दूरबिन नेपाल, न्युयोर्क
नेपाल मुक्तक प्रतिष्ठान अमेरिका शाखाले न्युयोर्कमा मुक्तक मेला सम्पन्न गरेको छ । न्युयोर्कको क्वीन्स लाइब्रेरीमा भएको कार्यक्रममा श्रष्टाहरुले मुक्तक वाचन गरेका थिए भने उपश्थित अन्य साहित्यानुरागीहरुले मुक्तकको मजा लिएका थिए । कार्यक्रमका सभापति तथा नेपाल मुक्तक प्रतिष्ठान अमेरिका शाखाका अध्यक्ष एवं साहित्यकार आनन्द श्रेष्ठले प्रवासमा रहेपनि आफ्नो भाषा तथा साहित्यको जगेर्नाको लागि नै मुक्तक प्रतिष्ठानको स्थापना भएको बताएका थिए । उनले व्यस्त समयका बावजुद साहित्यको जमघटमा उपश्थित सबैप्रति आभार समेत व्यक्त गरेका थिए ।
त्यसैगरि न्युयोर्कस्थित नेपाली महावाणिज्य दुत पुष्पराज भट्टराईले आफ्नो भाषा तथा साहित्यको जगेर्नामा मुक्तक मेला जस्ता कार्यक्रमहरु प्रभावकारी हुने तथा विदेशमा रहने नेपालीहरु श्रृजनशिल कार्यमा लाग्नुपर्नेमा जोड दिएका थिए । महावाणिज्यदुत भट्टराईले अन्य मुलुकका नेपाली भाषीहरुलाईपनि समेटन सकेमा व्यापकता अझ बढ्ने बताए ।
कार्यक्रममा मदन पुरस्कार विजेता साहित्यकार निलम कार्की निहारिकाले परस्कार पाउनु आफैमा हौसला भएपनि पुरस्कार नपाएका श्रृजनाहरुपनि उत्कृष्ट हुने जिकिर गर्दै विदेशमा रहेपनि आफ्नो भाषा र साहित्यमा कलम चलाउनुपर्ने र नेपाली साहित्यको जगेर्नामा लागिरहनुपर्नेमा जोड दिइन । साहित्यकार कार्कीले १६ बर्षको उमेरमा लेखेको मुक्तकपनि बाचन गरेकी थिइन । त्यसैगरी बोष्टनबासी साहित्यकार गोवर्धन पूजाले डायस्पोरामा बसेर नेपाली साहित्यको जगेर्नामा लागिरहेको मुक्तक प्रतिष्ठानप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्कका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान पनि गरिएको थियो । न्युयोर्कका नेपाली महावाणिज्य दुत पुष्पराज भट्टराईले दोसल्ला र प्रशंसापत्रले अनेसास न्युयोर्कका पदाधिकारीलाई सम्मान गरेका थिए । यसैगरि अन्तर्राष्ट्रिय साहित्थ्य सुमाज बोर्ड अफ ट्रष्टीका अध्यक्ष गीता खत्री, कोषध्यक्ष विकाश बिष्ट तथा मदन पुरस्कार विजेता साहित्यकार निलम कार्की निहारिका लगायतपनि सम्मानित भएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-