अमेरिका ।
एनआरएनए अमेरिकाको नयाँ कार्यसमितिमा नेतृत्व हत्याउन घंसाघंसी र समीकरण साथै टिम निर्माणका गृहकार्य भइरहेका बेला निर्वाचन आयोगले निर्वाचनको प्रक्रिया सुरु गरेको छ । एनआरएनए निर्वाचन आयोगले शुक्रवार आफ्नो लागि र आसन्न निर्वाचनका उम्मेदवारका हकमा लागु हुने गरी आचार संहिता जारी गरिसकेको छ ।
कुनै समूह र व्यक्तिको पक्षपोषण हुने गरी काम नगर्ने, विवादस्पद काम र भूमिकामा नरहने लगायत विधानले निर्दिष्ट गरेका काम र कर्तव्य निर्वाह गर्न निर्वाचन आयोगका सदस्यलाई ६ वुदे आचार संहिता बनाइएको छ । त्यस्तै आगामी निर्वाचनका प्रत्यासिहरुले पालना गर्नु पर्ने आचार संहिता पनि जारी गरिएको छ । जाती, रङ्ग र राजनीतिक हिसाबले पक्षपोषण वा घृणा जगाउने अभिव्यक्ति सञ्चार माध्यम र सामाजिक सञ्जालमा कुनै पनि उम्मेदवारले राख्न नपाउने, निर्वाचन अभियानका समयमा प्रतिद्वन्दिलाई लक्षित गरी गलत तथ्य तथ्याङ्क र भ्रामक तर्क वितर्क गर्न नपाउने उल्लेख छ ।
परिवारका अरू सदस्यहरूलाई समेत असर पर्ने गरी संवेदनशील पारिवारिक विषय वस्तु उठान गर्ने कुरालाई निरुत्साहित गरिनु पर्ने, निर्वाचनलाई प्रभावित गर्न व्यक्ति, समूह र संस्थालाई सहयोग र चन्दा दिने काम उम्मेदवारहरूले गर्न नपाउने निर्वाचन समितिले शुक्रवार उम्मेदवारको हकमा जारी गरेको ७ बुँदे आचार संहितामा समावेश गरिएको छ । प्रमुख निर्वाचन आयुक्त विश्वराज बरालद्वारा जारी आचार संहिताले निर्वाचनको पारो चढ्दै जाँदा उत्पन्न हुन सक्ने आवेश र उद्वेगहरुलाई केही मत्थर गर्न मार्ग प्रशस्त गर्ने छ ।
छानबिन समिति विघटन
सदस्यता सम्बन्धमा छानबिन गर्न राम कुमार सुवेदीको संयोजकत्वमा गठित समितिलाई एनआरएनए अमेरिकाले शनिवार विघटन गरेको छ । एनआरएनए अमेरिका अध्यक्ष डाक्टर केशव पौडेल र महासचिव वी आर लामाले हस्ताक्षर गरेको पत्रमा सफलता पूर्वक काम सम्पन्न गरेकोमा समितिलाई बधाई दिँदै कार्यकाल पुरा भएको उल्लेख छ । छानबिन समितिका संयोजक सुबेदीले दिनमा १६ घण्टा सम्म काम गरेका थिए । छानबिन समितिका सदस्य पावन योञ्जन र बाल जोशीले पनि संयोजक सुवेदीको लगन र गतिलाई पच्छ्याउन प्रयास गरेका थिए ।







प्रतिक्रिया लेख्नुहोस्:-