दूरबिन नेपाल, न्युयोर्क
नेपाल सरकारले आदिवासी जनजातिहरुको मौलिक संस्कृतिमाथी श्रृङ्खलाबद्ध आक्रमण र हस्तक्षेप गरेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, फिप्नाले आपत्ति जनाएको छ । अध्यक्ष लोक चेम्जोङद्धारा जारी विज्ञप्तिमा सरकारले ललितपुरमा रातो मच्छेन्द्रनाथको रथ यात्राका क्रममा पनि हस्तक्षेप गरेको र यसले हजारौं बर्ष पुरानो संस्कृतिमाथी राज्यले बर्बरतापुर्वक हस्तक्षेप गरेकोमा विरोध गरिएको छ । उचित गृहकार्य नगरी उल्टै मच्छेन्द्रनाथको रथ तान्नेक्रममा सरकारले अनावस्यक हस्तक्षेप गरेको र सर्वसाधारणमाथी अनावस्यक बल प्रयोग गरिएकोमा विरोध जनाउंदै पक्राउ गरिएकालाई तत्काल रिहाइ गर्न माग गरिएको छ । सरकारले लिम्बुवानको पाचथरमा लिम्बु लिपिमा लेखिएको बोर्ड तथाकथित भिजिलान्ते लाएर भत्काउने प्रयास गरेको र धर्मनिरपेक्ष नेपालमा गोरू काटेको भन्दै झापामा एक मुश्लिम समुदायका युवामाथी प्रहरीद्वारा गोली हानी हत्या गरिएको घटनाको पनि फिप्नाले विरोध गरेको छ । नेपालका आदिवासी जनजाति, मधेसी, थारू, सिल्पी, खस, आर्य सबैको संयुक्त वलिदानीपूर्ण संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा सरकार भने एकल जातीय अहंकारबाट ग्रसित भएको फिप्नाको आरोप छ ।
फिप्नाले सबै खाले एकल जातीय अतिबादी चिन्तनबाट संचालित राज्यसत्ताको विरूद्वमा एकजुट हुन तमाम न्यायप्रेमी, समानता चाहने नेपाली समुदायमा हार्दिक अपिल गर्नुका साथै समानता र न्यायका हरेक संघर्षमा सहयोग गर्न तयार प्रतिबद्धता व्यक्त गरेको छ । अध्यक्ष चेम्जोङले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका केन्द्रीय कार्यसमिति, संघीय परिषद साथै सदस्य संस्थाहरूको संयुक्त बैठकमा नेपालमा पछिल्लो समयमा सरकारी पक्षबाट नै आदिवासीहरूको सांस्कृतिक धरोहरहरूमाथी सृखलाबद्व आक्रमण भएको निष्कर्ष निकाल्दै विज्ञप्ति जारी गरिएको जनाएका छन ।








प्रतिक्रिया लेख्नुहोस्:-