सियाटल, अमेरिका, जुलाई २१
नेपाली-अमेरिकन पत्रकारहरुको संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले नेपालको ग्रामिण क्षेत्रमा रहेर सामुदायिक पत्रकारितामा उल्लेख्य योगदान दिने एकजना पत्रकारलाई दिंदै आएको ग्रामिण पत्रकारिता पुरस्कार यो बर्ष ओखलढुंगामा रहेर पत्रकारिता गर्दै आएका कुम्भ राईलाई प्रदान गर्ने निर्णय भएको छ। पुरस्कृत राईलाई रु. दुईलाख २२ हजार दुईसय २२ नगद पुरस्कार दिने घोषणा नेजा ग्रामिण पुरस्कार छनौट समितिका संयोजक एवं नेजाका पूर्व अध्यक्ष आङछिरिङ शेर्पाले गरेका थिए। नेजाले यसैबर्षबाट पुरस्कार राशी बढाएर दोब्बर पारेको हो। नेपाल पत्रकार महासंघको पुरस्कार छनौट समितिबाट सिफारिस भएर आएका नामहरु मध्येबाट नेजाको पुरस्कार छनौट समितिले पुरस्कृत पत्रकारको घोषणा गरेको हो। सियाटल, वाशिंगटनमा जारी नेजाको छैठौं अधिवेशनका दौरान सो पुरस्कारको घोषणा गरिएको हो।
पुरस्कार घोषणा पश्चात नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्यले भने-“ ग्रामिण क्षेत्रमा रहेर पत्रकारिता गरिरहेका नेपाली पत्रकारका लागि २ लाख २२ हजार भन्दा बढी रकमको पुरस्कार प्रदान हुनु भनेको निकै ठूलो कुरा हो। यसले नेपालका ग्रामिण भेगमा रहेर पत्रकारिता गर्ने धेरै पत्रकारहरुलाई हौसला मिल्ने छ। यति ठूलो नगद पुरस्कार प्रदान गर्ने कार्यमा नेजासंग सहकार्य गर्न पाउँदा नेपाल पत्रकार महासंघलाई गौरव लागेको छ।”
यसैगरी नेजाले यो बर्ष देखि साधारण सभाबाट घोषणा गरेर नेजाको स्थापनाकालदेखि नै नेजालाई महत्वपूर्ण सहयोग पुय्राएकोमा संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार आङछिरिङ शेर्पालाई प्रेसिडेन्टियल अवार्ड प्रदान गरेको छ भने लाइफटाइम एचिभमेण्ट अवार्ड सूर्य चन्द्र पोखरेल र लेखनाथ भण्डारीलाई दिने निर्णय भएको छ।
तस्वीर सौजन्य: ईश्वरी न्यौपाने
प्रतिक्रिया लेख्नुहोस्:-