धनगढी । तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि भिडन्त शनिबार हुँदैछ । महेन्द्रनगर युनाईटेड र सीवाईसी अत्तरिया फाईनलमा भिड्दै छन् । फाप्ला क्रिकेट मैदानमा महेन्द्रनगर शरद भेषावकरको कप्तानीमा मैदान उत्रनेछ । अत्तरिया दिपेन्द्र सिंह ऐरीको नेतृत्वमा रहनेछ । उपाधि भिडन्तका लागि मैदान प्रवेश गर्दा महेन्द्रनगर र अत्तरियाको लक्ष्य ’च्याम्पीयन’ बने रहेको दावी गरेका छन् । शुक्रबार भएको प्रि म्याच कन्फरेन्समा दुवै टोलीका कप्तानले उपाधि जित्ने दाबी गरेका छन् ।
’जुन लक्ष्य लिएर आएका थियौं । अहिलेसम्म पुरा हुँदै आएको छ । अब एक खेल बाँकी छ ,’ महेन्द्रनगरका कप्तान शरदले भने, ’योजना सामान्य छ । राम्रो क्रिकेट खेलिरहेका छौँ । हामी फाईनलमा सफल हुनेमा ढुक्क छौं । ट्रफी जित्ने छौं ।’ महेन्द्रनगर दोस्रो क्वालिफायर्समा काठमाडौं गोल्डेन्सबाट वाक ओभर पाएर फाइनलमा पुगेको हो । महेन्द्रनगर पहिलो पटक फाइनलमा पुगेको हो । आफ्ना खेलाडीलाई कारबाही गरेको भन्दै काठमाडौंले खेल बहिस्कार गरेपछि महेन्द्रनगरले अत्तरियासंगको भेट पक्का गरेको हो । काठमाडौंलाई नै हराएर फाइनल पुगेको अत्तरिया जारी प्रतियोगिताकै सर्वाधिक बलियो टिम हो ।
अत्तरियाले प्रतियोगितामा उच्च प्रदर्शन गरिरहेको भएपछि कप्तान शरद च्याम्पीयन टोलीलाई हराएर च्याम्पीयन बन्ने दावी गर्छन । ’उनीहरुले उत्कृष्ट खेलिरहेकोमा कुनै दुविधा छैन । तर, च्याम्पीयन बन्न च्याम्पीयन टिमलाई हराउनुपर्छ । फाईनल जित्न दुवै टोलीलाई प्रेसर हुन्छ । जसले राम्रो खेल्छ उसले जित्छ । हाम्रो टिमले सही समयमा प्रदर्शन गरिरहेको छ । भोलीको खेल निकै प्रतिस्पर्धात्मक हुनेछ,’ कप्तान शरदले भने ।
अत्तरिया पहिलो पटक डीपीएलको फाइनल पुगेको हो ।
अत्तरियालाई पहिलो पटक डीपीएलको ट्रफी उचाल्ने मौका रहेको छ । कप्तान दिपेन्द्र आफ्नो कप्तानीमा पहिलो पटक टिमलाई उपाधि दिलाउन चाहन्छन् । ’हामीले जसरी क्रिकेट खेलिरहेका छौँ । त्यसलाई फोकस गरेर अन्तिम खेल खेल्नेछौं,’ कप्तान दिपेन्द्रले भने, ’फाईनलमा दबाब लिएर खेल्ने छैनौ । हामी जसरी खेलिरहेका छौं त्यसरी हेर्दा हामी फाइनल जित्छौ ।’ महेन्द्रनगर विरुद्ध अत्तरियालाई समूह चरणमा व्यहोरेको हारको बदला लिने अवसर समेत हुनेछ । समूह चरणमा अत्तरिया महेन्द्रनगरसँग ७ विकेटले पराजित भएको थियो । यस्तै दिपेन्द्रले फाइनलमा टोलीको मुख्य खेलाडी भारतका सन्नी पटेल र जयकिशन कोल्सावाला रहेको बताए ।







प्रतिक्रिया लेख्नुहोस्:-