काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का युरोप संयोजक नारायण आचार्यले संस्थाभित्र व्यापक अनियमितता देखिएकाले त्यसलाई ढाकछोप गर्न विधान विपरितका निर्णय गरिएको बताएका छन् । जीएनएन नेटवर्कसंग कुरा गर्दै एनआरएनएको केन्द्रीय समितिमा रहेका आचार्यले अध्यक्ष कुमार पन्त समुहले वैठकमा कहिल्यै पनि आफूहरुको कुरा नसुनेको बताए ।
अहिले एनआरएनए दुईचिरा हुने लाइनमा नगएर संस्थाको अवैधानिक कामलाई खारेज गर्दै जीवन्त बनाउन खोजिएको स्पष्ट पारे । ‘संस्थाको पदाधिकारी र अभियन्ताका हैसियतले पनि भन्छु, यो दुईचिरा होइन । संस्थाभित्र वर्तमान संस्थापन पक्षले विधि, विधान, संस्कार, चलिराखेको पुरानो परम्परालाई तोडेर संस्थालाई जसरी पनि आफ्नो कब्जामा लिनुपर्छ भनेर गरेका सम्पूर्ण अवैधानिक कामलाई खारेज गर्न खोजिएको छ । संस्थालाई जीवन्त र चिरा पर्न बाट रोक्नका लागि संरक्षक परिषद्ले चालेको कदमले विभाजन गराउनबाट रोकेर अझै एकताबद्ध र शुद्ध सामाजिक संस्थाको रुपमा अघि बढाउँछ,’, आचार्यले भने । संस्था फुटाउन खोजेजस्तो देखिए पनि यो जोडेरै अघि बढ्न निश्कर्ष निकाल्ने उपाय भएको उनले बताए ।
संस्थाको गत अक्टोबरमै चुनाव भै नयाँ नेतृत्व चयन गर्नुपर्ने थियो । तर, काम चलाउ बनेको संस्थाका पदाधिकारीहरु मनपरि ढंगले अघि बढेको उनले बताए । सबै पद्धति मिचेर पन्त समुहले आइसीसीको ८२ औं वैठक बोलाएको र ३०-३२ जना जम्मा गरेर संरक्षक परिषद् र उच्चस्तरीय समिति खारेज गरिएको दावी गरेको उनले बताए । ‘ल, त्यसको पनि छानबिन गरौं । अचानक संरक्षक परिषद् खारेज गर्ने कामले संघभित्र व्यापक अनियमितता भएको छ । त्यसलाई ढाकछोप गर्न, अहिले सबै बाहिर आउने देखिएपछि कुमार पन्त समुहलाई मनको बाघले खायो । त्यो निर्णय हामीले मानेका छैनौं यो अवैधानिक छ,’ उनले भने । अहिले संरक्षक परिषद् विधानतः सक्रिय भएको र शेष घलेले आह्वान गरेको महाधिवेशनलाई झन्डै ५० एनसीसीहरुले म्यान्डेट दिएकोले १० औं महाधिवेशन वैधानिक हुने उनले बताए ।
यो महाधिवेशनले नै संघभित्र देखिएको विवादको अन्त्य गर्ने उनले बताए । संस्थाको महाधिवेशनका क्रममा विभिन्न देशका प्रतिनिधिहरुको विषयमा विवाद आएको थियो । केन्द्रका अध्यक्ष कुमार पन्त तथा महासचिव हेमराज शर्माको निर्देशनमा सुनियोजित रुपले व्यक्ति, व्यक्त बारे बुझेर प्रतिनिधि छान्ने काम भएको आचार्यले खुलाए । ‘विधान कुल्चेर काम भयो । आइसीसीमै रहेको पदाधिकारी भए पनि अन्यायमा परेका एनआरएनए साथीहरुको आवाज बोल्दा हामी विपक्षी जस्तो भैइयो’, उनले भने, ‘हामी आवाज उठाउनेलाई विपक्षको रुपमा हेरियो । संस्थाभित्र पक्ष विपक्ष हुनु नपर्ने थियो । हामीमाथि झन थिचोमिचो गरियो । विवाद झन बढ्यो । संस्थाको तालाचाबी बोकेका अध्यक्ष, महासचिवले जे बोलेपनि विधान, नियमावली हुने प्रवृत्ति लागू भयो र अहिले यो अवस्था आयो,” आचार्यले भने। वैठक बस्दा पनि विधि नपुराई काम भएको र केन्द्रीय कमिटीभित्र पनि निकै विवाद भएको उनले बताए । कतिपय सदस्यलाई बैठकमा बोल्नै नदिने गरिएको उनले खुलासा गरे ।
विधान, नियमावली विपरित संस्था चलेको भेटिएपछि सच्चाउनेभन्दा संरक्षक परिषद्लाई विघटन गरेर विधानले दिएको अधिकारलाई हतारहतार उल्लङ्घन गरिएको आचार्यले टिप्पणी गरे । ‘सामाजिक संघ संस्थामा विवाद नै हुनु हुँदैन । अहिले कुल आचार्यले नेतृत्व गरेको पक्षले विधान मानेन, नीति, नियमावली मानेन भनेर उल्टै धेरै अफवाह फैलाइयो । विभिन्न हर्कतहरु भए,’ उनले भने । आइसीसीले प्रतिनिधि छनौटको विवाद मिलाउन नसकेपछि पूर्व अध्यक्ष शेष घलेसहित र अहिलेका अध्यक्ष पन्तसहितको उच्चस्तरीय समिति बनेको थियो । समितिले संस्थाभित्र धेरै अनियमितता भएको प्रतिवेदन बुझाएको थियो । त्यो प्रतिवेदनसमेत लुकाउन खोजेपछि यो अवस्था आएको उनले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-