अमेरिका १७ जुन
विदेशमा बसोबास गर्ने नेपालीहरू प्रति नेपाल सरकारका मन्त्री लालबाबु पण्डितले गर्दै आएको नकारात्मक प्रचार र गतिविधि आपत्तिजनक भएको भन्दै नेपाली जनसम्पर्क समितिले नेपाल सरकारलाई ज्ञापन पत्र पठाएको छ । एनआरएनको विज्ञ भेलामा सहभागी हुन अमेरिका स्थित सानफ्रानसिस्को आइपुगेका पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई जनसम्पर्क समितिका पदाधिकारी र सदस्यहरूले शनिवार ज्ञापन पत्र बुझाएका हुन् ।
“एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मूल नारा लिएर विश्वभर छरिएर बसिरहेका नेपालीलाई नेपालको संवृद्धिका लागि एकजुट गराउँदै हिँडिरहेका एनअनरएन लगायतका सङ्घ संस्थाको अभियानलालाई मन्त्री पण्डितका अभिव्यक्तिले निरुत्साहित गरेको ज्ञापन पत्रमा उल्लेख छ । विदेशमा पसिना बगाएर आर्जन गरेको पैसा नेपाल नजाने हो भने नेपालको अर्थतन्त्र धराशायी हुने अवस्थाको सानमान्यज्ञान सम्म मन्त्रीमा नहुनु दुखद भएको उनीहरूले मन्त्री अधिकारीलाई बताएका छन् ।
ज्ञापन पत्र बुझाउँदै जनसम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष धनन्जय नरसिंह केसीले सस्तो लोकप्रियताका लागि मन्त्री पण्डितले विदेशमा बस्ने नेपालीलाई छेडिछाड गर्ने र होच्याउने क्रम रोक्नु पर्ने बताए । आफ्नो क्याबिनेटमा रहेका मन्त्री पण्डितले दिएका छुद्र अभिव्यक्ति प्रति प्रधानमन्त्री केपी ओलीको मौनतालाई विदेशमा बस्ने नेपालीहरूले अर्थपूर्ण रूपमा लिएको जनसंपर्कका पूर्व संयोजक विष्णु सुवेदीले बताए ।
ज्ञापन पत्र बुझ्नु केही समय अगाडि एनआरएनको विज्ञ भेलालाई सम्बोधन गर्दै पर्यटन मन्त्री रविन्द्र अधिकारीले मन्त्री पण्डितको भनाइलाई सरकारको आधिकारिक धारणाको रूपमा नबुझ्न विदेशमा रहने नेपालीहरूसँग आग्रह गरेका थिए । ज्ञापन पत्र बुझ्दै मन्त्री अधिकारीले विदेशमा बस्ने नेपालीको भावना र चाहानालाई आफूले प्रधानमन्त्री समक्ष पुर्याउने आश्वासन दिएका छन् ।
ज्ञापन पत्रमा जन्म कैदको सजाय भोगिरहेका बालकृष्ण ढुङ्गेललाई सर्वोच्च अदालतको निर्णयलाई कुल्चिएर जेल सजाय मुक्त गर्ने सरकारको निर्णय प्रति आपत्ति जनाइएको छ । विधिको शासन, मानव अधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रह गरिएको छ ।
जनसम्पर्क समितिका केन्द्रीय नेताहरू केशव बराल, प्रमोद सिटौला, चन्द्र धिताल क्यालिफोर्निया च्याप्टरका अध्यक्ष पूर्ण शेर्पा, उपाध्यक्ष नारायण खनाल , सचिव हरि भट्ट, पूर्व सचिव प्रतीक पाण्डे लगायत जनसंपर्कका थुप्रै पदाधिकारीहरू मन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रममा सहभागी भएका थिए ।










प्रतिक्रिया लेख्नुहोस्:-