अमेरिका २१ जनवरी/
अमेरिका आएर विभिन्न क्षेत्रमा काम, अध्ययन, अनुसन्धान र प्राध्यापन गरिरहेका नेपाली विज्ञहरू आफ्नो सिप र क्षमतालाई नेपाल र नेपालीको हितमा जोड्न एकजुट भएर छलफलमा लागेका छन् । जनवरी १९ तारिख शनिवार वासिङ्टन राज्यको सियाटलमा जम्मा भएका विज्ञहरूले आफ्नो दक्षता र अनुभवले खारिएका २० वटा कार्यपत्र प्रस्तुत गरे ।
माइक्रोसफ्टको हेडअफिसमा आयोजित एनआरएन अमेरिकाको क्षेत्रीय विज्ञ भेलामा प्रस्तुतिको निष्कर्षमा विज्ञहरूले नेपाल र नेपालीको हितमा कसरी काम गर्न सकिन्छ भनेर आफ्ना धारणा राखेका थिए । एनआरएनए अमेरिका साइन्स, टेक्नोलोजी तथा इनोभेसन कमिटीका संयोजक पशुपति पाण्डेले दूरबिन नेपालसँग कुरा गर्दै भने “अमेरिकामा आर्जन गरेको सिप क्षमता र ज्ञानलाई नेपाल र नेपालीको हितमा जोड्ने प्रयासको निरन्तरता हो यो कार्यक्रम ।”
कुर्सी, चुनाव र भाषण मात्र रुचि भएकाहरूको एनआरएनमा बोलवाला हुन्छ भन्ने आम मानिसको बुझाइलाई यो कार्यक्रमले फरक सन्देश दिएको छ । ज्ञान अनुभव र र विज्ञता भएका नेपालीहरूको साथले एनआरएनए अमेरिकाको छवि माथि उठाउन सहयोग पुगेको छ । ‘एनआरएनए अमेरिका उत्तर पश्चिम क्षेत्रीय नलेज सेयरिंग कन्फरेन्स’ नाम दिइएको यो भेला एनआरएनए अमेरिका साइन्स, टेक्नोलोजी तथा इनोभेसन कमिटी र वासिंगटन च्याप्टरको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
विषयवस्तु र विज्ञहरूको प्रस्तुततिमा रुचि भएका सियाटल वरपरका नेपालीहरूको कार्यक्रममा सहभागिता रहेको थियो । अमेरिकामा रहेका नेपाली विज्ञहरूको नेपाल सम्बन्धलाई थप नजिक्याउन वासिङ्टन राज्यमा आयोजना गरिएको यो पहिलो सशक्त कार्यक्रम हो ।
कार्यक्रममा विज्ञहरूको प्रस्तुति पछि त्यस माथि अन्तरक्रिया समेत भएको थियो । कार्यक्रममा डाक्टर तारा सिग्देलले बायो टेक्नोलोजी, डाक्टर नवीन खनालले सूचना प्रविधि, डाक्टर द्रोण रसाइलीले सोसोलोजी, वासिङ्टन स्टेटका आयुक्त मोहन गुरुङले विदेशी भूमिमा नेपाली भाषाको जगेर्ना र अमेरिकामा नेपाली भाषालाई दिलाइएको क्रेडिट, ई पशुपति पाण्डेले साइन्स, टेक्नोलोजी, इनोभेशन समितिले गरिरहेका काम र भावी योजना, सुवास प्रजापतिले सङ्गीत, सुनिल शाहले योङ्ग इन्टरपिनर , डाक्टर अर्जुन बन्जाडे र डाक्टर सुमन पराजुलीले प्रस्तुति दिएका थिए ।
सियाटल पछि स्थानीय च्याप्टरहरूको सहकार्यमा विज्ञहरूको भेला लस एन्जलस, डल्लास र डिसी मेट्रो क्षेत्रमा गर्ने तयारी भइरहेको छ । अमेरिकामा नेपाली मूलका विज्ञहरू ठुलो सङ्ख्यामा क्यालिफोर्निया, डिसी मेट्रो, सियाटल र बोष्टनमा रहेका छन् । विज्ञहरूको यस्तो क्षेत्रीय भेला छरिएर रहेका नेपाली विज्ञहरूलाई एनआरएनको छातामुनि ल्याएर उनीहरूको सिप र क्षमतालाई नेपाल र नेपालीको हितमा उपयोग गर्न सहयोगी हुनेछ ।













प्रतिक्रिया लेख्नुहोस्:-