ह्युस्टन, संयुक्त राज्य अमेरिका, ३० भदौ/ संयुक्त राज्य अमेरिकी राज्य टेक्सासमा पनि प्रकोपको घोषणा गरिएको छ ।
उक्त राज्यमा अविरल वर्षा र यसका कारण व्यापक मात्रामा बाढी आएको छ । यसले गर्दा यहाँका दर्जनौँ जिल्ला (काउन्टी) मा प्रभाव पारेको छ ।
यस राज्यका गभर्नर ग्रेग एबटले राज्यका ७८ काउन्टीमा प्रकोप रहेको भन्दै ती राज्यलाई प्रकोप प्रभावित घोषणा गरेका छन् ।
कोस्टल क्षेत्रहरुमा आँधीको पनि सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन भनिएको छ । गभर्नर एबटले ती प्रभावित काउन्टीहरुमा सहायताका लागि अधिकारीहरु खटाउने तयारी गरिएको बताएका छन् ।
गत बर्ष पनि निकै ठूलो संख्यामा नागरिक प्रभावित भएका र ती क्षेत्रहरुमा अझ आँधी आउने सम्भावना देखिएकोले प्रकोप प्रभावित क्षेत्र घोषणा गरिएको बताइन्छ ।आँधीको सम्भावना रहेका क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरिएको छ ।
गत वर्षको अगष्टमा पनि यस राज्यमा आएको आँधीले ठूलो क्षति पुर्याएको थियो । अहिले पनि शुक्रबार र शनिबार आँधीको पनि सम्भावना रहेको मौसमसम्बन्धी अधिकारीहरुले जनाएका छन् ।
टेक्सासमा गत वर्ष आएको आँधी ५० वर्षयताकै सबैभन्दा शक्तिशाली आएको बताइएको थियो । यसवर्ष पनि ती स्थानमा यस्तै आँधीको त्रास रहेको बताइएको छ ।
यसैबीच शुक्रवार सबेरैबाट अमेरिकाको पूर्वी सामुद्रिक तटमा आएको ‘फ्लोरेन्स’ नामको शक्तिशाली समुद्री आँधीका कारण कम्तीमा चार जनाको मृत्यु भइसकेको छ । कतिपय संचार माध्यमहरुले भने मृत्यु हुनेहरुको संख्या चार भन्दा बढी भएको समाचार संप्रेषण गरेका छन् । तर यसको पुष्टि भने भएको छैन ।
नर्थ क्यारोलाइनाको विलमिङटनस्थित घरमा एउटा रुख ढल्दा एउटी आमा र उनकी एकजना बच्चाको मृत्यु भएको छ । ती बच्चाका बुवा भने घाइते भएका र उपचारका लागि अस्पताल पुयाइएको अधिकारीहरुले जनाएका छन् ।
अन्य दुई जनाको पनि अर्कै ठाउँमा मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टि गरेको समाचारमा जनाइएको छ ।
नर्थ क्यारोलाइनाका गभर्नर रोए कुपरले शुक्रवार साँझ आयोजित पत्रकार सम्मेलनमा अरु पनि कैयौंको मृत्युको खबरहरु आइरहे पनि पुष्टि हुन भने बाँकी रहेको जानकारी दिए ।
घटनास्थलमा खटिएका स्वास्थ्यकर्मी तथा उद्धारकर्ताहरुले मृत्यु आँधीकै कारणले भएको हो कि होइन भनी परीक्षण गरिरहेको पनि उनले बताए ।
मौसम अधिकारीहरुले हावाको वेग ११० किलोमिटर प्रतिघण्टा रहेको बताएका छन् । उनीहरुका अनुसार कतिपय ठाउँमा ठूलो वर्षासमेत भइरहेको छ।
आँधीका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ भने १७ लाखभन्दा धेरै मानिसहरूलाई आफ्नो ठाउँ छोडेर अन्यत्र जान स्थानीय सरकारले आह्वान गरेको छ । विस्थापित भएकाहरुका लागि १५७ ओटा आश्रयस्थलहरु बनाइएको छ ।
आँधी आएपछि सात लाख ६० हजार भन्दा बढी मानिसहरू विद्युत सेवाबाट बञ्चित भएको र सेवा सुचारु हुन केही दिन लाग्न सक्ने सरकारी अधिकारीहरुको भनाई छ । (रासस-एपी-एएफपी)






प्रतिक्रिया लेख्नुहोस्:-