काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सबै राजनीतिक दलहरु मिलेर पूर्वराजा ज्ञानेन्द्र शाहको भनाइलाई कामद्वारा खण्डन गरेर देखाउनुपर्ने बताएका छन् ।
नेता कोइरालाले मंगलबार सिन्धुलीमाडीमा प्रेस यूनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै लोकतन्त्रमा आफ्नो धारणा राख्न पाइने र काम गरेर देखाएपछि त्यस्ता बोली स्वतः हराउँदै जाने कोइरालाको भनाइ थियो ।
‘जनतामा वितृष्णा पैदा नहुने गरी लोकतन्त्रलाई उन्नत बनाएर काम गर्न सके झिनामसिना कुरा आफैं सेलाएर जान्छन्,’ उनले भने, ‘बेरोजगारीलाई रोजगारी, उद्यमशील, समृद्ध बनाउन छाडेर खाली कुर्सीको पछि दगुरेपछि विभिन्न किसिमका आवाज त आउने नै भयो । नागरिकलाई खुसी कसरी बनाउने त्यता लाग्नुपर्यो । अनि फुर्सद नभएपछि त्यता कोही लाग्दै लाग्दैन ।’
यसअघि पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको एक दिनअघि फागुन ६ गते प्रजातन्त्र जोखिममा परेको भन्दै राजनीतिक दलहरूसँग सहकार्यको प्रस्ताव गरेका थिए । त्यस लगत्तै शाहको भनाइप्रति नेताहरूले टिप्पणी गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-