दूरबिन नेपाल, न्युयोर्क
पछिल्लो समय अमेरिकाको न्युयोर्क कोरोना भाइरसको संक्रमणले सबैभन्दा धेरै थलिएको छ । अमेरिकामा भएका संक्रमणमा झण्डै आधा न्युयोर्कमा हुनुलेपनि न्युयोर्कको भयावह अवस्थालाई दर्शाउंछ । मार्च २५ तारिखमा मात्रै न्युयोर्कमा थप १४ जनाको ज्यान गएको छ भने साढे चार हजार नयाँ बिरामी फेला परेका छन । यो समाचार तयार पार्दा सम्म न्युयोर्कमा झण्डै ३१ हजार संक्रमित भएका छन भने दुई सय ८५ जनाको ज्यान गइसकेको छ । मंगलबार न्युयोर्कमा एक सय १४ जनाको ज्यान गएको थियो भने पांच हजार भन्दा धेरै नयाँ बिरामी थपिएका थिए ।
अमेरिकाको सबैभन्दा धेरै संक्रमण क्षेत्र रहेको न्युयोर्क सिटीमा मात्रै झण्डै २० हजार संक्रमित बनेका छन भने तीन हजार नयाँ बिरामी थपिएका छन । त्यसैगरी न्युयोर्क स्टेट कार्यालयले दिएको जानकारी अनुसार वेचेष्टरमा चार हजार ६ सय भन्दा धेरै संक्रमित हुंदा ८ सय नयाँ बिरामी थपिएका छन । त्यसैगरी नासाउ र सोफोल्ड क्षेत्रपनि अत्यधिक प्रभावित बनेका छन । नासाउमा तीन हजार भन्दा धेरै संक्रमित बनेका छन भने सोफोल्ड क्षेत्रमा दुइ हजार भन्दा धेरै छन । ती क्षेत्रहरुमा नया बिरामी थपिने क्रमपनि क्रमश चार सय र तीन सय भन्दा धेरै भएको बताइएको छ ।
नेपालीको अत्याधिक बसोबास रहेको क्वीन्स न्युयोर्कको अत्यधिक प्रभावित क्षेत्र
नेपाली समुदाय त्रसित अवस्थामा
धेरै नेपालीको बसोबास रहेको क्वीन्समा पनि कोरोनाको संक्रमण अत्याधिक देखिएको छ । क्वीन्स क्षेत्रमा कति नेपालीलाई कोरोनाले संक्रमित बनाएको छ भन्ने यकिन तथ्यांक नभएपनि धेरै नेपाली कोरोनाबाट पिडित बनेको अनुमान लगाउने गरिएको छ । कोरोना लाग्ने डर भन्दा पनि कोरोना लागेमा उपचार नै नपाएर मृत्यु बरण गर्नुपर्ने त्रासले धेरैलाई पिरोलेको छ । मंगलबार एक नेपाली युवाको कोरोनाका कारण मृत्यु भएपछि नेपाली समुदाय झन त्रसित अवस्थामा रहेको छ । आप्रवासीको अत्यधिक बसोबास रहेको क्वीन्समा मात्रै पांच हजार भन्दा धेरै बिरामी रहेका छन । ती मध्ये मृतकको संख्या पनि ६० भन्दा धेरै रहेको न्युयोर्कको सीटी डिपार्टमेन्ट अफ हेल्थले जनाएको छ । यसकारणपनि सो क्षेत्र निकै भयावह अवस्थामा रहेको देखिन्छ । न्युयोर्क सिटीमामात्रै मंगलबार बेलुकी सम्ममा एक सय ९२ जनाको ज्यान गइसकेको छ भने संक्रमितको संख्या २० हजार क्रस भएको छ ।
एल्महर्स्ट हस्पीटलमा बिरामीको लागि बेड नै छैन उपचारमा समस्या
चिकित्सक र नर्सको अभाव
क्वीन्सको सरकारी अस्पताल एल्महर्स्ट हस्पीटलमा बिरामीका चाप थेगिनसक्नु भएको त्यहांका चिकित्सक बताउंछन । मंगलबार र बुधवार २४ घण्टामा सो हस्पीटलमा मात्रै एक नेपाली सहित १३ जनाले ज्यान गुमाएका थिए । यदि बेलैमा उपचार हुन सकेको भए उनीहरुमध्ये केहीलाई बचाउन सकिने अस्पतालका नर्स र चिकित्सकको भनाइ छ । हुन त अस्पतालले सकेको गरेको जनाएको छ । कोरोनाका विरामीकै लागि ३० वटा थप अस्थाई आइसीयु बनाइएको छ तर बिरामीको चाप यति छ की बिरामीलाई पुग्दै नपुगेका कारण एकदमै सिकिस्तलाईमात्र राखिएको अस्पताल श्रोतले बताएको छ । कतिपय बिरामी भने अस्पतालमा छटपटाउंदै आइसीयु कुरीरहेको अवस्थापनि देखिन्छ । अस्पतालमा बिरामीको चाप यति बढेको छ कि डाक्टर र नर्सको पनि अभाव देखिएको छ । कतिपय अवस्थामा सिक्दै गरेका नर्स तथा चिकित्सकले पनि गम्भीर भइसकेको बिरामीलाई हेर्नुपरेको बाध्यता रहेको श्रोतले बतायो । तर अस्पतालमा प्रवक्ता तथा न्युयोर्कका मेयर ब्लाजिओले भने एल्महर्स्ट अस्पतालको अवस्था समाचारमा आएजस्तो नराम्रो नरहेको दावी गरेका छन ।
“न्युयोर्कमा संक्रमणको गति कम हुदैछ” गभर्नर कुमो
त्यसैगरी न्युयोर्कका गभर्नर एण्ड्रु कुमोले संक्रमणको गति केही धिमा भएको दावी गरेका छन । बुधबार प्रेस कन्फ्रेन्समा बोल्दै गभर्नर कुमोले मंगलबार भन्दा बुधबार नयाँ बिरामीहरु थपिने गति केही कम भएको दावी गरेका हुन । उनको दावी अनुसार मंगलबार साढे पांच हजार नयाँ बिरामी भेटिएकोमा बुधबार भने साढे चार हजार नयाँ बिरामी थपिएको बताएका छन । यसले आगामी दिनमा नयाँ बिरामीको संख्या घट्दै जानसक्ने अनुमान गरेका छन । गभर्नर कुमोले कोरोनाको संक्रमणको पैmलावट केही कम भएपनि अझै राज्यलाई तीस हजार भेण्टीलेटर आवस्यक भएको तर संघीय सरकारले जम्मा ४ हजारमात्र दिएको गुनासो गरेका छन । उनका अनुसार आवस्यक आइसीयुका आवस्यक सामग्री तथा भेण्टीलेटर मागाइएको बताएपनि त्यसको बिष्तृत जानकारी भने दिएनन ।
प्रतिक्रिया लेख्नुहोस्:-