अमेरिका, अक्टोवर ३०/ अमेरिकी संविधानमा भएको १४ औं संशोधन पछि संयुक्त राज्य अमेरिकामा जन्मेका वा अंगिकृत नागरिकता लिएका सबै व्यक्ति अमेरिकी नागरिक हुने भन्ने संवैधानिक व्यवस्था परिवर्तन हुने संकेत राष्ट्रपति ट्रम्पले दिएका छन्। राष्ट्रपततीय निर्वाचनका बेला देखि नै आप्रवासीहरुप्रति निकै अनुदार अभिव्यक्ति दिंदै आएका राष्ट्रपति ट्रम्पले मंगलबार ‘एक्जिअस अन एचबिओ’ कार्यक्रमका लागि दिएको अन्तरवार्तामा उक्त संकेत दिएका हुन्। संवैधानिक अधिकारलाई राष्ट्रपतिको कार्यकारी आदेशबाट नै अन्त्य गर्न चाहेको राष्ट्रपति ट्रम्पले बताएका छन्। “गैरकानूनीरुपमा अमेरिका बसेका वा भिजिटर भिसामा आएकाबरुबाट जन्मेका बच्चाहरु पनि जन्मका आधारमा अमेरिकी नागरिक हुने व्यवस्था पटक्कै राम्रो होइन”- राष्ट्रपतिले भनेका छन्।
करीब १५० बर्ष अघि भएको अमेरिकी संविधानको संशोधनबाट स्थापित कानूनी व्यवस्थालाई निकट भविष्यमा नै अन्त्य गर्न चाहेको बताएका ट्रम्पले कहिलेसम्म सो व्यवस्था अन्त्यको घोषणा गर्ने हो भन्ने समय तालिका सार्वजनिक गरेका छैनन्।
आगामी नोभेम्वर ६ मा हुन गैरहेको मध्यावधि चुनाव अघि राष्ट्रपति ट्रम्पले अमेरिकी भूमिमा रहेका करीब एक करोड २० लाख कागजपत्र बिहीन आप्रवासीहरुलाई प्रत्यक्ष असरपर्ने निकै बिवादित विषय उठान गरेका छन्। कन्जरभेटिभहरुको भोट बढी आकर्षण गर्नका लागि उनले यस किसिमको राजनीतिक विषय चुनाव अघि उठाएको हुन सक्ने अमेरिकी समाचारहरुमा जनाइएको छ। तर राष्ट्रपतिले गर्ने त्यस्तो आदेशलाई अदालतमा चुनौति दिइनसक्ने संभावना पनि रहेको अमेरिकी समाचारहरुमा जनाइएको छ।







प्रतिक्रिया लेख्नुहोस्:-