अमेरिका, जनवरी २५ /
एनआरएनए अमेरिकामा नेतृत्वका आकाक्षिहरु यति वेला सहकार्य र प्रतिस्पर्धाको समानान्तर ट्रयाकबाट अगाडि बढिरहेका छन् । तर केही समयको अन्तरालमा संस्थाको साखलाई धराशायी बनाउने गरी आरोप प्रत्यारोपमा ओर्लने निश्चित छ । विगतलाई हेर्ने हो भने दुई वर्षसँगै काम गरेको कार्यसमितिको सफलता र असफलताको जस अपजस समान रूपमा लिने भन्दा पनि कमजोरी अरूको टाउकोमा थोपर्दै आफू मात्र ठिक भएको देखाउने प्रयास चुनाव बेला भएको पाइन्छ । राजनीतिक गुट र समूहहरूसँगको साठगाठ, तिकडम र मोर्चावन्दिका छनकहरू देखिन थालिसकेका छन् ।
तीन लाखको हाराहारीमा नेपालीहरू रहेको अमेरिकामा एनआरएनए अमेरिका प्रतिको आकर्षण बढाउने रणनीति, कार्यनीति र योजनाहरूमा नेतृत्वका आकाक्षिहरु केन्द्रित हुनु पर्छ । एकले अर्कोलाई साइजमा राख्न गरिने चलखेल र आरोप प्रत्यारोप भन्दा माथि उठेर काम गरेमा नेतृत्वका आकाक्षिहरुले आफ्नो र संस्थाको इज्जत बढाउन सक्छन् । आफैले जारी गरेको आचार संहिताका कारण अहिलेको कार्यसमिति भित्रका आकाङ्क्षीले अध्यक्षको उम्मेदवारी सार्वजनिक गर्न सकिरहेका छैनन् । कार्यसमिति बाहिरबाट अध्यक्षको चाहाना गर्नेहरूले पनि परिस्थितिको आकलन गर्न नसकेर अन्यौलेमा छन् ।
अध्यक्ष र अरू केही पदका अकांक्षिले आफ्ना चुनावी ऐजेन्डा र रणनीति भने बनाइरहेका छन् । एनआरएनए अमेरिकाको आगामी निर्वाचनमा अध्यक्षका आकाङ्क्षीमा सबै भन्दा बढी टेक्ससबाट देखिएका छन् । वरिष्ठ उपाध्यक्ष सुनिल शाह, पूर्व उपाध्यक्ष राम सी पोखरेल , प्रवक्ता विनोद कुमार तिवारी, बोर्ड अफ डाइरेक्टर डाक्टर अर्जुन बनजाडे, कृष्ण लामिछानेको नाम बाहिर आइरहेको छ । टेक्सस बाहिरबाट अध्यक्षको आकाक्षिमा महासचिव बिआर लामा र पूर्व बोर्डअफ डाइरेक्टर सूर्य लम्साल देखिएका छन् ।
आकाक्षिहरुका एजेन्डा
आफैले बनाएको आचार संहिताले एनआरएन अमेरिकाको कार्यसमिति भित्र रहेका थुप्रै आकाक्षिहरुलाई सकस भइरहेको छ । उम्मेदवारी घोषणा र प्रचार प्रसारको काम एक महिना अगाडिसम्म औपचारिक रूपमा गर्न नपाउने भएपछि उनीहरू मेम्वरसिप ड्राइभ र भेटघाट भन्दै आफ्नो तयारीलाई तीव्रता दिइरहेका छन् ।
सुनिल शाह,वरिष्ठ उपाध्यक्ष

यो कार्यकालमा सबै भन्दा बढी नेपाली सङ्घ संस्थाका कार्यक्रममा सहभागिता जनाउँदै विभिन्न राज्यमा पुगेर भेटघाटलाई तीव्रता दिइरहेका एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल शाह आगामी नेतृत्वको आकाक्षि हुन् । दौडधुप मात्र होइन वेबसाइट बनाउने लगायतका संस्थाले दिएका कामलाई शाहले यो कार्यकालमा समयमा नै पुरा गरेका छन् । समुदाय प्रत्यक्ष लाभान्वित हुने कार्यक्रम अगाडि ल्याउन सकेमा एनआरएन प्रतिको आकर्षण बढाउन सकिने उनको बुझाइ छ । “चीन, भारत बङ्गलादेशका सङ्घ संस्थाहरूले आप्रवास मामलामा गरिरहेको राम्रा अभ्यासलाई अनुसरण गरेर यससँग सम्बन्धित समस्या भएका नेपालीलाई एनआरएनले सहयोग गर्न सक्छ ।” साह भन्छन् “सम्भावना भएका नेपालीहरूको दक्षता विकास गरी राम्रो काममा पठाउने र विज्ञान प्रविधि,प्राध्यापन, अध्ययन अनुसन्धानका क्षेत्रमा पारंगत भएकाहरूको सिप र क्षमता नेपालको हितमा जोड्ने काममा एनआरएनले गर्नु पर्छ ।” शाह अमेरिका भित्र रहेका सङ्घ संस्थालाई इम्पावर गर्दै एनआरएन सबै संस्थाको मियो बनेर उभिनु पर्ने बताउँछन् । घटना क्रमले कुनै नयाँ मोड लिएन भने साह यी र यस्तै एजेन्डा बोकेर अध्यक्षको दौडमा जाने सम्भावना छ ।
डाक्टर अर्जुन बन्जाडे ,बोर्ड अफ डाइरेक्टर
एनआरएन अमेरिकाको आगामी कार्यकालका लागि नेतृत्व लिन चाहिरहेका अर्को व्यक्ति हुन् बोर्ड अफ डाइरेक्टर डाक्टर अर्जुन बन्जाडे । उनी सिप र उद्यममा नेपालीहरूलाई अगाडि बढाउनु पर्ने मान्यता राख्छन् । एनआरएनको निर्वाचन आउनसाथ अमेरिकामा नेपालीहरूका थुप्रै संस्थाहरू आकाक्षिहरुबाट चन्दा र आर्थिक सहयोगको आस गर्छन् । व्यक्तिले दिने सहयोग र चन्दाले दीर्घकालीन हितमा काम गर्न नसकिने डाक्टर बनजाडेको बुझाइ छ । अमेरिकामा नेपाली समुदायले बनाउन खोजी रहेका सामुदायिक भवन, मठ मन्दिर निर्माणमा व्यक्तिगत दान र सहयोगको अपेक्षा भन्दा पनि नेपालीहरूको सिप र व्यवसायलाई जोड्न सकेमा दरिलो र दिगो हुने उनको विश्वास छ । लामो समय मौन देखिएका डाक्टर वनजाडे निर्वाचन नजिकिँदै गर्दा विभिन्न राज्यमा गएर समुदायसँग छलफल गर्न थालेका छन् । उनी अघिल्लो निर्वाचनमा सबै भन्दा धेरै मत ल्याएर निर्वाचित हुने मध्येका एक हुन् ।
राम सी पोखरेल, पूर्व उपाध्यक्ष

समूह नबनाई एक्लै मैदानमा उत्रिएर गत निर्वाचनमा राम्रो भोट ल्याएका राम सी पोखरेल यस पटक पनि अध्यक्षका लागि मैदानमा जाने तयारी गरिरहेका छन् । अनुकूल परिस्थितिमा पोखरेल यस पटक चुनावी मौदनमा समूह सहित जाने सम्भावना छ । एनआरएन अमेरिकाको उपाध्यक्ष रहँदा उनी निक्कै गतिशील देखिएका थिए । नेपाली समुदायका धेरै कार्यक्रममा सहभागी भएर उनले एनआरएन प्रति आकर्षण जगाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । महत्वकांक्षि योजना भन्दा एनआरएनको घोषित लक्ष र उद्देश्यको व्यवहारिक कार्यान्वयमा केन्द्रित रहने बताउँछन् । भिजन ट्वान्टि–ट्वान्टि लक्ष हासिल गर्न सबै भन्दा ठुलो एनसीसीलाई विवाद रहित र गतिशील बनाउनु पर्ने पोखरेलको मान्यता छ ।
सूर्य लम्साल,पूर्व बोर्डअफ डाइरेक्टर

गत निर्वाचनमा कुनै समूहमा नपरेपछि एक्लै मैदानमा उत्रिएर महासचिवमा कडा टक्कर दिएका सूर्य लम्साल यस पटक अध्यक्षमा उठ्ने तयारी गरिरहेका छन् । अघिल्लो कार्यसमितिमा एनआरएनको बोर्ड आफ डाइरेक्टर भएर काम गर्दा संस्थालाई संस्थागत बनाउन दस्ताबेज तयार गर्ने, विधि विधान बनाउने काममा उनले योगदान दिएका थिए । संस्थाले दिएको काम र जिम्मेवारी कुशलतापूर्वक समयमा पुरा गरेर लम्सालले संस्थागत कार्यक्षमता प्रस्तुत गरेका थिए । कामलाई संस्थागत गराउँदै एनआरएनका गतिविधिहरूलाई पारदर्शी गर्नु पर्ने लम्साल बताउँछन् । संस्थाको इमेजलाई माथि उठाउने, आर्थिक रूपमा सबल बनाउने र आम मानिसको बिचमा संस्थालाई लैजाने उनको लक्ष रहेको छ ।
विनोद कुमार तिवारी, प्रवक्ता एनआरएनए, अमेरिका दोस्रो कार्यकाल एनआरएनमा काम गर्दै गरेका प्रवक्ता विनोद कुमार तिवारी पनि अध्यक्षको आकाक्षि हुन् । एनआरएनका च्याप्टरहरूलाई समन्वय गरी क्षेत्रीय सभापतिलाई त्यस क्षेत्रमा काम गर्न सम्पूर्ण अधिकार दिनु पर्ने उनको भनाइ छ । संस्थाका नियमित गतिविधिलाई समुदायमा लान मासिक डिजिटल बुलेटिन निकाल्ने, स्थानीय सङ्घ संस्था र समुदायलाई सहयोग गर्दै एनआरएनलाई छाता संस्थामा विकास गर्ने तिवारीको सोचाइ छ । सहमतिको वातावरण बन्दा भने कुनै पद भनेर आफू बाधक नबन्ने तिवारी बताउँछन् ।
कृष्ण लामिछाने, बोर्ड आफ डाइरेक्टरचर्चामा रहेका तर आकाङ्क्षा सार्वजनिक नगरिरहेका अर्का पात्र हुन बोर्ड आफ डाइरेक्टर कृष्ण लामिछाने । एउटा समूहले भने उनी अध्यक्षको रूपमा मैदानमा आउने बताइरहेको छ । अरू आकाङ्क्षी जस्तो मेम्वरसिप ड्राइभ भन्दै भेटघाट र टिम निर्माणमा पनि उनी दौडिएका छैनन् । लामिछाने मेम्वरसिप चुनावको मुखमा मात्र होइन बाह्रै महिना खुला हुनु पर्ने बताउँछन् । अमेरिकामा बसोबास गर्दै आएका सबै नेपाली गैह्र आवासीय नेपाली हुन् । लामिछाने भन्छन् “उनीहरूलाई सदस्यता बाढ्दै हिँड्ने भन्दा पनि आकर्षित गर्ने कार्यक्रम लैजानु पर्छ ।” अमेरिकामा हुर्कँदो नयाँ पुस्तालाई नेपाली भाषा संस्कार संस्कृति सिकाउने र अमेरिकामा सिकेको सिप र ज्ञान नेपालमा गएर वाढ्ने कार्यक्रम अगाडि ल्याउनु पर्ने उनको चाहाना छ । उनले टेक्ससमा नेपाली भाषा कक्षा सञ्चालनमा ल्याउन धेरै काम गरेका छन् ।
वी आर लामा, महासचिव, एनआरएनए, अमेरिका धेरै जना मैदानमा देखिएमा महासचिव वी आर लामा पनि अध्यक्षमा उठ्ने सम्भावना छ । प्राविधिक हिसाबले चुस्त बनाउने र संस्थाका सबै गतिविधि पारदर्शी गर्न कार्यसमितिको संरचनामा केही परिवर्तन गर्न सकिने उनको धारणा छ । एनआरएनलाई सबै जात जाती, धर्मवालाम्वि, सङ्घ संस्था र समुदायको प्रतिनिधिमूलक संस्था बनाउन सकिने बताउँछन् ।
उपाध्यक्ष जेदु पोखरेल टिम मिलेमा यस पटक वरिष्ठ उपाध्यक्षमा बस्न सक्छन् । तर उनी टिम नमिलेमा अध्यक्षमा नै उठ्ने बताउँछन् । पोखरेलले संस्थाको कार्यालय स्थापना गरेर सचिवालय राख्नु पर्नेमा जोड दिँदै आएका छन् ।
एनआरएन अमेरिका साइन्स टेक्नोलोजी एण्ड इनोभेशन कमिटीका संयोजक पशुपति पाण्डे वरिष्ठ उपाध्यक्षमा उठ्ने सम्भावना छ । पाण्डेले अमेरिकामा आर्जेको सिप क्षमता र ज्ञानलाई नेपालसँग जोड्न विज्ञहरूसँग मिलेर काम गरिरहेका छन् । पाण्डेको दक्षता र कार्यक्षमताका कारण पनि अध्यक्षका आकाङ्क्षीहरूले उनलाई साथमा लिएर अगाडि बढ्ने सम्भावना छ । त्यस्तै बोर्ड अफ डाइरेक्टर गोपेन्द्र भट्टराई, सानफ्रानसिस्कोका समाजसेवी उत्तम कार्की, पूर्व मिडिया कोर्डिनेटर सर्वज्ञ वाग्ले, वन्धु पोखरेल, लक्ष्मी खरेल, बुद्धि सुवेदी, अमृत कटेल, पूर्ण बानिया पनि समूह मिलेमा चुनावी मैदानमा देखिन सक्छन् ।







प्रतिक्रिया लेख्नुहोस्:-