काठमाडौं। नेपालमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि नेपालमा नयाँ राजनीतिक समीकरणसँगै स्थिर सरकार गठनसँगै हिमालय जेटले युरोप नेपाल प्रत्यक्ष उडानको प्रकृमा अन्तिम चरणमा पुगेको बताएको छ । यसले नेपालको पर्यटन,अर्थतन्त्र र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा उत्साह थप्ने विश्वास गरिएको छ ।
हिमालय जेट (वर्ल्डवाइड) का अध्यक्ष दीपेन्द्र गुरुङले नयाँ सरकारलाई बधाइ दिँदै पर्यटन, अर्थतन्त्र र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा ठोस पहल गर्न आग्रह गरेका छन्।
अध्यक्ष गुरुडले नेपाल हिमालय, सांस्कृतिक सम्पदा, जैविक विविधता तथा प्राकृतिक सौन्दर्यका कारण विश्वका प्रमुख पर्यटन गन्तव्यमध्ये एक भए पनि अन्तर्राष्ट्रिय हवाई सम्पर्क सीमित हुँदा यसको वास्तविक सम्भावना पूर्ण रूपमा उपयोग हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै नयाँ बन्ने स्थिर सरकारवार आफू पूर्ण रुपमा आशावादी रहेको जनाए ।
सन् २०१३ देखि नेपाली हवाई सेवा कम्पनी युरोपेली सङ्घको हवाई सुरक्षा सूचीमा परेका कारण युरोपतर्फ प्रत्यक्ष उडान सञ्चालन हुन नसक्दा युरोप र बेलायतबाट नेपाल आउने यात्रुले लामो ट्रान्जिट यात्रा गर्नुपर्ने अवस्था रहेको छ।
विगतका राजनीतिक अस्थिरता, दशक लामो सशस्त्र द्वन्द्व, २०१५ को विनाशकारी भूकम्प तथा त्यसपछिका आर्थिक चुनौतीले नेपालको पर्यटन उद्योगलाई पनि प्रभावित बनाएको उनको भनाइ छ। तर, हालको राजनीतिक परिवर्तनसँगै पर्यटन तथा हवाई उड्डयन क्षेत्रमा नयाँ सम्भावना देखिएको अध्यक्ष गुरुङले बताए।
युरोप, बेलायत र अष्ट्रेलियासँग प्रत्यक्ष उडानको योजना
हिमालय जेटले नेपाललाई बेलायत, युरोप र अष्ट्रेलियासँग प्रत्यक्ष लामो दूरीका हवाई उडानमार्फत जोड्ने योजना यसअघि नै ल्याएको छ । कम्पनीका अनुसार लण्डन, पेरिस, फ्र्याङ्कफर्ट, म्याड्रिड, लिस्बन, सिड्नी, मेलबर्न र पर्थजस्ता प्रमुख अन्तर्राष्ट्रिय शहरहरूसँग प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्ने तयारीमा रहेको छ।
सो उडान सञ्चालन हुन सकेमा वार्षिक करिब १० लाख यात्रु नेपाल भित्रिने अनुमान गरिएको छ, जसमा पाँच लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटक हुने अपेक्षा गरिएको छ। प्रत्यक्ष उडान सुरु भए लन्डन–काठमाडौं यात्रा करिब ९ घण्टा ४५ मिनेट र युरोप–काठमाडौं यात्रा करिब ८ घन्टा ४५ मिनेटमा सम्भव हुने बताइएको छ।
पर्यटन अर्थतन्त्रमा ठूलो प्रभाव पर्ने अपेक्षा
उड्डयन तथा पर्यटन क्षेत्रका जानकारका अनुसार प्रत्यक्ष अन्तर्राष्ट्रिय उडान विस्तारले नेपालको पर्यटन अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव पार्न सक्छ।
होटल तथा रिसोर्ट लगानी, पदयात्रा तथा साहसिक पर्यटन, हस्तकला, खुद्रा व्यापार, ग्रामीण पर्यटन तथा हवाई मालवाहक सेवाजस्ता क्षेत्रमा आर्थिक गतिविधि बढ्दै रोजगारी र आय वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
दीर्घकालमा पर्यटन क्षेत्रले नेपालको कुल गार्हस्थ उत्पादनमा २५ देखि ३० प्रतिशतसम्म योगदान पुर्याउन सक्ने सम्भावना पनि औंल्याइएको छ। यसबाट एक लाखभन्दा बढी रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।
‘‘नेपाल भ्रमण २०२८’ अभियानको प्रस्ताव
यसैबीच हिमालय जेटले नयाँ सरकारसमक्ष ‘नेपाल भ्रमण २०२८’ राष्ट्रिय पर्यटन अभियान सुरु गर्न प्रस्ताव गरेको छ। उक्त अभियानमार्फत नेपालको हिमालय, सांस्कृतिक सम्पदा तथा प्राकृतिक सौन्दर्यलाई विश्व बजारमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।
साथै कम्पनीले ७५औँ मिस वर्ल्ड कार्यक्रमसँग सम्बन्धित केही प्रारम्भिक कार्यक्रम नेपालका हिमाली गन्तव्यमा आयोजना गर्ने योजना पनि अघि सारेको जनाएको छ। उक्त कार्यक्रमको अन्तिम प्रतिस्पर्धा लण्डनस्थित रोयल अल्बर्ट हलमा आयोजना गर्ने तयारी रहेको बताइएको छ।
डायस्पोरालाई पर्यटन प्रवर्द्धनमा सहभागी हुन आह्वान
गुरुङले विश्वभर रहेका नेपाली डायस्पोरालाई नेपालको पर्यटन प्रवर्द्धनमा सक्रिय रूपमा सहभागी हुन आग्रह गर्दै हरेक नेपालीले आफू रहेको देशमा नेपालको पर्यटनको प्रतिनिधि बन्न सक्ने बताएका छन्।
उनका अनुसार जिम्मेवार हवाई सम्पर्क विस्तार र दिगो पर्यटन विकासमार्फत नेपाललाई विश्व पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार रहेको छ।
हिमालय जेटले अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमार्फत नेपालको पर्यटन, अर्थतन्त्र र राष्ट्रिय समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।







प्रतिक्रिया लेख्नुहोस्:-