बद्रि गौतम, दूरबिन नेपाल
अमेरिका, अगष्ट २० । अमेरिकामा आत्महत्याको दर डरलाग्दो रहेको एक अनुसन्धानले देखाएको छ । अमेरिकन फाउण्डेसन फर सुसाईड प्रिभेन्सनले गरेको खोज अनुसन्धान अनुसार अमेरिकामा बर्षमा झण्डै ५० हजारले आत्महत्या गर्ने गरेको देखिएको छ ।
फाउण्डेसनले सन २०१८ मा गरेको एक सर्भे अनुसार सन २०१७ मा अमेरिकामा ४७ हजार एक सय ७३ जना अमेरिकीहरुको मृत्यु आत्महत्याबाट भएको पाइएको छ । सन २०१७ मै १४ लाख अमेरिकीहरुले आत्महत्याको प्रयास गरेको रिपोर्ट सार्वजनिक भएको थियो ।
अर्बौ रकम आत्महत्याकै कारण खर्च
फाउण्डेसनको रिपोर्ट अनुसार आत्महत्या तथा यस्तो दुर्घटनाबाट राज्यलाईपनि निकै ठुलो नोक्सानी हुने गरेको देखिएको छ । जब कुनै व्यक्तिले आत्महत्या गर्छ भने त्यसको छानविन गर्नु पर्यो । यदि कोही आत्महत्याको प्रयास गर्यो तर बच्यो भने उसको उपचार त गर्नै पर्यो । यसमा अमेरिकामा ६९ बिलियन डलर खर्च हुने गरेको तथ्यांकले देखाउंछ ।
मृत्युको दशौं कारण आत्महत्या, दैनिक १२९ जना मारिन्छन
अमेरिकामा मास सुटिङबाट मात्रै झण्डै ४० हजार भन्दा मानिसको बर्षेनी मृत्यु हुने गरेको छ । मृत्युका अन्य कारणहरुपनि छन । तर अमेरिकामा मृत्युको दशौं कारण हो आत्महत्या । यदि कुनै व्यक्तिले आफुले आफैलाई मार्ने कार्यपनि मृत्यु हुनुको टप टेन कारणभित्र पर्छ भने यसलाई भयावह नै मान्नु पर्छ । अमेरिकन फाउण्डेसन फर सुसाइड प्रिभेन्सनको अनुसन्धानले यहि कुरालाई देखाउंछ । यो तथ्यांक यति डरलाग्दो छ कि यसलाई दैनिक औषतमा निकाल्ने हो भने दिनमा एक सय २९ जनाले आत्महत्या गर्दछन ।
आत्महत्या गर्नेमा बयस्क र बृद्धहरु धेरै
फाउण्डेसनको तथ्यांकले सन २०१७ मा आत्महत्या गर्नेमा धेरै स्वेत नागरिहरु रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । आत्महत्या गर्नेहरुमा वयस्क उमेरका धेरै भएको देखिएको छ । अझ भन्दा ४५ देखि ५४ बर्ष उमेरका व्यक्तिहरुले धेरै आत्महत्या गरेको देखिन्छ ।
अनुसन्धान अनुसार आत्महत्या गर्ने २० दशमलव दुई प्रतिशत व्यक्तिहरु सोही उमेर समुहका छन । त्यसपछि धेरै आत्महत्या गर्नेहरु ८५ बर्ष भन्दा माथीका उमेरका छन । त्यस्ता व्यक्तिहरुको प्रतिशत २० दशमलव एक रहेको छ । वयस्क र बृद्धहरुभन्दा युवाहरुमा आत्महत्याको दर कम देखिन्छ । १४ दशमलव ४६ प्रतिशत आत्महत्या १५ देखि २४ बर्ष उमेर समुहका व्यक्तिले गरेको अनुसन्धानले देखाएको छ । जुन अन्यको तुलनामा कम हो ।
आत्महत्या गर्नेमा स्वेत अमेरिकन धेरै
सन २०१७ को पतिवेदन अनुसार आत्महत्या गर्नेहरुमा स्वेत नागरिकको संख्या धेरै छ । रिपोर्टका अनुसार आत्महत्या गर्नेमा १५ दशमलव ८५ प्रतिशत स्वेत नागरिक छन । त्यसपछि अलास्का नेटिभ र अमेरिकन इण्डियनहरु धेरै रहेका छन । उनीहरुको प्रतिशत १३ दशमलव ४२ रहेको छ । अफ्रिकन अमेरिकन एसियनहरुको आत्महत्याको दर कम रहेको छ । फाउण्डेसनका अनुसार ६ दशमलव ६१ प्रतिशत अफ्रिकन अमेरिकन र ६ दशमलव ५९ प्रतिशत एसियन अमेरिकन रहेको अनुसन्धानमा देखिएको छ ।
५० प्रतिशत भन्दा धेरै आत्महत्या आफैले गोली हानेर
रिसर्चले अधिकांश आत्महत्या आफैले आफुलाई बन्दुक हानेर गरेको देखिएको छ । आत्महत्या गर्ने ५० दशमलव ५७ प्रतिशतले आफुले आफैलाई गोली हानेका छन । त्यस्तै झुण्डिएर २७ दशमलव ७२ प्रतिशतले आत्महत्या गरेका छन भने विष खानेहरु १३ दशमलव ८९ प्रतिशत छन ।
आत्महत्या प्रयासको सम्बन्धमा
अमेरिकामा लाखौंले आत्महत्याको प्रयास गर्ने गरेको पाइन्छ । तर स्पष्ट तथ्यांक भने बाहिर आउन सकेको छैन । अस्पतालमा उपचारको लागि आउनेहरुको रेकर्डको आधारमा अमेरिकामा १४ लाख जतिले आत्महत्याको प्रयास गरेको अनुमान गरिएको छ ।
आत्महत्याको प्रयास गर्नेहरु १८ बर्षभन्दा कम उमेर समुहका व्यत्तिहरु अधिकांश रहेको देखिन्छ । त्यस्तै स्कुले विद्यार्थीहरुमा आत्महत्या प्रयास धेरै पाइएको छ । विशेषगरी कक्षा नौ र दशमा पढ्दै गरेका किशोर किशोरीहरुले धेरै आत्महत्याको प्रयास गरेको पाइन्छ ।
लागु औषध, चरम निराशा तथा मानसिक रोगका कारणपन युवा उमेरका मानिसहरुले आत्महत्या रोज्ने गरेको पाइन्छ । त्यस्तै वयस्कहरुले आफ्नो घर व्यवहार तथा पारिवारिक विखण्डनका कारण वितृष्णा बढेर आत्महत्या गरेको अनुमान लगाइन्छ ।
बृद्धहरुले भने जिवनदेखि नै निराशा तथा आफु अरुलाई भार बन्न नपरोस भन्ने सोचाइका कारण आत्महत्यालाई अंगालेको विष्लेषण गरिएको छ । संसारको सबैभन्दा वैभवशाली र शक्तिशाली मुलक अमेरिका, जहां संसारभरीबाट मानिसहरु आउन चाहन्छन । तर जिवनमा सोचे जस्तो नभएपछि मानिस निराशामा जान्छ र चरम निराशाले मानिसलाई आत्महत्यातर्फ धकेल्दछ ।






प्रतिक्रिया लेख्नुहोस्:-