–नारायण ढुङ्गाना
हेलम्बु, सिन्धुपाल्चोक, ४ पुस
मेलम्ची खोला आफ्नै तालमा छङछङ् बगिरहेको छ । समीपमा केही मजदुर रड बुुन्दै छन् । कोही ड्रिल गरेर पहरा फोर्दैछन् । स्काभेटर खोला खोलेर ढुङ्गा निकाल्न प्रयोग भइरहेको छ । टिप्परहरु बालुवा–गिट्टी बोकिरहेका छन् । अन्य मजदुरहरु फलाम काट्ने, रड मिलाउँदै छन् । शुक्रबार अपराह्न बहुचर्चित र बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित आम्बाथानमा यस्तैयस्तै दृश्य देखिन्थ्यो । यहाँ इन्जिनीयरहरु पहेँलो ज्याकेट र प्लाष्टिक ह्याट लगाएर मजदुरलाई निर्देशन दिइरहेका थिए । चाइनिज कामदार पनि आ–आफ्नै जिम्मेवारीमा व्यस्त थिए ।

शुक्रबार राससकर्मी आयोजनाको मुहान क्षेत्र पुग्दा कार्यकारी निर्देशक खत्री फिल्डमा आफैँ खटिनुभएको थियो । यहाँ अहिले हेडवक्र्स (इन्टेक)को काम तीव्र रुपमा भइरहेको छ । त्यही हेडवक्र्समार्फत पानी टनेलमा पठाइन्छ । टनेलको गेट बनाउने कामसमेत जारी छ । उक्त कम्पनीसँग भएको सम्झौतामा ३२ वटा गेट बनाइने उल्लेख छ । दश प्रतिशत बोनसको व्यवस्था भएकाले चिनियाँ निर्माण कम्पनीले काम तदारुकताका साथ गरिरहेको खत्रीले राससलाई बताउनुभयो । ढिला गरेमा भने जरिवाना लाग्नेछ । अहिले कामको प्रगति देख्दा असारमा पानी झार्ने सकिने उहाँले दाबी गर्नुभयो । उहाँले सुरुङभित्रको काम ‘फिनिसिङ’को चरणमा पुगेकाले १० प्रतिशतमात्रै बाँकी रहेको बताउनुभयो । आयोजनाको सबै गरेर ९५ प्रतिशत काम सकिएको उहाँको भनाइ छ । टनेलको मात्रै ९० र मुहान क्षेत्रको काम ६० प्रतिशत सकिएको जनाइएको छ ।

कार्यकारी निर्देशक खत्रीले सुरुङ ढलान गर्ने काम साढे दुई किलोमिटर बाँकी रहेको बताउनुभयो । सुरुङमा २८ वटा गेट राख्नुपर्नेछ । मुहानमा स्थायी संरचना हेडवक्र्स (इन्टेक) बन्न अझै एक वर्ष लाग्ने भएकाले तत्काल अस्थायी ड्याम बनाएर पानी पठाउन लागिएको छ । सिनोले सुरुङको बाँकी काम गर्न रु ८५ करोड र रु एक अर्ब दुई करोडमा हेडवक्र्सको ठेक्का पाएको आयोजनाले जनाएको छ । असोजमा गरिएको सम्झौताअनुसार १५ महिनाभित्र दुवै काम सक्नुपर्नेछ । मेलम्चीको पानी पिउने उपत्यकावासीको दुई दशक लामो सपना हो । सरकारले २०५५ बाट मेलम्चीको काम अघि बढाएको थियो ।
साढे २६ किलोमिटर सुरुङ खन्नुपर्नेमा झण्डै ६ किमीमात्र खनेर सन् २००९ मा चिनियाँ ठेकेदार कम्पनी चाइना रेल्वेले ठेक्का तोडेको थियो । बाँकी काम गर्न ठेक्का पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीले आफ्नै कारणले गत वर्षको पुसमा आयोजना छोडेकाले सरकारले ठेक्का तोडेको थियो । यहाँ २०७४ चैतमा सुरुङमार्ग छेडिएको थियो । अहिले मुहान क्षेत्रमा चिनियाँ २० र नेपाली १२० कामदारले काम गरिरहेका छन् । कूल गरेर ३०० कामदार परिचालन छन् । जसमा ७० जना चाइनिज रहेको जनाइएको छ ।
रासस







प्रतिक्रिया लेख्नुहोस्:-