जाङबु शेर्पा, दूरबिन नेपाल, टेक्सस
डोनाल्ड ट्रम्पले अमेरिकाको कार्यकारी पद सम्हालेपछि दुई वर्षमा ६७ हजार दुई सय ३७ जना आप्रवासीहरू पक्राउ परी सकेको माइग्रेसन पोलिसि इन्स्टिच्युटले जनाएको छ । यो सङ्ख्या अझै बढी हुन सक्ने सो संस्थाले अनुमान पनि गरेको छ । माइग्रेसन पोलिसि इन्स्टिच्युट र सिरासिस विश्वविद्यालयले तयार पारेको एक रिपोर्टमा आइसीइले सबैभन्दा धेरै आप्रवासीहरू क्यालिफोर्निया राज्यबाट पक्राउ गरेको जनाएको छ । सो राज्यबाट १० हजार ५७ जनालाई पक्राउ गरिएको उल्लेख छ । त्यस्तै प्लोरिडाबाट चार हजार दुई सय १५ जना, पेन्सिलभेनियाबाट तीन हजार छ सय दश जनालाई पक्राउ गरेको छ । रिपोर्टका अनुसार सबैभन्दा कम पक्राउ नाभाडा राज्यमा परेका छन् । सो राज्यबाट पाँच सय ९० जना मात्र पक्राउ परेका हुन । जनसङ्ख्याको हिसाबले सबैभन्दा धेरै आप्रवासीहरू क्यालिफोर्नियामा रहेको भए पनि आइसीइले पेन्सिलभेनियामा सबैभन्दा धेरै छापा मारेको देखिन्छ ।
यसैविच ट्रम्प प्रशासनले अध्यागमन अदालतबाट देश निकालामा परेका दुई हजार आप्रवासीसँगै असाइलमको अन्तरर्वाताको क्रममा अनुपस्थित भएका ११ हजार आप्रवासीहरूलाई पनि देश निकाला गरिने जनाएको छ । अमेरिकाका एटलाण्टा, बाल्टिमोर, लस एन्जलस, मायामी, ह्युष्टन, डेन्भर, सान फ्रान्सिस्को, सिकागो र फ्लोरिडाका दुई शहर गरी दश अध्यागमन अदालतमा रकेट डकेट मार्फत आप्रवासीहरुलाई तीब्र गतिको देश निकालाको प्रक्रियामा हालिएको हो । अदालतले तोकेको मितिमा उपश्थित नहुनेहरुलाई यो प्रक्रिया मार्फत देश निकालाको आदेश दिएको छ ।









प्रतिक्रिया लेख्नुहोस्:-