बिभिन्न प्र्कारका हिंसाबाट जोगिएर अमेरिका छिरेका आप्रवासीलाई शरणका लागि सहज हुने कानुन ब्यबसायीहरुले बताएका छन् ।
हिंसाबाट जोगिएर शरण माग्न अमेरिकाको बोर्डरसम्म आइपुगेका र अमेरिका भित्रै रहेकाहरुलाई अप्ठ्यारो बनाउन ट्रम्प प्रशासनले अमेरिका भन्दा बाहिर नै बसेर शरणका लागि प्रक्रिया चाल्नु पर्ने साथै कानुनी प्रक्रिया पुरा गर्न थप झन्झट ब्यहोर्नु पर्ने नीति बनाएको थियो । अनुदार मानिएका यी दुई नीति बाइडेन प्रशासनले बुधवार खारेज गरिदिएको हो । शरणका पक्षधर अधिकार कर्मीहरुले आप्रवासी प्रति अनुदार नीतिको खारेजीलाई स्वागतयोग्य कदम भनेका छन् । अव शरणार्थीहरुले अमेरिका भित्र नै बसेर शरणका लागि प्रक्रिया अगाडि बढाउन सक्नेछन् । साथै उनीहरुले शरण प्रक्रिया जारी रहदा काम गर्न पाउने छन् ।
बाइडेन प्रशासनले शरण लिने प्रक्रियालाई छोटो बनाउन नीतिगत परिबर्तन गर्दै कर्मचारी भर्ति प्रक्रियालाई पनि तिव्रता दिएको छ । शरण लिनका आवेदन दिएकाहरुको हजारौंको संख्यामा मुलतवीमा रहेका अपिलहरुलाई अव द्रुत गतिमा टुंगाउने रणनीतिमा बाइडेन प्रशासन लागेको छ । महान्यायधिवक्ता मेरिक गारल्यान्डले बुधवार नयाँ नीतिको आवश्यकताको विषयमा प्रष्ट्याएका थिए । उनले आप्रवासीका मुद्धा हेर्ने न्यायाधीशहरूले ट्रम्पको पालाका नियमहरू पालना गर्दा आप्रवासीहरुलाई धेरै नै गाह्रो भएको बताए । साथै अमेरिकामा शरण लिने प्रक्रियामा रहेकाहरुले कानुनी जटिलतासँगै घरेलु वा सामूहिक हिंसाको सामना गर्नु परेको पनि चर्चा गरे । नयाँ नीतिबाट आप्रवासीको अधिकार र सुरक्षाका लागि आगामी दिनहरु सहज हुने कानुन ब्यबसायीहरुले बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-