काठमाडौँ, पुस ११ : प्रमुख प्रतिपक्ष दल नेपाली काङग्रेका सभापति शेरबहादुर देउवाले मुलुकमा शान्तिसुरक्षा र न्याय दिलाउने सवालमा सरकार असफल भएको बताएका छन् ।
प्रतिनिधिसभाको बुधवारकाे बैठकमा देउवाले शान्तिसुरक्षा जताततै खल्बलिएकोे अवस्थाले मुलुकमा सरकार नरहेको अनुभूत भइरहेको आरोप लगाए । सभापति देउवाले भने, “शान्तिसुरक्षाको स्थिति के छ, सबैलाई थाहा छ, देशभर हत्या र बलत्कारको घटना भएका छन्, दोषीलाई लुकाउन खोजिएको छ, होइन भन्ने हत्यारा किन पत्ता लगाउन सकिएको छैन, कुनै व्यक्ति विशेषलाई जबर्जस्ती फसाउने काम भएको छ ।” उनले निर्मलाकाे हत्यारा पत्ता लगाउन माग गरे ।
सङ्घीयता कार्यान्वयनसम्बन्धी कानून निर्माणमा सरकारले चासो नदिएकाले सङ्घीयतासम्बन्धी कुनै कानून बन्न नसकेको बताउँदै उनले भने , “सरकारले दलित, मधेशी, आदिवासी जनजातिलाई विश्वासमा लिन सकेको छैन, मधेशको मुद्दालाई सम्बोधन गर्ने पाटोमा सरकार उदासीन छ ।”
डा गोविन्द केसी लगायतसँग सम्झौता गर्ने कार्यान्वयन नगर्ने कुराले सरकार संविधान पालना गर्दैनन् भन्ने स्पष्ट भइसकेको जनाउँदै सभापति देउवाले भने , “सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउन सरकारको तत्परता छैन ।”
विवादित संस्थाले आयोजना गरेको कार्यक्रमलाई सरकारले सघाएको आरोप लगाउँदै उनले भने , “सरकार र राज्यको कुनै धर्म हुन्छ ? त्यो घटनाले सरकार कता जाँदैछ भन्ने स्पष्ट भएको छ, आफ्नो सरकारको पालामा ल्याइएको सामाजिक सुरक्षाको कार्यक्रमलाई मैले ल्याएको भन्न मिल्छ ?”
त्यसैगरी देउवाले आफ्नो नेतृत्वको सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले पोलपोलमा पोस्टर टाँसेर आफूले ल्याएको भनी प्रचार गरेकोमा व्यङ्ग्य गरे। उनले भने, “मेरो नेतृत्वमा संसदबाट पारित भएको सामाजिक सुरक्षा कार्यक्रम आफ्नै कार्यक्रम भनेर भड्किलो प्रचार गरे, ठाउँठाउँमा पोस्टर टाँसेर, आफैले गर्नु नि। अर्काले गरेको पनि मैले गर्या किन भन्ने, हद हुन्छ नि।”
प्रधानमन्त्री नै जनतालाई भ्रमित पार्ने काममा लागेको आरोप लगाउँदै देउवाले थपे, “के भएको हो? अर्काले गर्या काम आफैले गरेको देख्ने, यसलाई के भन्ने? देशको प्रधानमन्त्री जनतालाई भ्रममा राख्ने के हुन्छ देशको हालत, त्यो पनि प्रधानमन्त्रीले लौ, प्रधानमन्त्रीले यसरी ठग्न पाइन्छ? अरुले गर्या पनि आफै गरेको भन्ने, लौ सबै तपाईले गरेको हो मान्छौ, काम गर्नुस न ।”







प्रतिक्रिया लेख्नुहोस्:-