दूरबिन नेपाल, अमेरिका
अन्ततः पेन्सीलभेनीयामा जित दर्ता गरेपछि पूर्व उपराष्ट्रपति जोसेफ रोबिनेट बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति हुने निश्चित भएको छ । बाइडेनले राष्ट्रपति डोनल्ड ट्रम्पलाई पराजित गरेका हुन । यद्यपि अझै केही राज्यहरुमा मतगणना जारी छ । नोभेम्बर ३ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा शुरु देखिनै अग्रता लिएका बाइडेनले अन्ततः अमेरिकाको ऐतिहासिक राज्य पेन्सिलभेनीयामा जितेको घोषणा भएपछि ह्वाइट हाउसको ढोका खुलेको हो । अमेरिकी समाचार एजेन्सीहरुका अनुसार बाइडेनले राष्ट्रपतिमा चुनिन आवस्यक इलेक्ट्रोल मत प्राप्त गरिसकेका छन । अमेरिकाको कानुन अनुसार राष्ट्रपति चुनिन ५ सय ३८ मा २ सय ७० इलेक्ट्रोल मत प्राप्त गर्नुपर्ने हुन्छ । अर्को तर्फ बाइडेनका निकटतम प्रतिद्धन्दी तथा वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले २ सय १४ इलेक्ट्रोल मत पाएका छन । पछिल्लो अवस्थामा ट्रम्प नर्थ क्यारोलाइना र अलास्कामा मात्र बाइडेन भन्दा अघि छन । जुन राष्ट्रपतिमा चुनिनको लागि प्रर्याप्त छैन । अर्कोतर्फ आवस्यक इलेक्ट्रोल मत पाएका पूर्व उपराष्ट्रपति बाइडेनले एरिजोना, जर्जियामा समेत अग्रता लिइरहेका छन । कतिपय समाचार एजेन्सीहरुले एरिजोनामा बाइडेनले जितिसकेको समाचार प्रशारण तथा प्रकाशन गरिसकेपनि आधिकारीक घोषणा भने भएको छैन । एरिजोना बाहेक बाइडेनले अहिलेसम्म दुई सय ७९ इलेक्ट्रोल मत प्राप्त गरेका छन । त्यसैगरि अहिलेसम्म बाइडेनले ५० दशमलव ६ शुन्य अर्थात, ७ करोड ५२ लाख ६९ हजार लोकप्रीय मत प्राप्त गरिसकेका छन । जुन अहिलेसम्मकै किर्तीमान रहेको बताइएको छ । त्यसैगरि डोनल्ड ट्रम्पले ४७ दशमलव ७३ प्रतिशत अर्थात सात करोड नौ लाख ९२ हजार लोकप्रीय मत प्राप्त गरेका छन । बाइडेनले कतिपय रेड स्टेट अर्थात रिपव्लीकनहरुको बाहुल्यता रहेका राज्यहरुमा समेत शानदार जित हात पारेका छन । अब आगामी बर्षको जनवरी २९ मा ७७ बर्षीय बाइेडन ह्वाइट हाउसमा छिर्नेछन ।
कमला ह्यारीस इतिहास रच्दै पहिलो महिला उपराष्ट्रपति
जो बाइडेन र कमला ह्यारीस राष्ट्रपति र उपराष्ट्रपतिमा चुनिएपछि अमेरिकाले पहिलो महिला उपराष्ट्रपति पाएको छ । अमेरिकी इतिहासमा महिलाले मतदानको अधिकार पाएको एक सय बर्षपछि पहिलो पटक महिला उपराष्ट्रपति पाएको हो । अमेरिकी इतिहासमा कमला ह्यारीस महिला उपराष्ट्रपति त भइन नै पहिलो दक्षिण एसियाली तथा अफ्रिकी मुलकी महिला समेत हुन । प्रखर वक्ताको रुपमा ख्याती कमाएकी ५६ बर्षीया ह्यारीस क्यालीफोर्नियाबाट सिनेटर हुन । सन २०२० को डेमोक्रयाटीक पार्टीको आन्तरिक निर्वाचनदेखी नै आफ्नो प्रभाव पार्न सफल ह्यारीसले अमेरिकी राजनीतिको शसक्त पात्रको रुपम हेरिएको छ ।
मत परिणाम ट्रम्पले नस्वीकार्ने ?
जो बाइडेनसंग पराजित भएपछि राष्ट्रपति डोनल्ड ट्रम्पले सहजै पराजय नस्वीकार्ने संकेत गरेका छन । मतगणनाप्रति गुनासो गर्दैआएका ट्रम्ले पेन्सिलभेनियामा पराजित भएपछि ट्वीट गर्दै बाइडेनले निर्वाचनमा छल गरेको र त्यसको लागि अदालत जाने चेतावनी दिएका छन । ट्रम्पले बाइडेनलाई यति सजिलै जित्न नदिने भन्दै निर्वाचन परिणामलाई नै चुनौती दिएका हुन । एकातिर बाइडेनका समर्थक सडकमा खुशी मनाइरहेका छन भने ट्रम्पका समर्थकहरु निर्वाचन परिणाम नमान्ने भन्दै विरोध गरिरहेका छन । यसलेपनि ट्रम्पले सहजै सत्ता हस्तान्तरण नगर्ने संकेत देखिन्छ । तर रिपव्लिकन पार्टीकै कैयन नेताहरुले निर्वाचन परिणाम स्वीकार्नुपर्ने बताइसकेका छन ।
प्रतिक्रिया लेख्नुहोस्:-