दूरवीन नेपाल
सामाजिक सञ्जाल ट्विटरले राजनीतिक विज्ञापनमा विश्वव्यापी प्रतिबन्ध लगाउने घोषणा गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीले ट्वीट गर्दै इन्टरनेटबाट गरिने विज्ञापन व्यापारिक विज्ञापनदाताहरूका लागि अविश्वसनीय रूपमा शक्तिशाली र निकै प्रभावकारी भए पनि त्यसले राजनीतिमा ठूलो जोखिम निम्त्याउने उल्लेख गरेका छन । ट्विटरको प्रतिद्वन्द्वी रहेको अर्को सामाजिक सञ्जाल फेसबुकले हालै राजनीतिक विज्ञापनमाथि प्रतिबन्ध लगाउने कुराको खण्डन गरेको थियो । ट्विटरले राजनीतिक सन्देशहरूको पहुँच खरिद गरेर नभई कमाएर हुनुपर्ने बताएको छ । ट्विटरको यो घोषणासंगै अमेरिकामा डेमोक्रेटहरुले खुशी व्यक्त गरेका छन भने रिपब्लिकनहरुले भने आलोचना गरेका छन । डेमोक्रयाट उम्मेदवार जो बाइडेनको प्रचार अभियानका प्रवक्ता बिल रुसोले ट्विटरको प्रतिबन्धप्रति खुशी व्यक्त गर्दै, विज्ञापनका डलर र हाम्रो लोकतन्त्रको निष्ठामध्ये एउटा रोज्नुपर्ने हुन्छ तब पैसाले नजित्ने कुरा उत्साहजनक हुन्छ भन्ने अभिव्यक्ति दिएका छन । सन् २०२० को अमेरिकी राष्ट्रपतीय चुनावको सन्दर्भमा विभिन्न राजनीतिक खेमाहरूबीच पछिल्लो समाचारबारे फरक मत देखिएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पका राजनीतिक प्रचार अभियानका व्यवस्थापक ब्राड पास्कलले ट्रम्प र कन्जरभेटिभहरूलाई चुप पार्नका निम्ति विज्ञापनमाथिको प्रतिबन्ध अर्को प्रयास’ भएको प्रतिक्रिया दिएका छन । ट्विटरले लगाएको प्रतिबन्ध नोभेम्बर २२ तारिखदेखि लागु हुनेछ र त्यसबारे पूर्ण विवरण नोभेम्बर १५ तारिखमा सार्वजनिक गरिनेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-