दूरबिन नेपाल, न्युयोर्क
कोरोना भाइरसबाट लाग्ने रोग कोभिड १९का कारण मृतक र संक्रमितको संख्या बढ्दै गएपछि न्युयोर्कका सबै सार्वजनिक विद्यालय बन्द गरिएको छ । न्युयोर्कका गभर्नर एण्ड्«यु कुमोले आइतबार सांझ प्रेस ब्रिफिङमार्फत कोरोना भाइरसका कारण न्युयोर्कको अवस्था झन खतरापुर्ण बन्दै गएको भन्दै सबै सार्वजनिक विद्यालय बन्द गर्न निर्देशन दिएका छन । गभर्नर कुमोले लङ आइल्याण्ड, नासाउ, वेष्टचेष्टर, सुफोल्क र न्युयोर्क सीटीका सार्वजनिक विद्यालय बन्द गर्न निर्देशन दिएका हुन । कुमोले न्युयोर्क सीटीलाई विद्यालयमा आश्रितहरुको लागि विद्यार्थीहरुको खानाको जोहो गर्नपनि निर्देशन दिएका छन ।
त्यसैगरी न्युयोर्कका मेयर बिल डे ब्लाजिओले आइतबार सांझै नियमित प्रेस ब्रिफ्रिङका क्रममा न्युयोर्क सीटीका विद्यालय अप्रिल २० सम्मका लागि बन्द गरिएको जनाएका छन । उनले सो अवधिमा विद्यालयको खाना तथा खाजाको लागि व्यवस्थापन गरिनेपनि जानकारी दिएका छन । मेयर ब्लाजिओले विद्यार्थीहरुका लागि अनलाईन कक्षाको व्यवस्था गरिने जनाकारी गराएका छन । न्युयोर्क सीटीभित्र विद्यालयकै खानामा भर पर्ने धेरै परिवार भएकोले विद्यालय बन्द गर्दा उनीहरुलाई असर पर्ने भन्दै मेयर ब्लाजिओले विद्यालय बन्द नगरेको जनाएका थिए । मेयर ब्लाजिओका अनुसार विद्यालय कम्तीमा अप्रिल २० सम्मको लागि बन्द गरिएको र विद्यालय बांकी शैक्षिक सत्रभरी नै बन्द हुन सक्ने संकेत गरेका छन । न्युयोकर्, अमेरिकाभरी नै सबैभन्दा धेरै ठुलो शैक्षिक प्रणाली भएको राज्य हो । न्युयोर्कका विद्यालय बन्द हुंदा एक दशमलव एक मिलियन विद्यार्थीहरु प्रभावित हुन्छन । न्युयोर्कका झण्डै तीन चौथाई विद्यार्थीहरु आर्थिक अवस्था कमजोर हुने परिवारका रहेका छन । विद्यलय बन्द हुंदा सिधै असर आर्थिक अवस्था कमजोर हुने परिवारहरुमा पर्न जान्छ, जसले चाइल्ड केयरमापनि राख्न सक्दैनन अनि कामपनि छोड्न सक्दैनन । केही विद्यालयहरु २४ घण्टाको लागि बन्द भएका थिए । न्युयोर्कमा एक हजार आठ सय ६६ पव्लिक र चार्टर स्कुलहरु रहेका छन । न्युयोर्कका सार्वजनिक विद्यालय बन्द गर्नुपर्ने भन्दै विभिन्न सरोकारवाला निकायहरुले मेयर ब्लाजिओलाई दवाव दिइरहेका थिए । विशेषगरी विद्यालय खुलै राखेकोमा आक्रोशित बनेको शिक्षकहरुको समुहले विद्यालय बन्द नगरेर गैरजिम्मेवारी देखाएको भन्दै मेयरको आलोचना गरेको थियो भने अन्य स्थानीय निकायका जननिर्वाचित प्रतिनिधिहरुलेपनि न्युयोर्कका विद्यालय बन्द गर्न मेयरमाथी दवाव दिइरहेका थिए । यसअघि अमेरिकाका अन्य धेरै राज्यहरुमा सार्वजनिक विद्यालय बन्द भइसकेका छन । शनिवार सम्ममा अमेरिका भरी झण्डै ५७ हजार विद्यालय बन्द भइसकेका छन । अहिलेसम्म २५दशमलव ८ मिलियन विद्यार्थीहरु यसबाट प्रभावित बनीसकेको अवस्था छ ।
क्यालिफोर्नीया, इलिअन्स, म्यासाचुसेट्स र ओहायो तथा बोष्टनमा धेरै मानिसहरु जम्मा हुने बार र रेष्टुरेण्टहरु बन्द गर्न निर्देशन दिइएको छ । न्युयोर्कमा तत्कालै त्यस्तो निर्देशन नआएपनि स्थिती अझै नराम्रो बन्दै गएमा सो निर्देशन आउन सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-