बद्रि गौतम, न्युयोर्क, दूरबिन नेपाल
चार जना घरबिहिनहरुको सामुहिक हत्या भएको एक हप्ता नबित्दै अमेरिकाको न्युयोर्कमा फेरी चार जनाको सामुहिक हत्या भएको छ । न्युयोर्कको ब्रुकलिनस्थित एक जुवा घरमा गोली हानाहान हुंदा चार जनाको मृत्यु भएको हो भने अन्य तीन जना गम्भिर घाइते भएका छन । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटना ब्रुकलिनको बाट्रेड फ्रेम टाउन हाउसको एक जुवाघरमा भएको प्रहरीले जनाएको छ । सो जुवा घर अवैध भएको बताइएको छ । स्थानीयवासीले पहिले पनि सो जुवाघरको बारेमा उजुरी गरेको बताइएको छ । घटना शनिवार विहान साडे ६ बजेको हाराहारीमा भएको थियो । गोली चल्दा सो जुवाघरभित्र कम्तीमा १५ जना व्यक्तिहरु पासा र तास खेलिरहेको प्रहरीले जनाएको छ । न्युयोर्क प्रहरीका गुप्तचर प्रमुख डरमोट शियाले गोली चल्नुको कारण अझै पत्ता लाग्न नसकेको पत्रकार सम्मेलनमा बताएका छन । शियाका अनुसार गोली जुवामा विवाद भएर हो वा डकैतीको उद्धेश्यले हो भन्ने बारेमा अनुसन्धान भइरहेको छ । घटनाको प्रारम्भिक अनुसन्धान भइरहेकोले गोली एकजना वा सो भन्दा धेरैले चलाएको भन्ने यकिन हुन सकेको छैन । मृत्यु हुनेहरुको परिचय खुलाइएको छैन भने उनी ३२ देखि ४९ बर्षका रहेको भनिएकोछ । प्रहरीले गोली हानाहानमा बचेका मानिसहरुसंग पुछताछ गरिरहेको छ भने घटनास्थलमा रहेका सीसीटीभी फुटेजको अध्ययन गरिरहेको छ । घटनास्थल प्रहरी कार्यालय भन्दा दुई ब्लक पर रहेको बताइएको छ ।
न्युयोर्कमा एक हप्तामा दोस्रो सामुहिक हत्या
ब्रुकलिनको गोलीकाण्ड एक हप्तामा न्युयोर्कमा भएको दोस्रो सामुहिक हत्या हो । गत अक्टोबर ५ तारिखमा २४ बर्षीय एक घर बिहिनले फलामको पाइपले सुतीरहेका चार अन्य घरबिहीनहरुको विभत्स हत्या गरेका थिए । सो घटना म्यानहटनको चाइना टाउनमा भएको थियो ।
पछिल्लो घटनाबारे न्युयोर्कका मेयर बिल डे ब्लाजियोले ट्वीट गर्दै बन्दुक हिंशा बढेकोले यसको रोकथामको लागि सबै एक हुनुपर्ने बताएका छन । उनले अब बन्दुकको नियन्त्रणको विकल्प नरहेको ट्वीट गरेका छन । सामुहिक हत्या र बन्दुकबाट हुने हिंशाको दर कम मानिएको न्युयोर्कमा यो बर्ष यस्ता घटनामा बृद्धि भएपछि धेरैको चासो र चिन्ता बढेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-