बद्रि गौतम, न्युयोर्क
अमेरिकामा असाइलम गर्ने मुलुकहरुको सूचीमा नेपाल सातौं नम्बरमा रहेको पाइएको छ । अमेरिकाले सार्वजनिक गरेको सूचीमा तीन बर्ष देखी अमेरिकामा शरणार्थी बन्न चाहनेहरुको सूचीमा नेपालीहरु सातौं नम्बरमा रहेका हुन । यसअघि सन २०१५ मा शरणार्थी आवेदन दिने मुलुकहरुको सूचीमा नेपाल पाँचौ नम्बरमा थियो भने सन २०१४ मा चौथो नम्बरमा रहेको थियो । युएससीआइएसले सार्वजनिक गरेको बार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार अमेरिकापछिको दोस्रो आर्थिक शक्ति तथा दक्षिण एसीयाको शक्तिशाली मुलुक चीनका नागरिकहरु अमेरिकामा शरणार्थी आवेदन दिनेहरुमा पहिलो नम्बरमा देखिएका छन । त्यसै गरी नेपालको छिमेकी देश भारत अमेरिकामा शरणार्थी बन्न चाहनेहरुको सूचीमा पांचौ नम्बरमा छ । दक्षिण एसीयाकै बंगलादेश नवौं र पाकिस्तान सूचीको पन्ध्रौं नम्बरमा देखिएका छन । त्यस्तै संसारको अर्को शक्तिशाली मुलुक रसीया अमेरिकामा असाइलम गर्नेहरुको सूचीमा १९ औं नम्बरमा छ ।
असाइलम आवेदन स्वीकृत भन्दा अस्वीकृत प्रतिशत धेरै
सन २०१८ मा १३ हजार २ सय ४८ जनाको असाइलम आवेदन स्वीकृत भएको थियो जुन अघिल्लो बर्ष अर्थात सन २०१७ मा भन्दा झण्डै तीन हजारले धेरै हो । प्रतिवेदन अनुसार सन २०१७ मा १० हजार ६ सय ६३ जनाको असाइलम स्वीकृत भएको थियो । तर अस्वीकृत दरमा पनि पछिल्ला बर्षहरुमा निकै बृद्धि भएको देखिएको छ । सन २०१८ मा २६ हजार ६ सय ८९ असाइलम निवेदनहरु अस्वीकृत भएका थिए जुन अघिल्लो बर्ष भन्दा एक सय ९३ प्रतिशतले बृद्धि हो । बर्ष १७ मा १७ हजार ६ सय ४१ निवेदन अस्वीकृत भएको थियो । प्रतिवेदनले असाइलमका निवेदनमाथी छिटो फैसला भएका कारण स्वीकृत दरमा बृद्धि देखिएको हो भने अस्वीकृत दरमापनि बृद्धि देखिएको हो ।
असाइलम गर्नेहरु दुई सय ३८ प्रतिशतले बढे
प्रतिवेदन अनुसार सन २०१४ को तुलनामा अमेरिकामा शरण खोज्नेहरुको संख्यामा निकै बृद्धि भएको देखिएको छ । चार बर्षको अवधिमा शरणार्थीको संख्यामा दुई सय ३८ प्रतिशतले बढेको देखिएको छ । सन २०१४ मा ४७ हजार एक सय ३७ जनाले शरण मागेका थिए भने सन २०१८ मा एक लाख ५९ हजार चार सय ७३ जनाले शरणार्थीको आवेदन दिएका थिए ।
डोनल्ड ट्रम्प राष्ट्रपति भएपछि आप्रवासीप्रति कठोर नीति अबलम्बन गरेका कारण आप्रवासन तथा शरणार्थी सम्बन्धी फैसलाहरुपनि छिटो भएका छन जसमा अस्वीकृतहरुको संख्यामा निकै बृद्धि देखिएको छ । शरणार्थीहरुप्रति पनि ट्रम्प प्रशासन कठोर भएका कारण निर्णय छिटो गराउने र अस्वीकृतहरुको संख्यामा पनि बृद्धि भएको छ । यसले आगामी दिनमा असाइलमका निवेदनहरुमा निर्णय तत्कालै हुनेछ तर अस्वीकृत हुनेहरुको संख्यामा तिब्र बृद्धि हुने अनुमान गरिएको छ ।
-युएससीआइएसको प्रतिवेदनमा आधारित








प्रतिक्रिया लेख्नुहोस्:-