दूरबिन नेपाल, न्युयोर्क
अमेरिकाको न्यु जर्सीको एक अस्पतालले गलत व्यक्तिलाई मिर्गौला प्रत्यारोपण गरेको खुलेको छ । एक व्यक्तिले पाउनुपर्ने मिर्गौला अर्कै व्यक्तिलाई प्रत्यारोपण गरिएको छ । न्यु जर्सीको भर्थुवा अवर लेडी अफ लुर्डेस अस्पतालमा सो घटना भएको बताइएको छ । अस्पतालका अनुसार मिर्गौला प्रत्यारोपण गर्नुपर्ने व्यक्ति र भुलवस प्रत्यारोपण गरिएका व्यक्तिको नाम र उमेर समान भएकोले सो गम्भिर त्रुटी हुन गएको हो । दुवै व्यक्ति ५२ बर्षका महिलाहरु भएको र उनीहरुको नाम उमेर समान भएको अस्पतालको दावी छ । तर अस्पतालका अनुसार मिर्गौला प्रत्यारोपणको लाइनमा दुवै जना थिए । प्रत्यारोपणपछि पछि दुवै बिरामीको स्वास्थ्य अवस्था सामान्य भएको अस्पतालले जनाएको छ । वास्तविक बिरामीलाई ६ दिनपछिमात्र मिर्गाैला प्रत्यारोपण गरिएको जनाइएको छ । गलत व्यक्तिलाई मिर्गौला प्रत्यारोपण भएको जानकारी अस्पतालका कर्मचारीले भोलीपल्टमात्र थाहा पाएका थिए । प्रत्यारोपण गरिएका दुवै बिरामीको अवस्था सामान्य भइरहेको अस्पतालले दावी गरेपनि भुलवस मिर्गौला प्रत्यारोपण गरिएकी महिलाको बारेमा भने बिस्तृत जानकारी अस्पतालले दिएको छैन ।
अस्पतालका कार्यकारी उपाध्यक्ष रेजिनाल्ड ब्लेबरले यस्ता गम्भीर त्रुटीहरु दुर्लभ भएपनि यस्ता गल्ती हुन नदिन अस्पताले अत्यन्तै संवेदनशिलताका साथ काम गरिरहेको दावी गरेका छन । ४० बर्षको इतिहाससमा पहिलो पटक यस्तो घटना भएको उनले बताए । सो अस्पतालले सन १९७४ देखि मानव अंग प्रत्यारोपणको काम गर्दै आएको छ ।
अस्पतालको यो गम्भीर त्रुटीका बारेमा अर्गन प्रोक्योरमेंट एण्ड ट्रान्सप्लान्ट नेटवर्क र न्यु जर्सी डिपार्टमेन्ट हेल्थले छानविन गरिरहेका छन ।
प्रतिक्रिया लेख्नुहोस्:-