काठमाडौँ, २३ मङ्सिर / ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपालले यस वर्षको ‘राष्ट्रिय सदाचार सम्मान– २०७५’ सिराहाका ९५ वर्षीय समाजसेवी चिकित्सक डा गौरीशङ्करलाल दासलाई प्रदान गरेको छ ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा उहाँलाई पूर्व सभामुख दमननाथ ढुङ्गानाले आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँलाई सो सम्मान प्रदान गरिएको हो । गत वर्ष सो सम्मान वरिष्ठ चिकित्सक, हाडजोर्नी विशेषज्ञ डा गोविन्द केसीलाई प्रदान गरिएको थियो । पहिलो सम्मान सन्त नेता पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराइलाई र दोस्रो इतिहासविद् सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो ।
टिआइ नेपालका उपाध्यक्ष सविता भण्डारी बरालको संयोजकत्वमा गठित छनोट समितिले दासलाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको थियो । समितिमा अन्य सदस्यमा संस्थाका पूर्वअध्यक्ष भरतबहादुर थापा र पत्रकार हरिबहादुर थापा हुनुहुन्थ्यो । संस्थाका अध्यक्ष खेमराज रेग्मीले सदाचार र भ्रष्टाचारविरुद्ध अनवरत उभिनुभएकाले दासलाई यस वर्ष उक्त सम्मान गरिएको जानकारी दिनुभयो । दास विसं १९८१ मा सिराहामा जन्मनुभएको हो । उहाँले २००९ सालदेखि ३०३५ सम्म वीर अस्पतालमा मेडिकल अधिकृत, २०३५ सालदेखि २०४७ सम्म लोकसेवा आयोग तथा राष्ट्रिय मानव अधिकार आयोगको सदस्य भएर काम गर्नुभएको थियो । सुशासन, जवाफदेहीता र भ्रष्टाचारविरुद्धको अभियानमा यस संस्थाले हालसम्म मुलुकको ३७ जिल्लामा काम गर्दै आएको छ ।
पूर्वसभामुख दमननाथ ढुङ्गानाले मुलुकको सबै क्षेत्रको विकासमा भ्रष्टाचार बाधक भएको बताउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले भ्रष्टाचारीलाई आयोगले खोजीखोजी न्यायलयसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकूलपति केदारभक्त माथेमाले गाउँपालिकादेखि न्यायपालिकासम्मका भ्रष्टाचारले जनता आजित भएको बताउनुभयो ।रासस







प्रतिक्रिया लेख्नुहोस्:-