सानफ्रानसिस्को । अमेरिकन आइडलमा उपविजेता बन्न सफल नेपाली युवा गायक अर्थर गन उर्फ दिवश पोखरेलले शुक्रवार वे एरिया तताउदै छन् । सानफ्रानसिस्को बे एरियामा रहेको नेपाली समुदायमा सम्भवतः ठुलो लाइभ कन्सर्ट हुन सक्ने अनुमान आयोजकहरूले गरेका छन् । कार्यक्रम सानफ्रानसिस्कोको रोक्जयूल्को थिएटरमा हुँदै छ ।
‘प्रोजेक्ट इन्टरटेन्मेन्ट’ ले आयोजना गरेको लाइभ कार्यक्रम सफल बनाउन वे एरियाका नेपाली युवाहरू अहोरात्र खटिरहेका छन् । वे एरियामा नेपालीहरूले आयोजना गरेका कार्यक्रमहरूमा यो सबै भन्दा धेरै मानिसहरूको उपस्थितिमा सम्पन्न हुने उनीहरूले दाबी गरेका छन् ।
कार्यक्रममा स्थानीय नेपाली कलाकारहरूको समेत प्रस्तुति रहने छ । सो लाइभ कन्सर्टमा ८ सयभन्दा बढीको उपस्थिति रहने आयोजक मध्येका एक हरि ओझाले बताए । दूरबिनसँगको संक्षिप्त कुराकानीमा ओझाले भने “बुधवार सम्म करिब ६ सय टिकट विक्री भइसकेको छ । अन्तिम समयमा टिकट विक्रिदर बढ्छ । शुक्रवार सम्म ९ टिकट बिक्री हुने हाम्रो अनुमान छ ।” ओझाले क्यालिफोर्निया भन्दा बाहिरका राज्यबाट पनि लाइभ कन्सर्ट हेर्न नेपालीहरूले टिकट काटेको बताए । ठुलो सङ्ख्यामा मानिसहरू उपस्थित हुने लाइभ कार्यक्रमलाई व्यवस्थित गराउन आयोजकहरूलाई चुनौती हुने गर्छ । ओझाले भने “उपस्थित हुने मानिसहरूको संख्यालाई ध्यानमा राखेर कार्यक्रमलाई व्यवस्थित र मर्यादित बनाउन सबै तयारी गरेका छौँ ।”
कार्यक्रममा २१ भन्दा माथि उमेर समूहलाई मात्र प्रवेशको अनुमति दिइएको छ । आयोजकहरूले यसलाई अमेरिकी कानुन बमोजिम व्यवस्थित गरेको बताएका छन् । गायक अर्थर गनले अमेरिकी आइडलमा गाएका अङ्ग्रेजी गीतहरू एवं नेपालका चर्चित आधुनिक गीतहरूमा आफ्नो प्रस्तुति दिनेछन् । केही वर्ष अघि सानफ्रानसिस्को सहरको ‘अर्फियम थिएटर’ मा नेपथ्यको लाइभ कन्सर्ट मा ५ सयभन्दा बढी सहभागी थिए । अर्थर गनको यस कन्सर्टमा त्यो भन्दा बढी मानिसहरूको प्रत्यक्ष उपस्थितिमा सम्पन्न हुने आयोजकहरूले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-