एप्पलले बुधवार राति सनफ्रानसिस्कोमा विशेष कार्यक्रम मार्फत आईफोन एक्स एस, एक्स एस म्याक्स, एक्स आर मोडल र एप्पल वाच ४ सिरिज सार्वजनिक गर्यो । एक्स एस र एक्स एस म्याक्स फोन विश्वका ३० देशमा सेप्टेम्बर १३ देखि अर्डर खुल्ला भएको छ ।
जुन फोन सेप्टेम्बर २१ मा प्राप्त गर्न सकिने छ । थप २५ देशमा भने सेप्टेम्बर २८ देखि नयाँ फोन पाउन सकिने उल्लेख गरिएको छ । छिमेकी मुलुकहरू चीनमा सेप्टेम्बर २१ र भारतमा सेप्टेम्बर २८ बाट उपलब्ध हुने फोन नेपाली बजारमा कहिले बाट उपलब्ध हुने भनी कुनै जानकारी दिएको छैन ।
आइफोन एक्स एसको ५.८ इन्च र एक्स एस म्याक्सको ६.५ इन्चको स्क्रिन डिस्प्ले छ । यसमा १२ र ७ मेगापिक्सल ड्युअल क्यामरा छ । आइफोनमा पहिलोपटक दुईवोटा सिमकार्ड राख्ने व्यवस्था समेत छ । गोल्ड, सिल्भर र स्पेस ग्रे रङ्गमा उपलब्ध फोन ६४ जिबी, १२८ जिबी र ५१२ जिबी स्टोरेज क्षमतामा उपलब्ध छ ।
आईपी ६८ वाटर रेसिस्टेन्स रेटिङ रहेकाले यो दुई मिटरको गहिराइमा ३० मिनेटसम्म पानीमा डुबाउँदा पनि सुरक्षित हुने एप्पलको दाबी छ । फोनमा सुपर रेटिनायुक्त ओएलइडी एचडिआर स्क्रिन छ ।
आइफोन एक्स एसमा आइफोन एक्सको भन्दा ३० मिनेट बढी ब्याट्री क्षमता छ । आइओएस १२ सफ्टवेयर युक्त यो आइफोनमा ए-१२ बायोनिक चिप र ७-नानोमिटर प्रोसेसर छ जसले सन् २०१७ का आइफोन भन्दा ३० प्रतिशत छिटो चल्ने दाबी गरिएको छ ।
थ्री डी टच प्रेसर सेन्सेटिभ स्क्रिन, स्टुडियो साउन्ड गर्ने सुविधा यसका थप विशेषता हुन् । फेस आइडी मार्फत फोन अनलकगर्ने थप सुविधाले फोनलाई थप सुरक्षित बनाएको छ ।
आइफोन एक्स एसको मूल्य ९९९ अमेरिकी डलरबाट सुरु हुन्छ । ६४ जिबीको ९९९ डलर, २५६ जिबीको १ हजार १४९ अमेरिकी डलर र ५१२ जिबीको १ हजार ३४९ अमेरिकी डलर तोकिएको छ ।
आईफोन एक्स एस म्याक्सको ६४ जिबीको १०९९ अमेरिकी डलर, २५६ जिबीको १२४९ अमेरिकी डलर र ५१२ जिबीको १४४९ अमेरिकी डलर राखिएको छ ।
आईफोनले ३२६ पीपीआई (रेटिना डिस्प्ले) युक्त ६.१ इन्चको स्क्रिन भएको एक्स आर बजारमा ल्याएको छ । वाइड एंगल लेन्स भएको १२ मेगापिक्सलको सिंगल रियर क्यामरा, ए १२ बायोनिक चिप, फेस डिटेक्सनको सुविधा, आइओएस १२ सफ्वेयर जडान भएको फोन ६४ जिबी, १२८ जिबी र २५६ जिबी स्टोरेजमा उपलब्ध छ । यो फोन गुलाबी, निलो, सेतो, पहेँलो, कालो र रातो रङ्गमा उपलब्ध छ । यो फोन ६४ जिबीको ७४९ अमेरिकी डलर, १२८ जिबीको ७९९ अमेरिकी डलर र २५६ जिबीको ८९९ अमेरिकी डलर पर्दछ।
प्रतिक्रिया लेख्नुहोस्:-