ह्युस्टन (अमेरिका), डिसेम्वर ९/ ह्युस्टनको नेपाली समुदायकाबीच खासै सक्रिय नदेखिएको एनआरएनए अमेरिका अचेल सतहमा देखिन थालेको पाइन्छ। स्टेट च्याप्टरहरुको गठन र टेक्सस च्याप्टरको वर्तमान कार्यसमितिमा ह्युस्टनको प्रतिनिधिका रुपमा उपाध्यक्ष द्रोण गौतम र बोर्ड अफ डिरेक्टर जगदिश काफ्ले संलग्न भएपछि एनआरएनएका गतिविधीहरु ह्युस्टनमा पनि हुन थालेको हो। यसवर्षको शुरुमै एनआरएनए अमेरिकाको फिजिकल बैठक ह्युस्टनमा सम्पन्न भएको थियो। राष्ट्रिय समन्वय परिषदका अधिकाँस पदाधिकारीहरुको प्रत्यक्ष सहभागिता रहेको ह्युस्टन बैठकपश्चात ह्युस्टनमा एनआरएनएको गतिविधिहरु टेक्सस च्याप्टर मार्फत बढ्न थालेको छ।
यसै शिलसिलामा टेक्सस च्याप्टरका उपाध्यक्ष द्रोण गौतमको संयोजनमा हिजो ह्युस्टनको आशियाना रेष्टुरेण्टमा आयोजित सामुदायिक अन्तरक्रिया एवं सम्मान कार्यक्रममा बोल्ने अधिकाँस बक्ताहरुले एनआरएनएलाई सबै नेपालीहरुको साझा संस्थाको रुपमा विकसित गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा एनआरएनए अमेरिका र टेक्सस च्याप्टरले गरेका गतिविधिहरुका बारेमा समुदायका अगुवाहरुले खुलेरै प्रतिक्रियाहरु जनाए। एनआरएनएको २०१६ मा सम्पन्न चुनावदेखि मात्र हुस्टनमा सक्रिय देखिएको एनआरएनएलाई स्थानीय संस्थाहरुसंगको सहकार्यमा नेपाली समुदायको प्राथमिकताका काम गर्न अन्तरक्रियामा बोल्ने सबै बक्ताहरुले सुझाएका थिए।
अन्तरक्रियामा सहभागी एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष सुनिल शाह, उपाध्यक्ष एवं हेल्प-डेस्क संयोजक उमा थापा, बोर्ड अफ डिरेक्टर अर्जुन बन्जाडे, प्रवक्ता बिनोद तिवारी, पूर्व उपाध्यक्ष राम सि पोखरेल, डालास एभरेष्ट लायन्स क्लबका अध्यक्ष एवं एनआरएनए अमेरिकाको केन्द्रीय हेल्पडेस्क समितिका सदस्य थलराज पन्त लगाएतकाले मन्तव्यका क्रममा आफ्नो उम्मेदवारीका सम्वन्धमा कुनै खुलासा नगरेपनि एनआरएनका गतिविधिहरु नेपाली समुदायका चासोहरु सम्वोधन गर्न सक्षम हुनुपर्नेमा जोड दिएका थिए।
अनौपचारिक कुराकानीहरुमा वर्तमान कार्यसमितिका धेरैजनाले अध्यक्ष पदको आकांक्षा व्यक्त गरिरहेका छन्। केही वर्तमान र पूर्व पदाधिकारीहरु सहमतिमा नेतृत्व चुनिने माहौल बनेमा आफू अध्यक्षको लागि तैयार रहेको बताउन थालेका छन्। नेतृत्वमा जान इच्छुकहरु नेपाली समुदायका कार्यक्रमहरुमा सकेसम्म उपस्थित हुने र समुदायका अगुवाहरुसंग सम्वादमा रहन शुरु गरिसकेका छन्।
आगामी बर्षको जुन-जुलाईसम्म नयाँ कार्यसमितिको चुनाव हुने निश्चित छ। त्यसैले टेक्सस च्याप्टरले आयोजना गरेको सामुदायिक अन्तरक्रियाले नेतृत्वका आकाँक्षीहरुलाई आफ्नो बिचार ह्युस्टनका नेपाली समुदायकाबीच सम्प्रेषण गर्ने मौका समेत दिएको छ। व्यक्तिगत कुराकानी र नजिकका व्यक्तिहरुबीच हुने भेटघाट तथा कोठे बैठकहरुमा एनआरएनए अमेरिकाको आगामी नेतृत्व गर्न तम्सनेहरुको लामै लिष्ट बनिसकेको छ।
एनआरएनए चुनाव आएपछि मात्र सक्रिय हुन नहुने
एनआरएनए अमेरिकाले नेपाली समुदायका लागि कस्तो काम गर्नुपर्छ भन्ने सन्दर्भमा ह्युस्टनको नेपाली समुदायका तर्फबाट नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच) का अध्यक्ष विष्णु नेपाल, अन्तराष्ट्रिय साहित्य समाज, ह्युस्टन च्याप्टरका अध्यक्ष शेष शर्मा, नेप्लिज हेरिटेज यूनियन (एनएचयू) का अध्यक्ष चण्डी भण्डारी, क्रियटिभ नेपाली सोसाइटी (सिएनएस) का अध्यक्ष गंगा शर्मा र गुल्मी समाजका अध्यक्ष भिष्म मरासिनीले आ-आफ्नो सुझाव दिएका थिए। “समुदायकाबीच जाने र समुदायका लागि काम गरे मात्र सबै गैरआवासीय नेपालीहरुले एनआरएनएलाई आफ्नै संस्था सम्झनेछन्”, उनीहरुको सुझाव थियो। ह्युस्टनमा एनआरएनको निकै कमजोर उपस्थिति रहेकोले राम्रा कामहरु गरेर सदस्यता विस्तार अभियान संचालन गर्न सकिने सुझाव पनि दिइएको थियो। “एनआरएनए चुनाव आएपछि सक्रिय हुने र चुनाव पछि सेलाउने हुनु भएन, गैरआवासीय नेपालीहरुले आवश्यक परेको बेला एनआरएनएलाई आफ्नो सहयोगीको रुपमा पाए मात्र उनीहरु एनआरएनएप्रति आकर्षित हुन्छन् र सदस्यता पनि लिन्छन्”, ह्युस्टनका नेपालीहरुको साझा सुझाव थियो।
कार्यक्रममा सहभागीहरुका जिज्ञासा र सुझावहरुका बारेमा केन्द्रित आफ्नो मन्तव्य राख्दै एनआरएनए अमेरिकाको वरिष्ठ उपाध्यक्ष सुनिल शाहले भने- “एनआरएनए सबै नेपालीहरुको साझा संस्था हो, यो कुनै स्थानीय संस्थाको प्रतिस्पर्धी होइन। यसले स्थानीय संस्थासंग मिलेर वर्तमान नेतृत्वले चुनावताका गरेको प्रतिबद्धताहरुलाई पुरा गर्ने कामहरु गरिरहेको छ। एनआरएनए अमेरिकामा यस अघि देखिने गरेको सदस्यता सम्वन्धि बिवाद निकै परिस्कृत र सुरक्षित ढंगबाट मेरै नेतृत्वमा बनाइएको नयाँ वेबसाइटको (www.nrnusa.org) संचालन पश्चात संधैको लागि समाप्त हुने अवस्थामा पुगेको छ।” बरिष्ठ उपाध्यक्ष शाहले प्रष्ट्याए- एनआरएनए अमेरिकाको सदस्य बन्न अब सम्वन्धित व्यक्तिको फोटो, ड्राइभिंग लाइसेन्स, ग्रिन कार्ड वा अमेरिकी नागरिकताको प्रतिलिपी अपलोड नगरी हुँदैन।’ एउटा इमेल आइडी र फोन नम्वर एक सदस्यको लागि मात्र प्रयोग गर्न पाइने प्रवन्ध गरिएकाले सदस्यता सम्वन्धि बिवाद अब नआउने शाहको विश्वास छ।
अन्तरक्रियामा डिसी नेपालका संचालक संचारकर्मी पर्शुराम भण्डारी, ब्लड डोनर्स एशोसियसन अफ अमेरिका टेक्ससका शिव काफ्ले, एनआरएनए अमेरिकाद्धारा गठित टास्क फोर्सका सदस्य इन्जिनियर सतिश त्रिपाठीले पनि एनआरएनए अमेरिकाका गतिविधिहरु बारे सुझाव प्रस्तुत गरेका थिए।
पोखरेलद्धारा ह्युस्टनको नेपाली मन्दिरलाई सहयोग
एनआरएनए अमेरिकाका पूर्व उपाध्यक्ष एवं ड्यालसका समाजसेवी राम सी पोख्रेलले एनआरएनएको नेतृत्व र काम-कार्बाहीहरु नेपाली राजनीतिबाट प्रभावित हुन नहुनेमा जोड दिए। एनआरएनएले नेपाली भाषा र संस्कृतिको जगेर्ना हुने खालका कामहरुमा समेत सक्रियता देखाउनु पर्ने बताए। “पहिलो पुस्ताका नेपालीहरुले आफ्ना बावु-नानीहरुलाई नेपाली भाषा संस्कृतिका बारेमा सिकाए मात्र प्रवासमा हाम्रो भाषा-संस्कृति जोगिने हो, नत्र यो धराशायी हुन्छ।”, पोखरेलले भने। नेपालीपन झल्कने सबैखाले सामुदायिक गतिबिधि आफूलाई प्रिय लाग्ने बताएका पोखरेलले ह्युस्टनको नेपाली समुदायले गतबर्ष स्थापना गरेको पशुपति मन्दिर एवं हिमालय सामुदायिक केन्द्रलाई दुईहजार पाँच सय डलर सहयोग गर्ने घोषणा गर्दा ह्युस्टनको नेपाली समुदायले निकै लामो तालीको गड्गडाहटले पोखरेलको स्वागत गरेका थिए।
ह्युस्टनको नेपाली समुदायमा सक्रियहरु सम्मानित
एनआरएनए टेक्सस च्याप्टरले ह्युस्टनको नेपाली समुदायका लागि उल्लेखनीय योगदान दिएका व्यक्ति तथा संस्थाहरुको कदर स्वरुप सम्मान-पत्र (प्ल्याक) प्रदान गरेको थियो।
नेप्लिज एशोसियसन अफ ह्युस्टन, अन्तराष्ट्रिय साहित्य समाज, ह्युस्टन च्याप्टर, नेप्लिज हेरिटेज यूनियन, क्रियटिभ नेपाली सोसाइटी, गुल्मी समाज र अन्तराष्ट्रिय साहित्य समाज टेक्सस च्याप्टर संस्थागत सक्रियताका लागि सम्मानित भए।
यसैगरी ह्युस्टनमा नेपालीहरुको संस्था एनएएचका संस्थापक अध्यक्ष डा. राजेन्द्र श्रेष्ठ, नेपाली समुदाय ह्युस्टनका सर्वप्रिय व्यक्तित्व दिनकर अमात्य, ह्युस्टनको नेपाली समुदायको स्ट्याण्डिंग-डोनर एवं न्यूयोर्क लाइफ़ इन्स्योरेन्सका एजेण्ट बच्चा तिवारी, हस्पिट्यालिटी व्यवसायी कम्फर्ट सुइट्सका महाप्रवन्धक जगदिश काफ्ले, भिकेयर क्लिनिक, आशियाना रेष्टुरेण्टका संचालक चन्द्रकान्त शर्मा, एभण्ट ट्याक्सका प्रेम शाही, ह्युस्टनका समाजसेवी तथा व्यवसायी ज्ञानेश्वर श्रेष्ठ, मनपसन्द सुपरमार्केटका अमराली मकनाजिया, स्टर्लिंगम्याककल टोयोटाका जर्ज कोलाचेरिल पनि एनआरएनए टेक्सस च्याप्टरद्धारा सम्मानित भए।
यसैगरी समुदायका गतिबिधिहरुलाई प्राथमिकतापूर्वक सम्प्रेषण गरेकोमा हिमालयखबर र दुरबिन नेपालका स्थानीय संचारकर्मीहरु पनि सम्मानित भए।
कार्यक्रममा हिमालयखबरका सल्लाहकार सम्पादक तारा बराल र दूरबिन नेपालका सम्पादक सुजन पण्डितलाई ‘प्ल्याक’ सहित सम्मान गरिएको थियो।
सम्मानित बरिष्ठ पत्रकार बरालले समुदायका सबैखाले गतिविधिहरुलाई सम्प्रेषण गर्ने र प्रवासका नेपालीहरुको सफलतालाई समुदायसामु पस्कने हिमालयखबरको उदेश्य भएको बताए।
दूरबिन नेपाल संचालन भएको एकवर्षमै समुदायका गतिविधिहरुलाई प्राथमिकतासाथ सम्प्रेषण गरे बापत सम्मानित भएकोले दूरबिन नेपाललाई अझ सक्रियताका साथ समुदाय केन्द्रित पत्रकारिता गर्न अभिप्रेरित गर्नेछ’, सम्मानित भएपछि संचारकर्मी पण्डितले भने।
टेक्सस च्याप्टरका अध्यक्ष भानु खरेलको अध्यक्षता, उपाधयक्ष द्रोण गौतम र महासचिव पदम ठकुराठीद्धारा संयुक्त रुपमा संचालित कार्यक्रममा च्याप्टरका बोर्ड अफ डिरेक्टर जगदिश काफ्लले स्वागत मन्तब्य राखेका थिए।
फोटो फिचर


















तस्विर: सुजन पण्डित/दूरबिन नेपाल र श्रीकृष्ण गौतम















प्रतिक्रिया लेख्नुहोस्:-