काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहका जनप्रतिनिधिहरूलाई जनताको मन जित्ने गरी काम गरेर देखाउन आग्रह गरेका छन्।
उनले आइतबार नेपाल नगरपालिका संघको २९ औं साधारणसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
प्रधानमन्त्री देउवाले भने, ‘नगरपालिकाहरुले जनताको मन जित्ने गरी काम गर्नुपर्छ। जनताको काम बिनाझन्झट गर्न सक्नुपर्छ,आम नागरिकमा सुशासनको प्रत्याभूति गराउन सबै नगरपालिका प्रतिवद्ध हुनुपर्छ। मुलुकको आधुनिकीकरण र दिगो विकासमा काम गर्नुपर्छ।’
उनले अधिकांश नगरपालिकाहरू अव्यवस्थित शहरीकरणबाट गुज्रिरहेको भन्दै शहरहरु असुरक्षित र अस्वच्छ आवास क्षेत्र बनिरहेकोले त्यसतर्फ ध्यान जानु अपरिहार्य रहेको बताए । स्थानीय सरकारको काम हेरेर नै जनताले आफ्नो धारणा बनाउने भएकाले पनि स्थानीय तहले स साना र जनतासँग प्रत्यक्ष जोडिएका कुराहरुमा विशेष ध्यान दिनु जरुरी रहेको बताए ।
उनले जनताका कामहरूसँग प्रत्यक्ष जोडिएको ठाउँ स्थानीय तह भएकाले जनप्रतिनिधिहरु गम्भीर हुनुपर्नेमा जोड दिए। ‘नगरपालिका नै हो जनता पहिले ठोक्किन आइपुग्ने ठाउँ, प्रभावकारी काम गर्दै जानुस्, स्थानीय तह हटाएर सरकार बनाइदिउँला। जनतालाई प्रत्यक्ष सहभागी गराएर काम हुनुपर्छ। अब स्थानीय तह पनि सरकार हुन सक्छ।’
प्रतिक्रिया लेख्नुहोस्:-