अमेरिका, जुलाई ११,२०१८
फिफा विश्वकप २०१८ अन्तर्गत आज भएको क्रोयसिया र ईंगल्याण्डबीचको सेमीफाइनल खेलमा ईंगल्याण्ड २-१ गोलले पराजित भएको छ।
ईंगल्याण्डलाई स्तब्ध पार्दै पहिलो पटक विश्वकप फाइनलमा पुगेको क्रोयसियाले १९९८ मा विश्वकपमा सहभागी भएकै बर्ष सेमी फाइनल पुगेर तेश्रो स्थान जितेको थियो। आज फेरी २० बर्षपछि विश्वकप फाइनलमा पुगेको क्रोयसियाले इतिहास बनाएको छ भने आगामी आइतबार १९९८ कै विश्वकप बिजेता फ्रान्ससंग फाइनल खेल्ने पक्का गरेको छ। संयोग नै हुनुपर्दछ, १९९८ मा फ्रान्ससंग २-१ गोलले सेमीफाइनलमा पराजित भएको क्रोयसियाका लागि १९९८ को हारलाई २० बर्षपछि जीतमा बदल्ने मौका आएको छ। फाइनलमा क्रोयसिया बिजयी भएमा विश्वकप फुटबलमा एउटा नयाँ इतिहास रचिने छ र हालसम्म विश्वकप जितेका ८ देशहरुको सूचीमा एउटा नयाँ देश थपिने छ र विश्वकप जित्ने देशहरुको संख्या ९ हुने छ। फ्रान्सले जित्यो भने २० बर्ष अघि सेमीफाइनलमा हराएको प्रतिद्वन्द्वी टिमलाई फेरी एकपटक फाइनलमा हराएको इतिहास बन्ने छ।
पहिलो हाफको ५ औं मिनेटमा नै किय्रान ट्रिपिएरको (जर्सी नं १२) गोलबाट अग्रता लिएको ईंगल्याण्डले पहिलो हाफमा क्रोयसियालाई कुनै गोल हुन दिएन। दोश्रो हाफमा ईंगल्याण्ड र क्रोयसिया दुबैले गोलगर्ने निकै प्रयास गरिरहेका थिए। ६८ औं मिनेटमा क्रोयसियाका फर्वार्ड इभान पेरिसिकले (जर्सी नं ४) पाएको भली पासलाई गोल गर्दै ईंगल्याण्डसंग १-१ को बराबरी गराउन मात्र मद्दत गरेनन्, त्यही गोलका कारण खेल अतिरिक्त समयमा गयो। अतिरिक्त समयको खेलमा जर्सी नं १७ का क्रोयसियन डिफेन्डर मारियो मान्दुज्किकले १०० औं मिनेटमा एक गोल थपेर क्रोयसियाको जीत सुनिश्चित जस्तै गरिदिए। अन्तिमसम्म गोल फर्काउने ईंगल्याण्डको प्रयास बिफल भएसंगै लुजनिकी स्टेडियमका हजारौं बेलायती दर्शक र समर्थकहरुलाई स्तब्ध पार्दै क्रोयसिया फाइनलमा पुगेको छ।
सन् १९५० बाट विश्वकपमा सहभागिता जनाउन थालेको ईंग्ल्याण्डले सन् १९६६ मा आफ्नै देशमा भएको विश्वकप जितेको थियो। ५२ बर्षपछि फाइनलमा पुग्ने र विश्वकप चुम्ने सपना अधुरै राखेर घर फर्कन बाध्य ईंगल्याण्डसंग अब अर्को चार बर्ष कुर्ने र २०२२ मा कतारमा हुने विश्वकपका लागि तैयारी गर्ने विकल्प मात्र बाँकी रहेको छ।
तस्वीर: फिफा
प्रतिक्रिया लेख्नुहोस्:-