दूरबिन नेपाल,
अमेरिकी सिमा सुरक्षा बलले अगष्ट महिनामा ६४ हजार ६ जना अवैध आप्रवासीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । ती मध्ये कतिपय सिमा पार गर्दै गरेका वा कतिपय सिमापार गरिसकेका अवैध व्यक्तिहरु रहेको अमेरिकाको कष्टम्स एण्ड बर्डर प्रोटेक्सन (सिबीपी)ले जनाएको छ । जुन अघिल्लो महिनाको भन्दा २२ प्रतिशतले कमी हो । सिबीपीले मंगलबार ह्वाइट हाउसमा प्रेस ब्रिफीङ मार्फत सो जानकारी गराएको हो । सिमा सुरक्षा बलका अनुसार जुलाई महिनामा ८२ हजार ५५ अवैध आप्रवासीहरु पक्राउ परेका थिए । अगष्ट महिनामा पक्राउ परेकाहरुको संख्या मे महिनामा भन्दा ५६ प्रतिशतले कमी भएको दावी पनि सुरक्षाबलले गरेको छ । मे महिनामा एक लाख ४४ हजार दुई सय ५५ जना अवैध आप्रवासीहरुमाथी सिमा सुरक्षाबलले कारवाही गरेको थियो । प्रेस ब्रिफिङमा सिबीपीका कार्यबाहक आयुक्त मार्क मोर्गनले राष्ट्रपति डोनल्ड ट्रम्पको नेतृत्वमा आफुहरुले दक्षिणी सिमामा शान्ति स्थापना गर्न सफल हुंदै गएको दावी गरे । तर अझै दक्षिणी सिमाको संकट भने नटरेको उनको स्वीकारोक्ती छ । पछिल्लो समय सिमावर्ती मुलुकहरुसंग भएका केही सम्झौताका कारण पनि दक्षिणी सिमामा शान्ति बढ्दै गएको दावी मोर्गनकोे छ । केही महिना अघि ग्वाटेमाला र मेक्सिको लगायत मध्य अमेरिकी मुलुकहरुसंग अमेरिकाले सिमा सुरक्षा सम्बन्धी केही सम्झौताहरु गरेको थियो । जसमा ग्वाटेमाला र मेक्सिकोसंगको सम्झौतालाई महत्वपुर्ण मानिएको छ ।
सिबीपीले जुन दावी गरेपनि अगष्ट महिनामा अन्य बर्षमा पनि आप्रवासीहरुको चाप कमी हुने गरेको विष्लेसकहरुको दावी छ । यो अगष्टमा पक्राउ परेका आप्रपासीको संख्या अघिल्लो महिनाको तुलनामा कमी भएपनि अघिल्लो बर्षको जुलाईमा गरिएको पक्राउ भन्दा १६ प्रतिशतले धेरै भएको बताइएको छ ।
श्रोत सिबीपी
प्रतिक्रिया लेख्नुहोस्:-