प्रा. डा. दुर्गा दाहाल
संसार गतिशील छ । हामीले पनि हरेक कुरामा गति लिनु पर्छ । तर गति सन्तुलित, सान्दर्भिक र समसामयिक हुनु पर्छ ।
हामी पूर्वीय सभ्यता, सँस्कृति, खान-पान र पहिचानका मानिसहरू हौँ । हाम्रा ऋषि- मुनिहरूले लेखेका वेद, उपनिषदहरूलाई पनि हामीले फर्केर हेर्नु पर्छ ।
प्रकृति र संसारसंग मानव समुदायले समन्वय गरि आजको राजनीति, समाजनीति, विज्ञान र प्रविधिलाई लैजानु पर्छ भन्ने कुरा हाम्रा धर्मशास्त्रले भनि सकेको कुरा हाम्रा पाठकहरूले खोजेर पढदा हुन्छ। त्यो कुरा मैले यहाँ उठाउन खोजेको हैन । हामीले हाम्रो रहन- सहन, चाल- चलन, आहार- विहार र आचार- व्यवहारमा पनि परिवर्तन देखाउनु पर्छ ।
मैले आज उठाउन खोजेको विषय र प्रसंग हो: नेपालमा रहेका र अमेरिका सहित विदेशमा रहेका बी. पी का अनुयायी नेताहरूले अवलम्बन गर्नु पर्ने अनुशासन र अनुशीलनका कुराहरू हुन । हुन त , आज सबै नेता भए ! बी. पी का धारणा, विचार र दर्शनका कुरा नबुझी, किताबै नपढी नेता भएका हाम्रा साथी- भाई र बन्धु- बान्धवहरू हाम्रो समाज र समुदायमा बढदै गएका छन ।
अत: नेपाली कांग्रेसका नेताहरू र यसका भातृ- संगठनहरूलाई म यो लेख मार्फत मेरा केही धारणाहरू राख्न चाहन्छु । मेरा राजनैतिक गुरू बी. पी. कोईराला हुन । साहित्यकारका रूपमा पनि म उहाँबाट अत्यधिक प्रभावित छु । ख़ास गरि, तत्कालीन समाज र समुदायका विभिन्न वर्ग, तह र तप्काका मानिसहरूको मनोवैज्ञानिक पक्षलाई उजागर गरेर, साहित्य सिर्जना गरेर एकातर्फ मनोरंजन प्रदान गर्नु र अर्कातर्फ साहित्यको भण्डार अभिवृद्धि गर्नु उहाँको विशेषताबाट म प्रभावित भएको छु ।
राजनैतिक रूपमा त म उहाँको चेला हूँ । उहाँले उतिखेर अभिव्यक्त गरेका विचारहरू अझै पनि सान्दर्भिक रहेका छन । उहाँ वास्तवमा नेपाली कांग्रेसको मात्रै नेता नभएर समस्त नेपालीहरूका नेता हुनुहुनुहुन्थ्यो । उहाँले जहिले पनि राष्ट्रीयता, प्रजातन्त्र र समाजवादलाई केन्द्रविन्दूमा राखि आफना धारणाहरू राख्नु हुन्थ्यो र सिद्धान्तहरू प्रतिप्रादन गर्नु हुन्थ्यो । मूलभूत कुराहरूलाई यथावत राखि बी. पी को दर्शन र सिद्धांतलाई पनि हामीले पुनर्विचार र पुनर्व्याख्या गर्नु पनि जरूरी छ ।
हाम्रा आजका नेताहरूले र यसका भातृसंगठन हरूले बी. पी लाई जान्नु र बुझ्नु ज़रूरी छ । बी. पी लें प्रतिपादन गरेका सिद्धान्तहरू र व्यक्त गरेका विचारहरू नपढी र नबुझी कोही नेपाली कांग्रेस हुन खोज्छ भने त्यो नक्कली र अवसरवादी हो ।त्यस्ता कृत्रिम काँग्रेसी जनहरूलाई बेलैमा चिनेर प्रवेश गर्न नदिऊँ ।
अत: नेपाली कांग्रेसमा पढ़ने बानीको विकास हुनु पर्छ । सबै नेताहरूले र भातृसंस्थाका पदाधिकारी हरूले बी. पी का कृतिहरूलाई पढौँ र आफ्नो चिन्तन र दर्शनको दायरालाई बढ़ाऔँ । केवल नेता भएर, भ्रष्टाचार गरेर धन – दौलत कमाउने प्रवृतिलाई निरुत्साहित गरौँ ।
अन्त्यमा, विदेशमा रहेका जनसम्पर्क समितिको काम, कर्तव्य, अधिकार, दायरा र दायित्वलाई अब नयाँ ढंगबाट पुनर्भाषित गर्नु ज़रूरी छ । अहिले नेपाल प्रतिबन्धित अवस्थामा छैन र हामी संसारभरि छरिएर बसेका छौँ । हामी बसेका राष्ट्रहरूको कानूनलाई मिचेर नेपालका नेताहरूको एकतर्फी उर्दी मानेर हिँडनु पर्ने वाध्यता र विवशता हामीलाई छैन । केवल कतिपय झोलेहरूले हामीलाई ग़लत मार्गमा हिंडाउने कुराबाट हामी चनाखो हुनु पर्छ ।
अब जन सम्पर्क समितिले केवल शुभेच्छुक संस्थामा रही यहाीँबाट सल्लाह-सुझाव, ज्ञान, विज्ञान, दौलत र परामर्श दिनु पर्छ । भोट हाल्न प्रतिनिधि भएर गई रहनु पर्दैन ।
अब हामीले कतिपय कुरामा ‘यु’ टर्न पनि लिनु पर्छ
( प्रा. डा. दुर्गा दाहाल राजनैतिक विश्लेषक, चिन्तक र नेपाली काँग्रेसका प्राक्तन केन्द्रीय प्रशिक्षक पनि हुनुहुन्छ )







प्रतिक्रिया लेख्नुहोस्:-