काठमाडौँ । नेपाली काँग्रेसलाई नयाँ ढङ्गले अगाडि लैजान नसके पार्टीको अस्तित्व नै खतरामा पर्नसक्ने काँग्रेस नेता एवं बुद्धिजीवीहरुले बताएका छन् । ६८ औँ प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरिएको ‘काँग्रेसको अबको जिम्मेवारी’ विषयक अन्तरसंवादमा पार्टी रणनीतिक रुपमा अगाडि बढ्नु जरुरी रहेको बताएका हुन् ।
काँग्रेस नेता नवीन्द्रराज जोशीले केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यलाई गाउँतहसम्म सक्रिय बनाउनु जरुरी रहेको बताए । “महाधिवेशन समयमा सम्पन्न, भ्रातृ संस्थाको महाधिवेशन समयमा सम्पन्न, तरुण दलको कार्यसमितिलाई पूर्णता, सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरे मात्र सशक्त काङ्ग्रेस निर्माण हुन्छ,” उनले भने । काँग्रेसले युवाका लागि उद्यमशीलता विकास, पार्टीलाई स्थानीय तहसम्म सक्रिय बनाउने, अन्यायविरुद्ध तत्काल आवाज उठाउनुपर्ने उनको भनाइ थियो ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्दराज पोखरेलले काँग्रेसले आर्थिक क्रान्तिको एजेण्डालाई उठाएर अगाडि बढ्नुपर्ने सुझाव दिए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डाक्टर स्वर्णिम वाग्लेले इतिहास भजाउनुभन्दा काँग्रेस नयाँ विचार र नीतिका साथ अगाडि बढ्नुपर्ने सुझाव दिए । प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसीले गुटको नेताभन्दा पार्टीको नेता भएर अगाडि बढे मात्र पार्टीको अस्तित्व रहने धारणा राखे ।
वरिष्ठ पत्रकार हरिहर विरहीले महासमितिले दिएको सुझाव र विधानलाई पालना गरेर काँग्रेस अगाडि बढ्नुपर्ने सुझाव दिए । पत्रकार पुरञ्जन आचार्यले इतिहासलाई छाडेर पार्टीले नयाँ दिशा कोरेर अगाडि बढ्नु जरुरी रहेको उल्लेख गरे ।
नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेलले पार्टीभित्र रहेको गुट–उपगुटको अन्त्य गरेर काँग्रेस अगाडि बढ्न सुझाव दिए । नेपाल शिक्षक संघका पूर्वअध्यक्ष मोहन ज्ञवालीले काँग्रेसले विगतमा गरेका गल्ती कमजोरीलाई क्षमा माग्दै अगाडि बढ्नुपर्नेमा जाेडदिए । नेपाल इञ्जिनीयर एशोसिएशनका पूर्वअध्यक्ष ई हरेराम श्रेष्ठ, पत्रकार राजेन्द्र दाहाल, चार्टर एकाउण्टेन्ट दीपक पाण्डे लगायतले प्रजातान्त्रिक पार्टी काँग्रेसले प्रजातान्त्रिक अभ्यास र संस्कारको विकास गर्न नसकेको गुनासाे गरे ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य भीष्मराज आङदेम्बे, शङ्कर भण्डारी, बहादुरसिंह तामाङ, सुरेन्द्र पाण्डे, पुष्पा भुसाल, अर्जुन जोशी, गुरुराज घिमिरे, कल्याण गुरुङ, श्यामकुमार घिमिरे, किशोरसिंह राठौरलगायत युवा नेताहरुको सहभागिता थियो ।
रासस
–––







प्रतिक्रिया लेख्नुहोस्:-