ह्युस्टन, टेक्सस, सेप्टेम्वर १३
बृहत्तर ह्युस्टनको रिचमण्डस्थित नेपालीहरुको आफ्नै मन्दिरमा हिजो नेपाली नारीहरुको महान पर्व ‘हरितालिका तीज’को अवसरमा विशेष पूजाको आयोजना गरियो। मन्दिर व्यवस्थापन समितिले ब्रतालु महिलाहरुको सहजताका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म र साँझ ६-८ बजेसम्म दुई सिफ्टमा विशेष पूजाको व्यवस्थापन गरेको थियो। मन्दिरका पूजारी दिलीप शास्त्रीले विशेष पूजा गराएका थिए। प्रति व्यक्ति २१ डलर पूजाशुल्क निर्धारित विशेष तीज पूजामा बिहान र बेलुका गरेर करीब ७५ जना ब्रतालु महिलाहरु विशेष पूजामा सहभागी भएको मन्दिर व्यवस्थापन समितिका सदस्य मधुकर अमात्यले दूरबिन नेपाललाई जानकारी गराए। पूजामा सहभागी हुन नभ्याएका कैयन महिलाहरु भने नेपाली मन्दिर परिशर मै रहेको पशुपति मन्दिरमा भगवान शिवको पूजा अर्चना गरेर फर्केका थिए। शिवलिंगमा दूध चढाएर भगवान शिवप्रतिको भक्तिभाव प्रकट गर्न सयौंको संख्यामा ह्युस्टनबासी नेपाली महिला तथा पुरुषहरु नेपाली मन्दिरमा पुगेका थिए।
‘करीब दशहजार नेपालीहरुको बसोबास रहेको बृहत्तर ह्युस्टनका नेपालीहरुका लागि आफ्नै स्वामित्वको मन्दिरमा पूजा-अर्चना गर्न पाउनु भनेको गर्वको विषय हो’ , पूजामा सहभागी शर्मीला काफ्लेको भनाई थियो।
पूजा पश्चात महिलाहरुले तीजगीतमा उत्साहपूर्वक नाचेर रमाइलो समेत गरेका थिए। तीजको सांस्कृतिक पहिरनमा सजिएर आएका सयौं नेपाली नारीहरुले मन्दिर परिसरलाई निकै उल्लासमय र रंगीन बनाएका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-