सानफ्रानसिस्को २१ अगष्ट
सानफ्रानसिस्को क्षेत्रमा नेपाली सामुदायिक भवनको आवश्यकता छ भन्ने धार्मिक महोत्सवको भीडले प्रस्ट सन्देश दिइरहेको थियो । सानफ्रानसिस्को क्षेत्रमा बसोबास गर्ने पुराना नेपाली मध्येका गोविन्द शाही साथीभाइहरूसँग भन्दै थिए सन् २०११ मा भएको महापुराणमा यसको एक तिहाइ मान्छे पनि आएका थिएनन् । यस पटक सामुदायिक भवन निर्माणका लागि सानफ्रानसिस्को क्षेत्रमा रहेका नेपालीहरू जुरुक्कै उठे ।
नाचगान भव्य भयो । पण्डित दिन बन्धु पोखरेलले कथा श्रवण गर्न आएकाहरू तर्फ ध्यानै दिएनन् । भागवत कथा वाचन भन्दा पनि सहयोग सङ्कलन मुख्य लक्ष हो भन्ने बुझेका पण्डित पोखरेलले दाताहरूलाई मोहित गराएर पैसा झार्न फनफनी नचाए । तर पनि कार्यक्रममा नगद र चेक गरेर ७० हजार डलर भन्दा कम उठ्यो । बाकी नौ लाख डलर भन्दा बढी उधारो बाचा । सप्ताहाब्यापी विशाल कार्यक्रम सकिदा आयोजकलाई गह्रौँ भारी बिसाए जस्तो हल्का हुनु पर्ने हो तर त्यसो हुन सकेन । उधारो सहयोगलाई नगद वा चेकमा ल्याउन झनै पापड पेल्नु पर्ने हुन्छ ।
आयोजक समितिले नै तीन वर्ष भित्र रकम बुझाउने गरेर उधारो सहयोग माग्दा नगद र चेक जम्मा हुन नसकेको हो । उधारो बाचा गराउने परिपाटीले घोषित योजनाहरू सफल बनाउने भन्दा लथालिंग पार्ने खतरा बढी हुन्छ । धार्मिक महोत्सव संयोजक ईश्वर सिटौलाले दाताहरूलाई बोलेको रकमको एक तिहाइ नगद र चेक तत्काल प्रदान गर्न आह्वान गरेका भए न्यान्सको खातामा अहिले तीन लाख भन्दा बढी रकम जम्मा भइसकेको हुने थियो । तुलनात्मक रूपमा सन् २०११ मा भएको महापुराणमा भन्दा पनि कम नगद रकम जम्मा भएको देखिन्छ । संयोजक ईश्वर सिटौला र उनको समूह पर्याप्त गृहकार्य र विस्तृत योजना तयार नगरी धार्मिक महोत्सवमा होमियो । यही कमजोरीले न्यान्सको टाउकोमा थप बोझ परेको छ । पण्डित, उनका सहयोगी, साङ्गीतिक टोली, साउण्ड सिस्टम र कार्यक्रसँग जोडिएका अरू खर्चका लागि उठेको अधिकांश रकम टकटक्याउनु पर्ने अवस्था छ । पण्डित दिनबन्धु पोखरेललाई २१ हजार डलर, गायक वुद्धिसागर बस्याललाई ३ हजार ५ सय । साङ्गीतिक समूह, र अरू सहयोगीलाई समेत गरेर कुल ३१ हजार डलर भन्दा बढी रकम खर्च भइसकेको छ । अरू खर्चको थप विवरण आउन बाकी नै छ ।
एनएएनसीका अध्यक्ष रविन्द्र राई गृहकार्यको कमी र व्यवस्थापनमा केही कमीकमजोरी भएको स्वीकार गर्छन् । “अव वाचा गरेको रकम उठाउन दाताहरूलाई मासिक र वार्षिक पेमेन्ट प्लान वनाउछौं ।” राईले भने “भागवत गीतालाई साक्षी राखेर बोलेको दान सहयोग दाताहरूले नदिने भन्ने त कल्पना पनि गर्न सकिँदैन ।”
सन् २०११ मा भएको महापुराणमा भागवत गीतालाई नै साछि मानेर गरेको कवोलको सहयोग रकम अझै कतिपय दाताबाट उठाउन सकिएको छैन । न्यान्सका कोषाध्यक्ष प्रेम परियारका अनुसार त्यस बेलाको रकम कसले के कति दिन बाकी छ भनेर हिसाब अध्यावधिक गरिएको छैन । पहिलाको सहयोग रकम उठाउन नसकिरहेको अवस्थामा यस पटकको महापुराणमा सहयोगको कवोल गर्नेबाट त्यो समस्या नदोहोरियोस भनेर सजगता अपनाउनु पर्ने थियो । कोषाध्यक्ष परियार भन्छन् “हामीले विगतको समीक्षा गर्दै नयाँ योजना बनाउनु पर्ने थियो त्यसमा हामी चुक्यौँ । राम्रो तयारी गर्न सकेको भए २० लाख डलर उठ्ने थियो । ”
ठुला दाता मध्येका एक अनि पाण्डे भन्छन् “कवोल गरेर रकम चुक्ता नगर्नेहरूको लिस्ट यसपटकको महापुराण अगाडि सार्वजनिक गर्नु पथ्र्यो । त्यसो नगर्दा पहिलाको रकम नबुझाउनेहरू नै अहिले थप रकम दान गर्ने कवोल गरिरहेका छन् । न्यान्सले उनीहरूबाट खै कसरी पैसा उठाउँछ ?”
पाण्डेले औँल्याएको जस्तो केही समस्या अमेरिकाका प्राय संघ संस्थामा देखिने गरेको छ । सानफ्रानसिस्कोको यस धार्मिक महोत्सवमा पनि दान सहयोग कवोल गरेर फर्किएको केही घण्टामा नै कतिपय दाताहरूले बोलेको जति रकम दिन नसक्ने जानकारी गराउँदै घटाएर रकम राखिदिन अनुरोध गरेका छन् । केही दाताहरूले आफूले कवोल गरेको करम आफ्नो अनुकुलतामा मात्र दिने सार्वजनिक गर्न थालेका छन् । यो न्यान्सका लागि थप चुनौती बन्ने छ ।
सामुदायिक भवन निर्माण संयोजक उत्तम कार्कीअनुसार महापुराणमा आएर सहयोग रकम कवोल गर्नेहरूबाट रकम उठाउन खासै गाह्रो छैन । कार्की भन्छन् “धेरैजसो चिनजानकै साथीभाइहरू छन् । उनीहरूले बोलेको रकम दिन्छन् । पहिलाको रकम पनि यसपटक उठ्छ । ”
संयोजक कार्की सामुदायिक भवन बन्नेमा विश्वस्त छन् । “दाताहरूबाट रकम उठ्दै गर्छ । हामी भवन बनाउन चाडै थाल्छौ” कार्की भन्छन् “अव काम रोकिँदैन ।” न्यान्सका अध्यक्ष रविन्द्र राईले आफ्नो कार्यकाल सकिन केही महिना मात्र बाकी रहेका कारण नयाँ कार्यसमितिले सामुदायिक भवन निर्माणको काम थाल्ने बताए । सामुदायिक भवन निर्माणका लागि जग्गा खरिद भइसकेको छ । भवनमा कोठा, कार्यक्रम गर्ने हल, मन्दिर, गुम्बा निर्माण र वरपर पार्किङ लट कति बनाउने भन्ने कुनै खाका तयार भएको छैन । प्राविधिकको सहयोगमा सबै योजना बनाएर सम्बन्धित निकायबाट प्रक्रिया पुरा गर्न अरू केही समय कुर्नु पर्ने हुन्छ ।









प्रतिक्रिया लेख्नुहोस्:-