स्यानफ्रान्सिस्को, क्यालिफोर्निया
जनवरी २३
बे एरियाको नेपालीहरुको पुरानो संस्था न्यान्स र असन्तुष्ट समुहवीच अदालतमा रहेको मुद्दा फिर्ता लिने सहमति भएसंगै लामो समयदेखि जारी नेपाली समुदायको विवाद अन्त्य भएको छ । हिजो रिचमण्डस्थित मुक्तिनाथ धाममा न्यास्सका अध्यक्ष प्रितेश कार्की, महासचिव यज्ञ नेपाल र असन्तुष्ट पक्षका नेतृत्वकर्ता अनिल पाण्डे र यज्ञलाल श्रेष्ठवीच १५ बुधे औपचारिक पत्रमा हस्ताक्षर भई मुद्दा फिर्ता लिने सहमति भएको हो ।
दुई पक्षवीच भएको सहमतिमा न्यान्सले कम्यूनिटी भवन निमार्णको लागि तत्कालीन अवस्थामा गठन गरिएको एनसीसी आफ्नो स्वामित्वमा रहने वा नरहने सम्वन्धमा ९० दिनभित्र साधारण सभा बोलाई निर्णय गर्ने उल्लेख गरिएको छ ।
यदि साधारण सभाले एनसीसीलाई आफ्नो मातहतको संस्था भनी स्वीकार नगरेमा छुट्टै इकाई गठन गरि संललन गरेको रकम उक्त इकाईलाई हस्तान्तरण गर्ने उल्लेख गरिएको छ ।
पत्रमा दुई पक्षविच भएको सहमति आ आफ्नो पक्षका वकिललाई ७ दिन भित्र पठाई असन्तुष्ट पक्षले क्यालिफोर्निया सुपेरिएर कोर्टमा भएको मुद्दा फिर्ता लिने उल्लेख गरिएको छ । त्यसैगरी सन् २०१८ मा गरिएको धार्मिक महोत्सवको आम्दानी तथा खर्च विवरण ९० दिन भित्र सार्वजनिक गर्ने सहमति भएको छ । सोही प्रकृतिका विषयमा न्यान्स वा विपक्षका कसैलाई पनि अदालतमा मुद्दा आकर्षित नहुने लगायतका विषय उल्लेख गरिएको छ ।
समहतिमा हस्ताक्षरपछि न्यान्सका अध्यक्ष प्रितेश कार्कीले नेपाली समुदाय मुद्दामामिलामा पुग्नु दुर्भाग्यपूर्ण भएको बताउदै यस सहमतिले नयाँ ढोका खोलेको बताए । “हाम्रो नयाँ दिन शुरु भएको छ, अव हामी फुटेर हैन जुटेर कम्युनिटि सेन्टर र मन्दिर निमार्ण गछौं, अव हामी सबै एक भएका छौ, हामीविच कुनै मतभेद छैन”,-उनले भने ।
मुक्तिनाथ धामका अध्यक्ष अनिल पाण्डेले आफूहरु अन्यायमा परेकाले न्यायको लागि अदालत गएपनि आखिरमा आफ्नो समुदायमा नै न्याय खोज्ने सहमति गरी मुद्दा फिर्ता लिएको बताए । मुसाको छोरीले मुसाकै छोरासंग विवाह गरेको प्रसंग सुनाउदै उनले भने-“हामीलाई चाहिने नेपाली समुदाय नै हो, नेपाली मन्दिर र कम्युनिटी सेण्टर नै हो, यसकारण भगवानको मन्दिरमा आएर सहमति गरेका छौं” । पाण्डेले अव सबै मिलेर मुक्तिनाथ मन्दिर र कम्युनिटी सेण्टर बनाउन लागि पर्ने बताए ।
न्यान्सका महासचिव यज्ञ नेपालले मुद्दा मामिलाले कसैको जीत नहुने भन्दै नेपाली समुदाय मिल्नुको विकल्प नभएको बताए । उनले दुई पक्षविच भएको सहमतिले नयाँ मार्ग प्रशस्त गरेको बताए । मुक्तिनाथ धामका बोर्ड अफ डाइरेक्टर यज्ञलाल श्रेष्ठले आफूहरुले समुदायको जीतको लागि अदालतवाट मुद्दा फिर्ता गर्ने सहमति गरेको बताए ।
मुक्तिनाथ धामका सल्लाहकार राजेश थापाले सहमतिले बे एरियाको नेपाली समुदाय एक भएको संदेश दिएको बताए । मुक्तिनाथ धामका बोर्ड अफ डाइरेक्टर दिक्पाल केसीले सहमतिवाट आफू निकै खुशी भएको बताए ।न्यान्सका पूर्व अध्यक्ष उत्तम कार्कीले सहमतिको लागि दुबै पक्षलाई धन्यावाद दिदै नेपाली समुदाय एकजुट हुनुको विकल्प नभएको बताए । एन आरएन क्यालिफोनिर्याका पूर्व अध्यक्ष पूर्ण वानिया, बे एरियाका अभियन्ता बिनय पोखरेल, मुक्तिनाथ धामकी गीता रेग्मी लगायतले यस सहमतिले मन्दिर र कम्युनिटि निमार्ण अभियानलाई अघि बढाउने बताए । मुक्तिनाथ धामका बोर्ड अफ डाइरेक्टर सूर्य शर्मा र अर्का डाइरेक्टर संजिव भट्टले यस सहमतिवाट बे एरियाका नेपालीहरु उत्साहित भएको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-