अमेरिका, सेप्टेम्वर १४
आज बिहान सबेरैबाट नर्थ क्यारोलाइनाको विलमिंगटन नजिकैको समद्रीतटमा ९० माइल्स प्रतिघण्टको बेगको हुरी सहितको क्याटगोरी १ को फ्लोरेन्स आँधी आएको छ। आँधीको शुरुवाती प्रभावसंगै नर्थ र साउथ क्यारोलाइनाका कतिपय तटीय शहर र बस्तीहरु जलमग्न भएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन्।
फ्लोरेन्स आँधीले नर्थ र साउथ क्यारोलाइना, भर्जिनिया, मेरिल्याण्ड र जर्जियामा प्रभाव पार्ने समाचारहरु आउन थालेदेखि नै ती राज्यहरुमा बस्ने नेपालीहरुको सुरक्षाको चासो नेपाली समुदाय र संघसंस्थामा निकै देखिएको छ। आँधीको शुरुवाती प्रभाव शुरु हुने बित्तिकै दूरबिन नेपालले स्थानीय नेपाली संघसंस्थाका अगुवाहरुसंग सम्पर्कमा रहने प्रयास जारी राखेको थियो।
एनआरएनए अमेरिका राष्ट्रिय समन्वय परिषदका तर्फबाट छुट्टै राहत तथा उद्दार संयन्त्र परिचालन नभए पनि सम्वन्धित स्टेट च्याप्टरका पदाधिकारीहरुसंग निरन्तर सम्पर्कमा रहेर आँधीबाट प्रभावित नेपालीहरुको सूचना लिइरहेको एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले जानकारी गराएका छन्। यसैबीच एनआरएनए, नर्थ क्यारोलाइना च्याप्टरका अध्यक्ष बाबुराम पोखरेलले दूरबिन नेपाललाई बताए अनुसार हालसम्म कोही पनि नेपालीहरु फ्लोरेन्स आँधीको चपेटामा परेका छैनन्। कोस्टल एरियामा बसोवास गर्ने नेपालीहरुसंग सम्पर्क गर्ने प्रयास जारी रहे पनि हालसम्म कोही पनि नेपालीहरु विस्थापित भएको वा सेल्टरमा गएको सूचना प्राप्त भैनसकेको अध्यक्ष पोखरेलले जानकारी गराएका छन्। पोखरेलका अनुसार नर्थ क्यारोलाइनाको राजधानी शहर ‘रले’ र अर्को मुख्य शहर सार्लटमा भने आँधीको कुनै प्रभाव परेको छैन। नर्थ क्यारोलाइनामा नै बस्ने एकजना नेपाली बिनोद भट्टले आफ्नो फेसबुक स्ट्याटस मार्फत आफूहरु सुरक्षित रहेको जानकारी गराएका छन्।
आपत्कालीन व्यवस्थापनका लागि अमेरिकी संघीय निकाय (फिमा) तथा नेशनल हर्रिकेन सेन्टरका अनुसार आँधीको गति कम भएपनि अत्यधिक बर्षाका कारण स्थानीय खोलानालाहरुमा पानीको सतह निकै बढेकोले बाढीबाट जीवन जोखिममा पर्न सक्ने संभावना बढाएको छ। फिमाले आँधीको चपेटामा नआउन र आपत्कालीन सेवाका एजेन्सीहरुको निर्देशन पालना गर्न प्रभावित क्षेत्रका जनताहरुलाई अपील गर्दै लगातार सामाजिक संजालहरुमा सूचना जारी गरिरहेको छ।

नर्थ क्यारोलाइनाका गभर्नर रोय कुपरले सुरक्षित रहन र स्टेट र फेडरल एजेन्सीहरुका सूचनाहरु पालना गर्न र आँधीको बखत घर बाहिर नजान भनिरहेका छन्। आँधी सम्वन्धि आपत्कालीन सेवा लिनका लागि २-१-१ मा सम्पर्क गर्न पनि गभर्नर कुपरले आव्हान गरेका छन्। नर्थ क्यारोलाइनामा मात्र १३७ वटा सेल्टरहरु सरकारी तथा सामाजिक स्तरबाट स्थापना गरिएको र करीब पाँचलाख मानिसहरु अहिले बिजुली बीहिन अवस्थामा रहेको गभर्नरले पत्रकार सम्मेलनमा जानकारी गराएका छन्।
आँधीको बेग घटेपनि लगातारको बर्षाले न्यूबर्न लगाएतका तटीय शहरहरुमा १० फिटसम्म पानी जमेको र कैयन घर र व्यवसायिक केन्द्रहरु डुबेको समाचारहरुमा जनाइएको छ। हिजो राती नै सय भन्दा बढीलाई उद्दार गरिएको र अझै १५० भन्दा मानिसहरु पानीले घेरिएर उद्धारको प्रतिक्षामा रहेको समाचार संस्था सिबिएसएनले जनाएको छ। न्यूबर्नका मेयर डाना आउटलका अनुसार बाढी र आँधीमा फसेकाहरुलाई उद्धारको प्रयास जारीरहेको छ। यसैबीच अमेरिकन रेडक्रसले मात्र दुईहजार भन्दा बढी तालिमप्राप्त उद्धारकर्ताहरु परिचालन गरेको जनाएको छ।

तस्वीर: सिबिएसएन, फिमा, नेशनल हर्रिकेन सेन्टर












प्रतिक्रिया लेख्नुहोस्:-