स्यानफ्रान्सिस्को, क्यालिफोर्निया
जनवरी २३
बे एरियाको नेपालीहरुको पुरानो संस्था न्यान्स र असन्तुष्ट समुहवीच अदालतमा रहेको मुद्दा फिर्ता लिने सहमति भएसंगै लामो समयदेखि जारी नेपाली समुदायको विवाद अन्त्य भएको छ । हिजो रिचमण्डस्थित मुक्तिनाथ धाममा न्यास्सका अध्यक्ष प्रितेश कार्की, महासचिव यज्ञ नेपाल र असन्तुष्ट पक्षका नेतृत्वकर्ता अनिल पाण्डे र यज्ञलाल श्रेष्ठवीच १५ बुधे औपचारिक पत्रमा हस्ताक्षर भई मुद्दा फिर्ता लिने सहमति भएको हो ।
दुई पक्षवीच भएको सहमतिमा न्यान्सले कम्यूनिटी भवन निमार्णको लागि तत्कालीन अवस्थामा गठन गरिएको एनसीसी आफ्नो स्वामित्वमा रहने वा नरहने सम्वन्धमा ९० दिनभित्र साधारण सभा बोलाई निर्णय गर्ने उल्लेख गरिएको छ ।
यदि साधारण सभाले एनसीसीलाई आफ्नो मातहतको संस्था भनी स्वीकार नगरेमा छुट्टै इकाई गठन गरि संललन गरेको रकम उक्त इकाईलाई हस्तान्तरण गर्ने उल्लेख गरिएको छ ।
पत्रमा दुई पक्षविच भएको सहमति आ आफ्नो पक्षका वकिललाई ७ दिन भित्र पठाई असन्तुष्ट पक्षले क्यालिफोर्निया सुपेरिएर कोर्टमा भएको मुद्दा फिर्ता लिने उल्लेख गरिएको छ । त्यसैगरी सन् २०१८ मा गरिएको धार्मिक महोत्सवको आम्दानी तथा खर्च विवरण ९० दिन भित्र सार्वजनिक गर्ने सहमति भएको छ । सोही प्रकृतिका विषयमा न्यान्स वा विपक्षका कसैलाई पनि अदालतमा मुद्दा आकर्षित नहुने लगायतका विषय उल्लेख गरिएको छ ।
समहतिमा हस्ताक्षरपछि न्यान्सका अध्यक्ष प्रितेश कार्कीले नेपाली समुदाय मुद्दामामिलामा पुग्नु दुर्भाग्यपूर्ण भएको बताउदै यस सहमतिले नयाँ ढोका खोलेको बताए । “हाम्रो नयाँ दिन शुरु भएको छ, अव हामी फुटेर हैन जुटेर कम्युनिटि सेन्टर र मन्दिर निमार्ण गछौं, अव हामी सबै एक भएका छौ, हामीविच कुनै मतभेद छैन”,-उनले भने ।
मुक्तिनाथ धामका अध्यक्ष अनिल पाण्डेले आफूहरु अन्यायमा परेकाले न्यायको लागि अदालत गएपनि आखिरमा आफ्नो समुदायमा नै न्याय खोज्ने सहमति गरी मुद्दा फिर्ता लिएको बताए । मुसाको छोरीले मुसाकै छोरासंग विवाह गरेको प्रसंग सुनाउदै उनले भने-“हामीलाई चाहिने नेपाली समुदाय नै हो, नेपाली मन्दिर र कम्युनिटी सेण्टर नै हो, यसकारण भगवानको मन्दिरमा आएर सहमति गरेका छौं” । पाण्डेले अव सबै मिलेर मुक्तिनाथ मन्दिर र कम्युनिटी सेण्टर बनाउन लागि पर्ने बताए ।
न्यान्सका महासचिव यज्ञ नेपालले मुद्दा मामिलाले कसैको जीत नहुने भन्दै नेपाली समुदाय मिल्नुको विकल्प नभएको बताए । उनले दुई पक्षविच भएको सहमतिले नयाँ मार्ग प्रशस्त गरेको बताए । मुक्तिनाथ धामका बोर्ड अफ डाइरेक्टर यज्ञलाल श्रेष्ठले आफूहरुले समुदायको जीतको लागि अदालतवाट मुद्दा फिर्ता गर्ने सहमति गरेको बताए ।
मुक्तिनाथ धामका सल्लाहकार राजेश थापाले सहमतिले बे एरियाको नेपाली समुदाय एक भएको संदेश दिएको बताए । मुक्तिनाथ धामका बोर्ड अफ डाइरेक्टर दिक्पाल केसीले सहमतिवाट आफू निकै खुशी भएको बताए ।










प्रतिक्रिया लेख्नुहोस्:-