प्रा. डा. दुर्गा दाहाल
कोरोना भाईरसले न्यूयोर्क शहरमा एक उद्यमशील नेपाली युवा अनिल लिम्बुको ज्यान मात्रै लिएन , कठै ! हाम्रो धर्म-संस्कृतिमा पनि एउटा ठूलो मुक्का लगाएर गयो ।
शायदै कुनै नेपालीले अनिल लिम्बुको परिवारले भोग्नु परेको जटिलतम र कठिनतम घडीको बारेमा संवेदनशील भएर सोचेको होला ! उनको मृत्यु त कारूणिक छँदैछ तर त्यसमा पनि उनको परिवारले भोग्नु परेको समस्या झन संवेदनशील र मर्माहतपूर्ण छ ।
उनको मृत्युसंग अहिले आएर अमेरिकी क़ानून र हाम्रो संस्कृति पनि जोडिएको छ । हुन त अहिले नेपालमै भए पनि यस्तो अवस्थामा सामाजिक दूरी र सतर्कता त अपनाउनुनै पर्थ्यो होला तर यति धेरै जटिलता हरूको बिचमा अल्झिनु पर्ने थिएन होला सम्बन्धित लिम्बु परिवारले नेपालमा भएको भए ।
अमेरिकी क़ानून कड़ा छ, हुनु पनि पर्छ र त विधिको शासन छ यहाँ तर लिम्बु परिवारलाई यो अमेरिकी क़ानून घर- परिवार र समाजलाई छुट्याउने र मर्दा- पर्दा चाहिने साथ- सहयोग र समर्थनबाट वंचित गराउने साबित भएको छ । त्यो दु:खद विषय बनेको छ !
मलाई यो लिम्बु परिवारको बारेमा त्यति राम्रोसंग थाहा छैन तर मैले सोधी- खोजी गर्दा अनिल भाई सामाजिक र मिलनसार व्यक्तित्व थिए र परिवार पनि सामाजिक छ । पंक्तिकारले प्राप्त गरेको सूचना अनुसार लिम्बु पेशाले उबर ड्राईवर थिए र पत्नी र परिवार सहित बस्थे । नेपाली कर्मठ युवाको यसरी असामयिक मृत्यु हुनु दु:खद र मन पोल्ने कुरा हो तर आज अहिलेको घडीमा उहाँको आत्माको चिरशान्तिको कामना गर्नु बाहेक अन्य विकल्प छैन ।
मैले उठाउन खोजेको प्रसंग: लिम्बुभाईको मृत्यु, अमेरिकी क़ानून र हाम्रो सांस्कृतिक चाल- चलन र परम्परा हो । हाम्रो जरो नेपाल हो र हाम्रा कतिपय स्वकीय चाल-चलन र परम्पराहरू छन । कुनै परिवारमा कसैको मृत्यु हुँदा चामल- मानो, फल-फूल अथवा अन्य चीज- बीजहरू लिएर जाने, शोक- सन्तप्त परिवारलाई भेटेर कुराकानी गर्ने समवेदना र सहानुभूति दिने कार्यलाई अमेरिकी कानूनले अहिलेलाई रोकेको छ ।
संभवत, उनको असहाय परिवार एकान्तवास मा बसेको होला यस बखत । पहिलो कुरा अहिलेको अमेरिकी क़ानून र दोश्रो व्यक्तिगत भय । परिवारलाई भेटन जाँदा त्यहीँबाट रोग सरीहाल्छ कि भन्ने भय पनि कतै मानसपटमा सुतेको हुन सक्छ ।
बरा ! टुमुटुमु अत्यन्त ठूलो पीडा र वेदनामा रहेको त्यो परिवारलाई संझिरहेको छु म !
एकल परिवार, त्रासमा बाँचेको त्यो परिवार, रोग पो सल्केलाकि भनेर बाँचेको त्यो सानो परिवारलाई संझि रहेको छु निरन्तर तर अन्त्यमा मनलाई बुझाऊँछु यस्तै हो संसार !
ढिलो – चाँडो हामी सबैले जानै पर्छ तर लिम्बु भाई चाँडै गए र ग़लत समयमा गए । यस्तो समयमा पनि लिम्बू परिवारलाई साथ सहयोग दिने आफन्त र सहयोगीलाई हृदय देखि नमन ।
लिम्बुभाईको शोक- सन्तप्त परिवारलाई म र मेरो परिवारको तर्फबाट हार्दिक समवेदना छ अहिलेलाई । पछि अवश्य पनि भेटनेछु ।
न्यूयोर्कमा भएका मेरा प्रिय र आत्मीय साथी-भाईहरू लाई विनम्र अनुरोध गर्दछु, विशेष गरि जी.पी कोईराला फाउन्डेशनका सभापति सोमनाथ भाई र अन्य मित्रहरूलाई,
कि यो संकटको घडीमा तपाईँहरूले फ़ोन गरेर भए पनि सक्दो सहयोग जुटाई दिनु होला, कृपया ! सबै किसिमको सहयोग !
अलविदा ! अनिलबाबु
प्रतिक्रिया लेख्नुहोस्:-