तोया दाहाल
-सानफ्रानसिस्को १४ डिसेम्बर/
एनआरएनए अमेरिकाको नयाँ वेबसाइट ह्याक गरेर अनुकुलतामा प्रयोग गर्न खोज्ने पक्षलाई सकस हुने भएको छ । वेबसाइटको दुरुपयोग कहीँ कतैबाट हुन नसकोस भनेर एनआरएन अमेरिकाको कार्यसमिति बैठकमा विषय प्रवेश गरेको छ । महासचिव बी आर लामाले नयाँ वेबसाइटको प्राविधिक पक्ष र संस्थागत प्रक्रियाबाट सुरक्षित ढङ्गले प्रयोग गर्न सक्ने वातावरण बनाउने विषय प्रवेश गराएका छन् । लामा भन्छन् “निर्वाचको समयमा मैदानमा उत्रने साथीहरूको हातमा वेबसाइट प्रयोग गर्न सक्ने सम्भावना हुनुहुन्न भनेर मैले कुरा राखेको हुँ ।”
एनआरएन अमेरिकाको वेबसाइटलाई निर्वाचनको समयमा बाहिरी समूहले ह्याक गरेर अनुकुलतामा प्रयोग गर्ने र संस्था भित्रैबाट पनि दुरुपयोग गरिएको विषय लामो समय देखि चर्चामा छ । यो कार्यसमितिको पहिलो बैठकले नयाँ वेबसाइट र एप निर्माण गरी एनआरएनलाई आलोचनाको घेरा बाहिर ल्याउने निर्णय गरेको थियो । वेबसाइट निर्माणका लागि वरिष्ठ उपाध्यक्ष सुनिल शाह र एप निर्माणका लागि सह कोषाध्यक्ष पवन योञ्जनले संयोजन गर्ने गरी दुईवटा समिति बनाइएको थियो । महासचिव लामा भन्छन् “वेबसाइट बनिसकेको छ । एप निर्माण प्रक्रियामा रहेको छ । अव कहीँ कतैबाट यसको दुरुपयोग नहोस् भन्ने चाहाना हो ।”
वेबसाइट निर्माण समितिका संयोजक वरिष्ठ उपाध्यक्ष सुनिल शाहले महासचिव लामाको जिज्ञासालाई कार्यसमिति बैठकमा सम्बोधन गरेका थिए । शाहले भने “कार्यसमितिले विश्वास गरेर जिम्मा दिएको प्रोजेक्ट वर्क पुरा गरेर अध्यक्ष डाक्टर केशव पौडेल ज्यूलाई बुझाएको छु । वेबसाइटको नियन्त्रण र प्रयोग अव मेरो हातमा छैन ।”
बैठकमा सहभागी एक सदस्यका अनुसार अध्यक्ष डाक्टर केशव पौडेलले वरिष्ठ उपाध्यक्ष शाहको भनाइमा सहमति जनाएका थिए । एनआरएन अमेरिकाका सदस्यहरूको व्यक्तिगत विवरण, संस्थाका दस्ताबेज र सूचना कसैले पनि चोर्न र दुरुपयोग गर्न नसक्ने गरी वेबसाइट निर्माणको काम सम्पन्न गरेकोमा वरिष्ठ उपाध्यक्ष शाहको टिमलाई बधाई समेत दिए । अध्यक्ष पौडेलले कार्यसमिति बैठकमा भने “उपाध्यक्ष ज्यूले मलाई वेबसाइटको सबै कुरा बुझाउनु भएको छ । अव महासचिव ज्यू लगायत यससँग सम्बन्धित साथीहरूलाई यसका सबै कुरा उपलब्ध गराउँछु ।”
‘सित्तै वा सस्तोमा बनाउन सकिन्छ’ भन्दै वेबसाइट नियन्त्रणमा लिन अनेक बहाना बनाएर निर्माण प्रक्रिया नै बिथोल्न लागेका केही व्यक्ति र समूह नै अहिले नयाँ वेबसाइटको प्रसंसक र प्रचारक भएका छन् । ‘भरपर्दो र मोबाइल फ्रेन्डली वेबसाइट बनेका कारण मोबाइल एप बनाउनु आवश्यक छैन । संस्थाको पैसा एपमा खर्च नगरौं’ भन्ने उनीहरूको तर्क छ । एनआरएनए अमेरिकाका एक जना कार्यसमिति सदस्य भन्छन् “नक्कली सदस्यता इलिमिनेट गर्न फेसियल रिकगनिशन गर्ने (अनुहार पहिचान गर्नसक्ने क्षमता भएको) मोबाइल एप निर्माण प्रक्रियालाई बिथोल्न साथीहरू किन लागिरहेका छन् भन्ने हामीले बुझेका छौ ।”
एनआरएनए अमेरिकालाई नजिकबाट नियालिरहेकाहरू आगामी निर्वाचनलाई प्रभावित गर्न वेबसाइट ह्याक गरेर आउटलुकबाट एक घण्टामै हजार भन्दा बढीको नक्कली इमेल आइडी बनाएर सदस्यता बनाउन अभ्यस्त भएकालाई नयाँ वेबसाइट निक्कै सकस भएको बताउँछन् । त्यस माथि फेससियल रिकगनिशन गर्ने मोबाइल एपलाई निर्वाचन अगाडि नै सबै सदस्य बिचमा पु¥याउन एनआरएन सफल भएमा नक्कली सदस्यता चलखेल र आरोप प्रत्यारोपको अध्याय समाप्त हुने छ ।










प्रतिक्रिया लेख्नुहोस्:-