सानफ्रानसिस्को २६ अगष्ट
अमेरिकामा रहेका हिन्दु मठमन्दिर, शिवालय , नदी किनार र समुन्द्र तटमा पुगेर नेपालीहरूले विधि पूर्वक जनै धारण र रक्षा बन्धन गरिरहेका छन् । सानफ्रानसिस्को वे एरियामा रहेका नेपालीहरू आइतबार बिहान देखी सन्नीभेल स्थित सेरापार्कमा आयोजित रक्षा बन्धन र जनै धारण कारर्यक्रममा सहभागी भए ।
कार्यक्रमलाई संयोजन गर्दै आउनु भएका ईश्वर सापकोटाका अनुसार आइतबार दिउसोसम्म तीन सय भन्दा बढी नेपालीहरू कार्यक्रममा सहभागी भएका थिए । सानफ्रानसिस्को क्षेत्रका नेपाली संस्थाहरू नेपाली भाषा,संस्कार संस्कृति विदेशी भूमिमा जगेर्ना गर्न यस्ता कार्यक्रमहरूलाई सहयोग पु¥याउदै आएका छन् । सानफ्रानसिस्को क्षेत्रका प्रमुख नेपाली संस्थाहरू मध्येको एक सन्नी सगरमाथा समाजका पदाधिकारी र सदस्यहरू यो कार्यक्रममा सहभागी भएका थिए ।
विधि पूर्वक पूजा गरेर मन्त्रीएका जनै र रक्षा बन्धनका रूपमा दाहिने हातमा लगाइने पवित्र डोरोलाई धर्म, शक्ति ,संवृद्धि र रक्षाको आधार मानिन्छ । कार्यक्रममा सहभागीहरूलाई पण्डितहरू रामप्रसाद सुवेदी, मधुसूदन खनाल, वासुदेव घिमिरे र चक्रपाणी अर्यालले जनै र डोरा लगाई दिएका थिए । सन्नीभेल क्षेत्रका स्थानीयहरूको चाहानामा सन् २००८ देखि शुरु भएको रक्षा बन्धन कार्यक्रममा हरेक वर्ष सहभागीको सङ्ख्या बढ्दै गएको छ ।
आइतबार लस एन्जलस र डालासको पशुपतिनाथ मन्दिरमा आयोजित जनै धारण र रक्षा बन्धन कार्यक्रममा हरेक वर्ष जस्तै ठुलो सङ्ख्यामा नेपालीहरू सहभागी भएका छन् । आज अमेरिकाका प्रमुख सहरमा रहेका मठमन्दिरमा जनै धारण र रक्षा बन्धनका लागि नेपालीहरू उल्लेख्य सङ्ख्यामा पुगेका छन् ।












प्रतिक्रिया लेख्नुहोस्:-